कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाद्वारा राजीनामा

सिरोहियाले कान्तिपुरले पछिल्लो समय गरिरहेको रिपोर्टिङ –विशेष गरी गृहमन्त्री सुधन गुरुङमाथि लेखिएका समाचार– मा आफ्नो गम्भीर असहमति रहेको राजीनामामा उल्लेख गरेका छन् ।

वैशाख १०, २०८३

कान्तिपुर संवाददाता

Kantipur Media Group Managing Director Sambhav Sirohia resigns

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) का प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजीनामा दिएका छन् । उनले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको कान्तिपुर मिडिया ग्रुपका सबै कर्मचारीलाई सम्बोधन गरेर पठाएको सन्देशमा उल्लेख छ ।

सिरोहियाले कान्तिपुरले पछिल्लो समय गरिरहेको रिपोर्टिङ –विशेष गरी गृहमन्त्री सुधन गुरुङमाथि लेखिएका समाचार– मा आफ्नो गम्भीर असहमति रहेको राजीनामामा उल्लेख गरेका छन् । उनले आरोपहरूलाई सनसनीपूर्ण बनाउँदै प्रस्तुत गरिएको भन्दै लेखेका छन्, 'मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ ।’

कान्तिपुरले अनुसन्धानकारी निकायको स्रोतबाट तत्कालीन गृहमन्त्री गुरुङको शंकास्पद कारोबारका विवरण प्राप्त गरेर सार्वजनिक गरेको थियो । समाचारमा त्यतिन्जेलसम्म ती विवरणमा उल्लेख तथ्य र अनुत्तरित प्रश्न समेटेको थियो । तर सिरोहियाले नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा उल्लेख गरेका छन् । 

सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनले सामाजिक सञ्जालमा पोष्ट गरेका तत्कालीन गृहमन्त्री गुरुङबारेका समाचारका लिंक र त्यससम्बन्धी तस्बिरका स्क्रिनसट फेसबुक र ट्विटरमा राख्दै लेखेका थिए, 'यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन ।’

केही वर्षअघि आफू केएमजीको नेतृत्वमा आउँदा संस्थाको वार्षिक घाटा ६० करोडभन्दा बढी भएको र पछिल्लो समय गरिएका सुधारले कम्पनी नाफाउन्मुख रहेको उल्लेख गर्दै उनले लेखेका छन्, 'यो सम्भव बनाउने हरेक व्यक्तिप्रति म गर्व गर्छु ।’

सिरोहिया १ असोज २०८० मा केएमजीको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । 

कान्तिपुर

Link copied successfully