तीनदिने भ्रमणका लागि अमेरिकी वरिष्ठ अधिकारी आउँदै

१३ चैतमा शाहले कार्यभार सम्हालेयता काठमाडौं भ्रमण गर्ने कपुर सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुनेछन् ।

वैशाख ५, २०८३

अनिल गिरी

Senior US official arriving for three-day visit

What you should know

काठमाडौँ — वालेन्द्र शाह नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ गर्ने प्रयासस्वरूप दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार नेपाल आउँदै छन् । १३ चैतमा शाहले कार्यभार सम्हालेयता काठमाडौं भ्रमण गर्ने कपुर सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुनेछन् । 

वासिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीले कपुर तीनदिने भ्रमणका लागि काठमाडौं आउन लागेको पुष्टि गरेका छन् । उनीहरूका अनुसार कपुरले नेपाल भ्रमणका क्रममा सरकारका प्राथमिकताहरू सुन्नेछन् र त्यसमा वासिङ्टनले के कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश प्रवाह गर्नेछन् । भ्रमणको औपचारिक घोषणा भने भएको छैन । 

सहायक विदेशमन्त्री कपुरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि काठमाडौं आउन लागेका छन् । काठमाडौं बसाइका क्रममा कपुरले राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने–नगर्नेबारेमा केही बताइएको छैन । एक सरकारी अधिकारीका अनुसार भ्रमणका क्रममा सहायक विदेशमन्त्री कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य लगायतलाई भेट्ने कार्यक्रम छ ।

उनले पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री शाहसँग भेट–नहुनेबारे प्रष्ट छैन । भ्रमणबारे जानकार अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाहसँगको भेटका लागि शुक्रबार साँझसम्म पनि अमेरिकी पक्षले कुनै अनुरोध गरेको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाली सुरक्षा मामिला विज्ञ कपुरलाई गत वर्ष अक्टोबरमा डोनाल्ड लुको ठाउँमा दक्षिण एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्ति गरेका थिए । गत फेब्रुअरीमा बंग्लादेशमा नयाँ सरकार बनेलगत्तै कपुरले त्यहाँको भ्रमण गरेका थिए । त्यसक्रममा उनले सरकारका विदेशमन्त्री खलिलुर रहमान र राज्यमन्त्री शमा ओबेद इस्लामलगायतका उच्च अधिकारीहरूलाई भेटेका थिए । बंगलादेशी प्रधानमन्त्री तारिक रहमानसँग भने कपुरको भेट भएन ।

परराष्ट्र मन्त्रालयका अनुसार कपुर यसअघि नै काठमाडौं आउने पक्षमा रहे पनि २१ फागुनको संसदीय निर्वाचन र नेपालको आन्तरिक कारण देखाउँदै भ्रमण स्थगन गरिएको थियो । ‘अमेरिकी पक्षले भ्रमणबारे विस्तृत रूपमा बताएको छैन, तर काठमाडौंको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक देखिन्छ । नेपालमा नयाँ सरकार गठन भएलगत्तै उच्च तहका अधिकारीलाई पठाउनुले पनि त्यसलाई पुष्टि गर्छ,’ वासिङ्टनस्थित एक नेपाली कूटनीतिज्ञले भने । 

सरकारी अधिकारीहरूसँग भेटमा काठमाडौंस्थित अमेरिकी कूटनीतिज्ञहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको द्रुत र सहज कार्यान्वयन, नेपालमा झन्झटमुक्त लगानी र सूचना प्रविधि कम्पनी कोटिभिटी र कोकाकोलाको कर विवादका समाधान, द्विपक्षीय व्यापारबारे चासो राख्ने गरेका छन् । 

नेपालमा रहेका तिब्बती शरणार्थीको हक अधिकारलाई पनि उनीहरूले प्राथमिकतासाथ उठाउने गरेका छन् । त्यस्तै इलन मस्कको स्टारलिंक इन्टरनेट सेवा नेपालमा विस्तारका विषयमा पनि उनीहरूले छलफलका क्रममा जोड दिने गरेको सरकारी अधिकारीहरूको भनाइ छ ।

अमेरिकाबाट काठमाडौंकेन्द्रित भएर मन्त्रीस्तरीय भ्रमण लामो समयपछि हुन लागेको हो । यसअघि अमेरिकी विदेशमन्त्रीहरू प्रायः भारत, बंगलादेश र श्रीलंका भ्रमणका क्रममा काठमाडौं ओर्लने गरेका थिए । तर यस पटक सहायक विदेशमन्त्री कपुर टर्किस एयरलाइन्सबाट वासिङ्टनबाट सिधैं काठमाडौं आउँदै छन् । र, बुधबार त्यही एयरलाइन्सबाट फर्कने कार्यक्रम छ । 

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्प प्रशासनका तर्फबाट कपुरले नै नेपालमा शान्तिपूर्ण मतदान हुनेमा विश्वस्त रहेको र नयाँ सरकारसँग काम गर्न तयार रहेको जनाएका थिए ।

‘नेपालको सन्दर्भमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन हुनेमा हामीलाई विश्वास छ, र जोसुकै विजयी भए पनि हामी मिलेर काम गर्न तयार छौं,’ जनवरीको दोस्रो साता अमेरिकी संसदको विदेश मामिला समितिलाई नेपालका सम्बन्धमा ‘बिफ्रिङ’ गर्दै कपुरले भनेका थिए ।

अनिल

Link copied successfully