अमेरिकी सहायक विदेशमन्त्रीको नेपालमा यो पहिलो एकल भ्रमण हो । यसअघि यस्ता उच्च अधिकारीहरूले नेपाल भ्रमणलाई प्रायः अन्य दक्षिण एसियाली मुलुकसँग जोड्ने गरेका थिए ।
What you should know
काठमाडौं — ३ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले राजनीतिक दलका नेता तथा सरकारी अधिकारीसँग भेटघाट थालेका छन् । गत १३ चैतमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेयता काठमाडौं आउने उनी सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुन् ।
काठमाडौंमा अवतरण गरेलगत्तै कपुरले काठमाडौंस्थित अमेरिकी दूतावासमा पुगेर अधिकारीहरूबाट ब्रिफिङ लिएका थिए । त्यसपछि उनले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए । यद्यपि, वासिङ्टनले कपुरको भ्रमण, भेटघाट र कार्यक्रमहरू सार्वजनिक गरेको छैन । काठमाडौंस्थित अमेरिकी दूतावासले भने सामाजिक सञ्जाल एक्समार्फत भ्रमणको पुष्टि गरेको छ । 'अमेरिकी सहायक विदेशमन्त्रीले वरिष्ठ सरकारी अधिकारी, व्यवसायी र सांस्कृतिक क्षेत्रका विज्ञसँग भेटघाट गर्दै अमेरिका–नेपाल साझेदारी थप सुदृढ बनाउने उद्देश्य राखेका छन्,' दूतावासले जनाएको छ।
लामिछानेसँगको भेटपछि कपुरले एक्समा लेखेका छन्, 'काठमाडौंमा रास्वपा सभापति लामिछानेसँग भेटेर नयाँ सरकारका प्राथमिकता बुझ्न र अमेरिका–नेपाल सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गर्न पाउँदा खुसी लाग्यो ।'
अमेरिकी सहायक विदेशमन्त्रीको नेपालमा यो पहिलो एकल भ्रमण हो । यसअघि यस्ता उच्च अधिकारीहरूले नेपाल भ्रमणलाई प्रायः अन्य दक्षिण एसियाली मुलुकसँग जोड्ने गरेका थिए ।
नेपालस्थित अमेरिकन चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटपछि कपुरले लेखेका छन्, 'नेपालको आईसीटी क्षेत्रमा अमेरिकी लगानी र अवसर विस्तारबारे उद्योगीहरूसँग महत्वपूर्ण छलफल भयो । डिजिटल पूर्वाधार, एआई प्रयोग, साइबर सुरक्षा र अमेरिकी प्रविधि साझेदारीका विषयमा पनि कुरा भयो ।'
कपुरले सोमबार अमेरिकी वाणिज्य मञ्चसँग आईसीटी, एआई र साइबर सुरक्षाबारे छलफल गर्दै छन्। यसअघिका अधिकारीहरूभन्दा फरक, कपुरले यसपटक प्रधानमन्त्री शाहसँग भेट गर्ने छैनन् । अघिल्ला भ्रमणहरूमा भने अमेरिकी अधिकारीहरूले प्रधानमन्त्रीसँग भेट गर्ने गरेका थिए । 'अमेरिकी पक्षबाट प्रधानमन्त्रीसँग भेटको कुनै प्रस्ताव आएन, त्यसैले भेट तय भएको छैन,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'उनीहरूले भ्रमणको कार्यसूची पनि मन्त्रालयलाई जानकारी दिएका छैनन् ।'
मंगलबार कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, तथा नेपाल–अमेरिका वाणिज्य तथा उद्योग मञ्चका अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको एक सरकारी अधिकारीले बताए । 'उनीहरूले कुनै स्पष्ट एजेन्डा दिएका छैनन्,' ती अधिकारीले भने, 'हामी यसलाई परिचयात्मक भ्रमणका रूपमा लिएका छौँ, जहाँ हामीले आफ्ना प्राथमिकता राख्नेछौँ र उनीहरूले ट्रम्प प्रशासनका प्राथमिकता बारे जानकारी दिने छन् ।' अधिकारीहरूका अनुसार कपुरले नेपाल सरकारका प्राथमिकता सुन्ने र वासिङ्टनले कसरी सहयोग गर्न सक्छ भन्ने सन्देश दिनेछन् । उनले पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
नेपालको फागुनको चुनावअघि कपुरले निर्वाचन शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्दै जुनसुकै सरकार आए पनि अमेरिकाले सहकार्य गर्ने बताएका थिए ।उनको काठमाडौं भ्रमणलाई नयाँ दिल्लीले पनि नजिकबाट हेरिरहेको छ । भारतका विदेश नीति विज्ञ एसडी मुनीलले एक्समा लेखेका छन्, 'अमेरिकाले चीन वा अन्य कुनै देशले नेपालमा प्रभुत्व जमाओस् भन्ने चाहँदैन । शीतयुद्धको सुरुवाती चरणमा अमेरिकाले नेपालमा भारतलाई पनि सन्तुलनमा राख्ने प्रयास गरेको थियो ।'
