उमेर हद ६० वर्ष, दुई वर्ष कुलिङ पिरियड, सचिवको पदावधि दुई वर्षको हुने र एक वर्ष थप्न सकिने
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी ट्रेड युनियन नरहनेसहितको ५० भन्दा बढी नया“ प्रावधान राखेर निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा तयार गरेर शुक्रबार सार्वजनिक गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसहित मन्त्रायलका कर्मचारीले छलफल गरेर तयार गरेको मस्यौदाअनुसार लगभग साढे तीन दशकदेखि अभ्यासमा रहेको कर्मचारी ट्रेड युनियनको व्यवस्था खारेज गरिएको छ । ट्रेड युनियनले दलीय स्वार्थलाई सहयोग गरेको भन्दै मस्यौदामा उक्त प्रवधान हटाइएको हो ।
मस्यौदा तयारीमा संलग्न सहसचिव एकदेव अधिकारीले ट्रेड युनियनको व्यवस्था हटाए पनि कर्मचारी हितका लागि अन्य व्यवस्थाहरु समावेश गरिएको जानकारी दिए । उनका अनुसार लामो समय गरिएको अभ्यासका आधारमा देखापरेका विकृतिको विश्लेषण गरेर ट्रेड युनियन हटाउने सहमति भएको हो ।
मन्त्री रावल, सचिव, सहसचिव र कर्मचारीको सल्लाह र सहमतिमा उक्त प्रावधान हटाएको जानकारी एक सहसचिवले दिए । उनका अनुसार कर्मचारीको हकहितको आवाज उठाउन अन्य प्रावधानहरु राखिएका छन् । जागिरको उमेरहद ६० वर्ष हुने छ भने सचिवको कार्यवधि एक वर्षको हुनेछ । सरकारले एक वर्ष थप्न सक्ने छ ।
