राइड सेयरिङ चालकलाई प्रहरी भन्यो : ‘यात्रुसँगको कुराकानी भिडियो बनाएर पोस्ट गरे कारबाही’

यस्ता भिडियो भए तुरुन्त हटाउन पनि जिल्ला प्रहरी परिसर काठमाडौं अनुरोध गरेको छ ।

वैशाख १०, २०८३

विवेक पोख्रेल

Police tell ride-sharing driver: 'If you make a video of a conversation with a passenger and post it, you will be taken action'

काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंले राइड सेयरिङ सेवामा संलग्न चालकलाई यात्रुसँगको व्यक्तिगत कुराकानी रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय केही चालकहरूले सेवाग्राहीसँगको संवादलाई भिडियो भ्लगका रूपमा प्रस्तुत गर्दै अपशब्द प्रयोगसहित सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ । यस विषयमा प्रहरीले सूचना नै निकालेर जानकारी गराएको छ । यस्ता भिडियो भए तुरुन्त हटाउन पनि जिल्ला प्रहरी परिसर काठमाडौं अनुरोध गरेको छ । 

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार यस्ता घटना सामाजिक सञ्जाल व्यापक बन्न थालेपछि यस्तो निगरानी बढाइएको हो । ‘हामीले सामाजिक सञ्जालमा पनि यस्ता भिडियो देख्ने गरेका छौं । सामाजिक सद्भाव बिगार्ने र सुन्न नसकिने अश्लील शब्द प्रयोग गरेर भिडियो राखिएको पाइन्छ । मौखिक उजुरीसमेत आउने गरेका छन्,’ जिल्ला प्रहरी परिसर काठमाडौं एसपी भट्टराईले भने, ‘विगतमा प्रहरीले यस्ता भिडियो हटाउन लगाउने र सम्बन्धित व्यक्तिलाई सचेत गराउने गरेको थियो । तर विस्तारै यस्ता गतिविधि समस्याकै रूपमा बढ्दै गएपछि यात्रुको गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेका हौं ।’

कुनै पनि व्यक्तिको फोटो वा भिडियो निजको अनुमतिबिना खिच्नु तथा सार्वजनिक गर्नु कानुनविपरीत हुने समेत उनले बताए । 'यस्तो गतिविधिले यात्रुको गोपनीयता उल्लंघन हुन्छ,' उनले भने, 'पेसा नै बनाएर यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याउने छौं ।’

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully