संसद्मा बलियो जनमत हुँदा आधारभूत वर्गलाई भुलेका कम्युनिस्ट पार्टीहरू सत्ताबाट बाहिरिएपछि भने एकताको वकालत गर्न सुरु गरेका छन् ।
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट आन्दोलन सुरु भएको ७७ औं वर्षमा सबभन्दा कमजोर अवस्थामा पुगेको छ । जनमत बलियो हुँदा एकताको महत्त्व नबुझ्ने नेपालका कम्युनिस्टहरू एकताको पक्षमा उभिन थालेका छन् ।
एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू वाम सहकार्य वा एकता पक्षमा बोल्न थालेका छन् । संसद्मा बलियो जनमत हुँदा आधारभूत वर्गलाई भुलेका कम्युनिस्ट पार्टीहरू सत्ताबाट बाहिरिएपछि भने एकताको वकालत गर्न सुरु गरेका छन् । विश्लेषकहरूले नेपालका कम्युनिस्टहरूको सत्ता गुमेपछि एकताको चेत खुलेको बताएका छन् । एमाले र नेकपाका नेताहरु नै कम्युनिस्ट एकता हुनुपर्नेमा सार्वजनिक रुपमा बोल्न थालेका छन् ।
२०७४ को निर्वाचनमा एमाले र माओवादी प्रचण्ड बहुमत ल्याएर सरकार निर्माण गरे पनि लामो समय टिकाउन सकेनन् । पार्टी एकता भएपछि करिब दुई वर्षमै नेकपा विभाजन हुन पुग्यो । पछिल्लो निर्वाचनमा हारपछि भने उनीहरु वाम एकताको आवश्यकता देख्न थालेका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहालले नेकपा स्थापना दिवसमा वामपन्थी पुनर्गठनको आवश्यकतामाथि जोड दिए । ‘वामपन्थी पुनर्गठन गर्न आवश्यक छ । पुनर्गठनको नेतृत्व गर्ने अवसर छ,’ उनले नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा भने ।
उनले जनमतले सत्ताबाहिर राखेको बेला वाम शक्तिबीच पुनर्गठनको मौका भएको बताए । ‘नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ,’ दाहालले भने, ‘कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको छ । तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब, किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ ।’
एमाले र नेकपाका नेताहरुबीच सहकार्यका लागि अनौपचारिक कुराकानी भइरहेका बेला दाहालले सार्वजनिक रुपमा कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि आहृवान गरे । ‘इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ उनले शान्ति सम्झौताका पक्षबीच मोर्चाबन्दीको आवश्यकता पनि औंल्याए, ‘नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु ।’
एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा नेकपा स्थापना दिवसमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । पत्थरीको उपचार गरी आफ्नो निवास गुन्डु भक्तपुरमा आराम गरिरहेका उनी स्वास्थ्यका कारण कार्यक्रममा आउन सकेनन् । तर कार्यवहाक अध्यक्ष रामबहादुर थापाले अध्यक्ष ओलीको सन्देश सुनाउँदै कम्युनिस्टहरुले आत्मसमीक्षा गरी एकताबद्ध हुने बेला आएको बताए ।
‘नेपालका कम्युनिस्टहरुले आत्मसमीक्षा गर्ने, रुपान्तरण गर्ने र एकताबद्ध गरी नयाँ विजयका लागि संकल्प गर्न दिन हो,’ उनले भने, ‘समाजवादी आन्दोलनले ठूलो धक्का खाएको छ । नेपालका कम्युनिस्टले गम्भीर समीक्षा गर्दैछन् । बाहृय र आन्तरिकरुपमा दक्षिणपन्थी र अवसरवादलाई परास्त गर्न जरुरी छ ।’
नेपालका वामहरु सत्तामुखी भएकै कारण पुनर्जागरण र पुनर्गठन हुनुपर्ने बेला भएको महासचिव शंकर पोखरेलको भनाइ छ । ‘सत्तामुखी र केन्द्रमुखी मानसिकतालाई बदल्ने पर्दछ । आफूलाई जनतातिर फर्काउनु पर्दछ । जनताको मन जित्नु पर्दछ,’ उनले भने, ‘पार्टीको पुनर्जागरण र पुनगर्ठनको कुरा गर्दा हामी सबैले संकल्प गर्नुपर्दछ । हामी अब केन्द्रतिर होइन, जनतातिर । सत्तामुखी होइन, जनमुखी हुनु पर्दछ ।’
विश्लेषकहरुले सत्ता स्वार्थका कारण वाम आन्दोलन चरम संकटमा फसेको बताए । नेकपा संयुक्तका कार्यवहाक अध्यक्ष एवं विश्लेषक घनश्याम भुसालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पुग्दा निराशा, अन्योल छाएको बताए । एमाले, नेकपाका प्रमुख नेतामा फेरि पराजयपछि वाम एकताको चेत आउनु सत्ता गुमाएपछिको अभिव्यक्ति भएको बताए ।
‘नेकपा स्थापना भएको ७७ वर्ष पुगेको बेला निराशा र अन्योल देखिन्छ,’ उनले भने, ‘सत्ता गुमेपछि वाम एकताको कुरा गर्नु वाम समापनको घोषणा गरेजस्तै हो ।’
वामपन्थी ध्रुवीकरण गर्ने नै हो भने आगामी आन्दोलनबारे गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ । ‘सत्ता गुम्यो त्यसकारण वाम एकता गरौं भनेर हुँदैन । वामपन्थी आन्दोलनबारे छलफल गरौं ।’
वामपन्थी दलहरु पछिल्लो निर्वाचन परिणामअनुसार निकै कमजोर अवस्थामा पुगेका छन् । प्रतिनिधिसभाका २७५ मध्ये एमाले र नेपाली कम्युनिस्ट पार्टीले गरी ४२ सिट मात्र जितेका छन् ।
समानुपातिकतर्फ एमालेले १४ लाख ५ हजार, ८८५ मत अर्थात् जम्मा १३ दशमलव.४४ प्रतिशत र नेकपाले ८ लाख ११ हजार ५७ मत प्राप्त गरी ७ दशमलब ४९ प्रतिशत मत ल्याएको छ । यो निर्वाचनमा वामपन्थी करिब २१ प्रतिशत मात्र रह्यो ।
०७४ मा एमाले र माओवादीले झण्डै दुई तिहाइ (१७४) सिट जितेका थिए । समानुपातिकमा दुई दलले करिब ४७ प्रतिशत मत ल्याएका थिए । त्यस्तै ०७९ को निर्वाचनमा करिब ४२ प्रतिशत मत ल्याएका थिए ।
कम्युनिस्टमा १६ चिरा
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएसँगै संस्थापक पुष्पलाल श्रेष्ठले वर्गसंघर्ष, समानता र समाजवाद र साम्यवादी व्यवस्थाको सपना देखेका थिए । नेकपा स्थापनाको केही वर्षमै वैचारिक मतभेद सुरु भएको थियो । २०१९ मा भारतको बनारसमा भएको महाधिवेशनबाट नेकपा विभाजन भयो । महाधिवेशबाट केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डिपी अधिकारीलाई कारबाही गरेपछि पहिलो पटक नेकपा विभाजन भएको थियो ।
तत्कालीन महासचिव तुलसीलाल अमात्य र वरिष्ठ नेता पुष्पलाल श्रेष्ठबीच विवाद सुरु भएपछि जेठ २०२५ मा भारतको गोरखपुरमा 'तेस्रो सम्मेलन’को आयोजना गरी पुष्पलालले बेग्लै पार्टी स्थापना गरेका थिए । पुष्पलालको पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको प्रभाव परेको थियो । मूलधार नेकपा रसियन कम्युनिस्ट पार्टीको नीति अंगालेको थियो । कम्युनिस्ट पार्टीहरु व्यक्तिपिच्छेका समूहमा गठन हुन थालिसकेका थिए । मजदुर किसान सभा (२०३०), कम्युनिस्ट एकता सम्पर्क समिति नेफाल (२०३०), सर्वहारा क्रान्तिकारी संगठन (२०३३) र मुक्ति मोर्चा समूह (२०३३) जस्ता स–साना कम्युनिस्ट समूहहरु जन्मिन थालिसकेका थिए ।
२०३० को दशकमा नेपालमा कम्युनिस्ट आन्दोलन साना–साना समूहमा विभाजन भइसकेका थिए । २०२८ मा झापा विद्रोह भए भएपछि ‘कोअर्डिनेसन केन्द्र’ (कोके) को गठन भएको थियो ।
कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको बेलामा २०२८ मंसिरमा मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायतका नेताहरुको सक्रियता र सहभागितामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि कोसिस आरम्भ भएको थियो । एकताका लागि उक्त न्युक्लियसले पुष्पलालसँग वार्ता र छलफल गरे पनि सहमति बन्न सकेन । २०३१ भदौमा भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा चौथो महाधिवशेन आयोजना गरियो । त्यसले एकता कायम गर्नेभन्दा थप नयाँ समूह बनाएर नेकपामा अर्को विभाजन ल्याउने काम गर्यो । जुन मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा (चौथो महाधिवेशन) का नाम राखियो ।
२०४२ नेकपा मशालमा विभाजन, मोहन वैद्यको नेतृत्वमा नेकपा मशाल र मोहनबिक्रम सिंहको नेतृत्वमा नेकपा मसाल गठन भएको थियो । नेकपालाई विभाजित गरेको भन्दै चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना भयो ।
