कान्तिपुरको फिचर र इन्भेस्टिगेसन सम्पादकमा संजीव सत्गैंया नियुक्त

सत्गैंयाले कान्तिपुर दैनिक, काठमान्डु पोस्ट र केएमजीका डिजिटल प्लाटफर्मका लागि फिचर र खोजमूलक पत्रकारिताको सम्पादकीय नेतृत्व गर्नेछन् ।

वैशाख ७, २०८३

इकान्तिपुर डेस्क

Sanjeev Satgainya appointed as Kantipur's Features and Investigations Editor

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्स्‌को फिचर र इन्भेस्टिगेसन सम्पादकमा संजीव सत्गैंया नियुक्त भएका छन् । सोमबार कान्तिपुर मिडिया ग्रुपले सत्गैंयालाई फिचर/इन्भेस्टिगेसन सम्पादक नियुक्त गरेको हो ।

सत्गैंयाले कान्तिपुर दैनिक, काठमान्डु पोस्ट र केएमजीका डिजिटल प्लाटफर्मका लागि फिचर र खोजमूलक पत्रकारिताको सम्पादकीय नेतृत्व गर्नेछन् । उनले कान्तिपुर मिडिया ग्रुपका ग्रुप एडिटोरियल डिरेक्टरलाई रिपोर्ट गर्ने पनि केएमजीले विज्ञप्तिमा जनाएको छ ।

सत्गैंयाले वरिष्ठ संवाददाताहरू र खोजमूलक पत्रकारहरूको स्वतन्त्र टिमको नेतृत्व गर्ने पनि केएमजीले जनाएको छ । 

सत्गैंयासँग नेपालको अंग्रेजी भाषाको पत्रकारितामा दुई दशकभन्दा लामो अनुभव रहेको छ । उनले फेब्रुअरी २०२० देखि सेप्टेम्बर २०२२ सम्म काठमान्डु पोस्टको सम्पादकीय नेतृत्वसमेत सम्हालेका थिए । कोरोना महामारीको त्यो समयमा उनले पत्रिकाको सम्पादकीय नीतिलाई पुनर्संरचना गर्दै राजनीति, सरकार, जवाफदेहिता र मानव अधिकारसम्बन्धी समाचारका साथै सार्वजनिक स्वास्थ्यसम्बन्धी गहन रिपोर्टिङलाई प्राथमिकता दिएका थिए ।

सत्गैंयाको नियुक्तिले अनुभवी र दृष्टिकोणयुक्त सम्पादकीय टिमको निर्माण गर्ने केएमजीको प्रतिबद्धता झल्किने ग्रुप एडिटोरियल डिरेक्टर अनुप काफ्लेले बताए । सत्गैंयाको नियुक्तिबारे काफ्ले भन्छन्, 'उनी त्यस्ता सम्पादक हुन्, जसले कुनै पनि समाचार प्रकाशित हुनुअघि कठिन प्रश्नहरू उठाउँछन् । नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यबारे उनीसँग गहिरो ज्ञान भएकाले पनि यस पदका लागि उनी उपयुक्त पात्र हुन् ।'

दाङका स्थायी बासिन्दा सत्गैंयाले सन् २००२ मा दी हिमालयन टाइम्सबाट पत्रकारिता सुरू गरेका थिए । त्यहाँ उनले फिचर रिपोर्टिङबाट कपी डेस्क हुँदै सहायक सम्पादकको जिम्मेवारी सम्हालेका थिए ।  उनले द हिन्दु र हिमाल साउथ एसियनमा पनि लेख्ने गरेका छन् । 

इकान्तिपुर

Link copied successfully