अहिलेको ७५३ स्थानीय तह धेरै भएकोले यसलाई घटाउन र वडाको संख्या बढाउने गरी पुनरावलोकन गर्नु पर्ने महासंघको सुझाव छ ।
काठमाडौं — गाउँपालिका महासंघले वडा र पालिका पुनरावलोकनका लागि सरकारलाई ६ बुँदे सुझाव दिएको छ ।
महासंघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ‘गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना पुनरावलोकन, स्थानीय तह गाभ्ने तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदामा समेट्नु पर्ने भन्दै ६ बुँदे सुझाव दिएको हो ।
संविधानत प्राप्त जिम्मेवारीको प्रभावकारी कार्यान्वयन गर्न अहिलेको ७५३ स्थानीय तह धेरै भएकोले यसलाई घटाउन र वडाको संख्या बढाउने गरी पुनरावलोकन गर्नु पर्ने महासंघको सुझाव छ ।
संख्या, सीमाना हेरफेर र एक आपसमा गाभिने कार्य निर्वाचनभन्दा एक वर्ष अगावै सम्पन्न गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार बैशाख २०८४ को स्थानीय तह निर्वाचनअघि नै गर्न सम्भव नभएको महासंघको तर्क छ । यस प्रकारको पुनरावलोकनलाई समय पर्याप्त नभएकोले निर्वाचनको नियमित कार्यतालिकालाई असर गर्नु नहुने महासंघको भनाइ छ ।