२०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई नेकपा (एमाले) को गठन भयो । नेपालमा कम्युनिस्ट मूलधारको रुपमा रह्यो । प्रजातन्त्र पुनःस्थापनापछि नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच ऐतिहासिक एकता भई नेकपा (एमाले) बन्यो र मदन भण्डारीले अघि सारेको 'जनताको बहुदलीय जनवाद’ (जबज) ले एमालेलाई संसद्को एक प्रमुख शक्तिको रूपमा स्थापित गर्यो । २०५४ सालमा पार्टी फुटेर वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) गठन भयो, तर केही समयपछि गौतमसहित एमालेमा फर्किए ।
२०४७ पुष्पकमल दाहाल नेतृत्वको नेकपा मशाल, निर्मला लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा एकता केन्द्र गठन भयो । जसले २०५२ फागुन १ देखि नेकपा (माओवादी) नामबाट 'जनयुद्ध’ सुरु गरी १० वर्षको युद्ध गर्यो । २०६२/६३ को जनआन्दोलनपछि माओवादी मूलधारको राजनीतिमा आयो, तर शान्ति प्रक्रियामा आएपछि यो शक्ति पनि विभाजनबाट अछुतो रहेन । शान्ति प्रक्रियामा असमति जनाउँदै २०६९ असारमा तत्कालीन उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा एउटा ठूलो हिस्सा माओवादीबाट अलग भई क्रान्तिकारी माओवादी गठन गर्यो ।
नेपालको इतिहासमा कम्युनिस्टहरूले सबैभन्दा ठूलो सफलता २०७४ को आमनिर्वाचनमा एमाले र माओवादी गठबन्धनले प्राप्त गर्यो । जसले २७५ सिटमध्ये १७४ सिट जित्न सफल भएको थियो । जेठ २०७५ मा एमाले र माओवादी केन्द्र मिलेर 'नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ गठन भयो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शक्ति संघर्ष चर्किएका थियो ।
नेकपामा विवाद चर्किरहेका बेला २३ फागुन २०७७ मा सर्वोच्च अदालतमा नेकपासम्बन्धी परेको एक निवेदनमा भएको फैसलाले यो एकता खारेज गरिदियो । त्यसपछि एमाले र माओवादी पुनः साविककै अवस्थामा पुगे । एमालेभित्रको विवादका कारण २०७८ भदौमा माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भयो । एकीकृत समाजवादी ०७९ को निर्वाचनमा सहभागी भई प्रत्यक्षमा १० सिट जिते पनि राष्ट्रिय पार्टी हुन सकेन । ०८२ कात्तिक तेस्रो साता माओवादी केन्द्र र एकीकृत समाववादीबीच एकता भयो । फागुन २१ मा भएको निर्वाचनमा नेकपाले जम्मा १७ सिट मात्र जितेको छ । फागुन २१ को निर्वाचन प्रयोजनका लागि १६ वटा कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए ।
निर्वाचन आयोगमा दर्ता रहेका कम्युनिस्ट विचारका पार्टी र त्यसका प्रमुख पदाधिकारी
१. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत-मार्क्सवादी-लेनिनवादी) – केपी शर्मा ओली
२. नेपाली कम्युनिस्ट पार्टी – पुष्पकमल दाहाल
३. नेपाल कम्युनिस्ट पार्टी – लोकनारायण सुवेदी
४. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी – लेनिनवादी)– चन्द्रप्रकाश मैनाली
५. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) – अम्बिकाप्रसाद बैब
६. माओवादी कम्युनिस्ट पार्टी – रामनारायणप्रसाद पन्त
७. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) मानध्वज गुरुङ
८. नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) – सुदीप रुवाली
९. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) – घनश्याम भुसाल
१०. नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) – भविश्वर पराजुली
११. नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी– कर्णजित बुढाथोकी
१२. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन – जोगमान लामा
१३. नेपाल कम्युनिस्ट पार्टी माओवादी– नेक्रविक्रम चन्द
१४. नेपाल मजदुर किसान पार्टी – नारायणमान बिजुक्छे
१५. राष्ट्रिय जनमोर्चा – चित्रबहादुर केसी
१६. जनता जनवादी पार्टी – सन्ध्या तिवारी
