३२ वर्षदेखि सातु र सर्बत बाँड्दै देवीमाया

देवीमाया भन्छिन्, 'गर्मीका बेला पैदलयात्रीलाई शीतल पनि हुन्छ । धर्म पनि हुन्छ भन्छन् । के हुन्छ त ठ्याक्कै थाहा छैन ।'

वैशाख ७, २०८३

आनन्द गौतम

Devi Maya has been distributing Satu and Sarbat for 32 years.

What you should know

काठमाडौँ — वीरेन्द्रचोक फुङलिङकी देवीमाया ओझालाई अक्षय तृतीयाको दिन खास लाग्छ । बिहानै उनी घरबाहिरको चोक निस्कन्छिन् । टेबुल कुर्सीमा सर्बतको गाग्री र सातु राख्छिन् ।  चोक भएर ओहोरदोहोर गर्नेलाई उनी भन्छिन्, ‘पानी खाऔं हैं..., सातु खाऔं है... ।’ सातु र सर्बत खाइसकेपछि कतिपयले पैसा निकालेर दिन खोज्छन्, कतिपय धन्यवाद दिएर हिँड्छन् । उनी ३२ वर्षदेखि निरन्तर सातु र सर्बत बाँडिरहेकी छिन् ।

मिक्वाखोला-१ खोक्लिङमा २००९ सालमा जन्मिएकी देवीमायाले सानै हुँदा अक्षय तृतीयाको महत्त्व बुझिन् । उनकी आमा पनि हान्द्रुङबाट खोक्लिङको उकालो चढेर लिवाङ साावा जानेहरूलाई सातु र पानी बाँड्थिन् । आमालाई सघाउन देवीमाया पनि जान्थिन् । ऊबेला गाग्रीमा चिसो पानी भर्ने, कागतीको रस चिनी घोलेर दिने गरिन्थ्यो । 

देवीमाया ती दिन सम्झिन्छिन्, 'वैशाखको उकालोमा ढाकर बोकेर आउने भरिया एकै जनाले ५/६ गिलास पानी पिउँथे । हिँड्ने बेलामा ‘बोजु, तपाईंलाई धर्म मिलोस्’ भन्थे ।' देवीमायाले विवाह भएपछि पनि त्यही परम्परालाई निरन्तरता दिइन् । 

Devi Maya has been distributing Satu and Sarbat for 32 years.

खोक्लिङमा हुँदा आफ्नै बारीमा जौ फल्थ्यो । त्यसैलाई ढिकीमा फलेर भुस फाल्ने र जाँतोमा पिसेर सातु बनाउने गरेका थिए । अहिले आफ्नो उत्पादन खेती छैन ।  गाउँमा पहिल्यै अर्डर गर्ने र मिलमा लगेर सातु पिस्छिन् देवीमाया ।  

यसवर्ष उनले फुङलिङ नगरपालिका-९ हाङदेवाको बुङकुलुङबाट तीन पाथी जौ किनिन् । पाथीको ६ सय ५० रुपैयाँ पर्‍यो । देवीमायाले आफ्नै घरको ओखलमा नातिनातिनाको सहयोगमा फलिन् । फुङलिङमा मात्र होइन, नेपालका विभिन्न भागमा अक्षय तृतीयाको दिन सातु र सर्बत बाँड्ने चलन छ । देवीमाया भन्छिन्, 'गर्मीका बेला पैदलयात्रीलाई शीतल पनि हुन्छ । धर्म पनि हुन्छ भन्छन् । के हुन्छ त ठ्याक्कै थाहा छैन ।'

Devi Maya has been distributing Satu and Sarbat for 32 years.

छिमेकी अम्बरकुमार श्रेष्ठ पनि देवीमायाको कामबारे जानकार छन् । उनी भन्छन्, 'अक्षय तृतीयाको दिन मौसम कस्तो हुन्छ भन्ने चिन्ता गर्नुहुन्छ । घाम लागिदिए हुन्ग्यो भन्नुहुन्छ ।'

मौसम सफा भए भाँडामा सातु र गाग्रीमा सर्बत लिएर घरबाट निस्कन्छिन् र चोकमा बस्छिन् । मौसम राम्रो नभए आफ्नै घरको पेटीमा बसेर बाद्दड्छिन् । उनलाई सातु बाँड्न अम्बर र अरू छिमेकीले पनि सघाउँछन् । कसैले पानी ल्याइदिन्छन् त कसैले गिलास बनाएर सघाउने गरेका छन् ।  ‘यतिलाई बाँडियो भन्ने त हिसाब हुँदैन,’ अम्बर भन्छन्, ‘दुई चार सय जना त यसै नै भइहाल्छन् ।’ 

सातु फुक्का हुन्छ । त्यसैले सातुसँगै पानी दिइने गरेको बुढापाको भनाइ छ । सडकको पहुँच नहुँदासम्म दोबाटो वा चौतारीमा सातु र सर्बत बाँड्ने चलन कायमै थियो ।  अहिले धेरै जना गाडीमा हिँड्ने गर्छन् । नयाँ पुस्तामा भने यो चलनप्रति चासो कम हुँदै गएको छ । 

पण्डित देवीप्रसाद निरौलाका अनुसार अक्षय तृतीयाको महत्त्वबारे पुराणमा समेत उल्लेख छ । यसदिन गरेको सुकर्म कहिल्यै नास नहुने अर्थात अक्षय रहने मान्यता रहेको पण्डित निरौलाको भनाइ छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully