सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा रहेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यवसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए ।
What you should know
काठमाडौं — राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको बैठक चलिरहँदा बीचमै निस्किएर गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको खुलेको छ ।
बुधबार दिउँसो विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गृहमन्त्री गुरुङसहितको बैठक बोलाइएको थियो । मनसुनजन्य विपद् प्रतिकार्यका लागि विभिन्न निकायसँग भएका काम बारे छलफल गर्न बसेको बैठकमा गुरुङसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, सेनाका एकजना जनरल, सडक र सिंचाइँ विभागका महानिर्देशकसहितको उपस्थिति थियो ।
बैठकमा सबै निकायको ब्रिफिङ सुन्ने क्रममा मन्त्री गुरुङले पनि संक्षिप्त रुपमा केही भनाइ राखेका थिए । तर, अन्तिममा छुट्टै निर्देशन दिनुअघि उनी उठेर हिँडेको गृहमन्त्रीको सचिवालय स्रोतले बतायो । ‘बीचमै उहाँ निस्किएर प्रधानमन्त्रीलाई भेट्न जानुभएको थियो,’ सचिवालयका एक सदस्यले भने, ‘त्यहीबेला राजीनामा दिनुभएछ, त्यसअघि राजीनामा दिने कुरा भएको थिएन ।’
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बैठकमा प्रतिनिधिहरूले कुरा राखिरहँदा बीचमा गुरुङले सुझावहरू दिएको बताए । ‘यो खासमा समन्वयात्मक बैठक पनि थियो,’ उनले कान्तिपुरसँग भने, ‘उहाँले गाडीमा जीपीएस जोड्नेलगायतका सुझाव दिनुभएको थियो ।’
बैठकबाट निस्किएको करिब एक घन्टापछि गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको सार्वजनिक गरेका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा रहेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यवसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि विवादमा मुछिएका थिए ।
तर, गुरुङको सचिवालयले यसअघि भ्रष्टाचारविरुद्ध गृहमन्त्रीले गरिरहेको कदमलाई रोक्न गृहमन्त्रीको विरोध गरिएको बताउँदै आएको थियो । ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ गुरुङले भनेका छन्, ‘आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन-जी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।’
