अधिवक्ता माधवकुमार बस्नेत र दीपकराज जोशीसहितले पेस गरेको रिट बुधबार दर्ता भएको हो ।
काठमाडौं — महान्यायाधिवक्ता नारायण कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता भएको छ । अधिवक्ता माधबकुमार बस्नेत र दीपकराज जोशीसहितले पेस गरेको रिट बुधबार दर्ता भएको हो ।
उक्त रिटको पहिलो पेसी बिहीबारलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
अधिवक्ता माधबकुमार बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई पेस गरेको उक्त रिट यसअघि दरपिठ गरिएको थियो । प्रधान्यायाधीशलाई पनि विपक्षी बनाएपछि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । रिट निवेदकले विपक्षी हटाएर नयाँ रिट पेस गरेका थिए । २२ चैतमा प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तामा कँडेललाई नियुक्त गरेका थिए । रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ ।
निवेदनमा कँडेलको योग्यता नेपालको संविधानको धारा १५७(३) र १२९(५) बमोजिम नपुगेको दाबी गरेको छ । महान्यायाधिवक्ताका लागि कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ । महान्यायाधिवक्ता कँडेलमाथि निरन्तर वकालतको अनुभव नभएको दाबी रिटमा छ ।
