कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

दलको नेता सर्वसम्मत रूपमा चयन गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा कार्यदल गठन

वैशाख ११, २०८३

इकान्तिपुर डेस्क

Congress parliamentary party leader selection process postponed

काठमाडौँ — कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्नभन्दै निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको सो प्रक्रिया स्थागित गरिएको हो । 

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र निर्देशनअनुसार सो निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए । 

दलको नेता शनिबार साँझसम्म सर्वसम्मत रूपमा तय गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे अनि निर्वाचन समितिको समेत सहभागिता रहने गरी कार्यदल पनि गठन गरिएको पनि रसाइलीले जानकारी दिए । 

पार्टीको बृहत्तर हित, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतीको सामना गर्न पनि संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नुपर्ने भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।  

सभापति गगनकुमार थापाले मोहन आचार्य र उपसभापति शर्माले  भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि सारेका छन् । त्यस्तै अर्का सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने जानकारी नेताहरूलाई गराएपछि कांग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो । 

इकान्तिपुर

Link copied successfully