पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का विवरण हेरफेर गरेको घटनाको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।

वैशाख ११, २०८३

गौरव पोखरेल

Former Minister Bikram Pandey arrested

काठमाडौँ — प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का विवरण हेरफेर गरेको घटनाको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।

पूर्वमन्त्री पाण्डेलाई काठमाडौंको चन्डोलबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी मनोज केसीले पुष्टि गरे । पाण्डे राप्रपामा उपाध्यक्ष छन् । उनीविरुद्ध यसअघि सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दायर गरेको थियो । तर धरौटीमा छुटेका उनलाई विशेष अदालतले सफाइ दिएको थियो ।

पाण्डे कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत हुन् । उनीसँगै भीषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठसमेत पक्राउ परेका छन् । उनलाई प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअगावै पाण्डे र श्रेष्ठको कम्पनीलाई फाइदा पुग्ने गरी आर्थिक प्रस्तावको कागजात परिवर्तन गर्ने काम भएको अनुसन्धान अधिकृतहरूको दाबी छ । यसअघि यही प्रकरणमा प्रहरीले २५ चैत २०८२ मा ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनकुटाका दिवाकर देउजा, बझाङका भरत धामी, तनहुँका सञ्जय भट्ट, काठमाडौंका भाष्करराज अर्याल, मकवानपुरका सागर कटुवाल र सुनसरीका जीवनकुमार दास थिए ।

उनीहरूविरुद्ध सीआईबी मातहतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको थियो । उनीहरूमाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जनाए ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully