तत्कालीन इन्जिनयर यादवविरुद्ध १ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा दायर

अख्तियारले यादवविरुद्ध बिगोबमोजिम जरिवाना, गैरकानुनी सम्पत्ति जफत र कैद सजाय माग गरेर मुद्दा दायर गरेको हो ।

वैशाख १०, २०८३

मातृका दाहाल

Corruption case of Rs 14.6 million filed against then engineer Yadav

What you should know

काठमाडौँ — पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया, बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध १ करोड ४६ लाख ८१ हजार रुपैयाँ बिगो कायम गरी बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले यादवविरुद्ध बिगोबमोजिम जरिवाना, गैरकानुनी सम्पत्ति जफत र कैद सजाय माग गरेर मुद्दा दायर गरेको हो । अख्तियारले यादवकी पत्नी निर्मला कुमारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादव २०४७ असार ३१ मा सेवामा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेशदेखि २०८० पुस २९ गतेसम्मको ३३ वर्ष ६ महिनाको सम्पत्ति जाँच गरेकामा घरजगगा, सेयरलगायतमा गैरकानुनी सम्पत्ति लगानी गरेको तथ्य फेला पारिएको र स्रोत नखुलेको सोही सम्पत्तिलाई बिगो कायम गरिएको जनाएको छ । यो अवधिमा यादवले वैधानिक आय ३ करोड ४६ लाख २१ हजार ४ सय १ रुपैयाँ देखिएको छ। अख्तियारले तलब-भत्ता, घरजग्गा बिक्री, कृषि आय, ब्याज आम्दानी तथा श्रीमती र छोराको आयलाई वैधानिक स्रोतमा गणना गरेको छ । 

यही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर-सवारी खरिद, अध्ययन खर्च, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत गरी कुल ४ करोड ९३ लाख २ हजार ६ सय २६ रुपैयाँ खर्च भएकोले बैध आयभन्दा लगानी र खर्च बढी देखिएकोले स्रोत नखुलेको सम्पत्ति भ्रष्टाचारबाट जोडेको अख्तियारको आरोप छ ।

यसरी कुल आयभन्दा खर्च १ करोड ४६ लाख ८१ हजार २ सय २५ रुपैयाँ ९० पैसाले बढी देखिएको र सो रकमको स्रोत पुष्टि नभएको अख्तियाको दावी छ ।

'सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा समेत रहेको देखिँदा दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको हो,' अख्तियारले बिहीबार दायर गरेको अभियोगपत्रमा उल्लेख गरेको छ । 

बिगो कायम गरिएको १ करोड ४६ लाख ८१ हजार रुपैयाँ असुलउपर गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी छ। साथै गैरकानुनी आर्जनबाट बढे/बढाइएको सम्पत्ति पनि जफत गर्नसमेत माग गरिएको छ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully