जिल्लामा रहेका लोपोन्मुख नेटुवा जातिको जीवन कष्टकर छ । विपन्न उनीहरूले विद्यालयको मुख देखेका छैनन् । पुर्ख्यौली सम्पत्ति छैन । अहिले पनि उनीहरू दिनहुँ मागेरै गुजारा गरिरहेका छन् । माग्नेबाहेक उनीहरू सर्प समात्ने, मह काढ्ने र गाउँ–गाउँ बसाइँ सर्दै फिरन्ते जीवन बिताइरहेका छन् ।
What you should know
कपिलवस्तु — मायादेवी गाउँपालिकाको धुपहीकी ५० वर्षीया शुभावती नेटुवाको मुख्य काम आसपासका बस्ती चहार्दै दानापानी जुटाउनु हो । आफैं उब्जाउन एक हात जमिन छैन । भोकै बस्न सकिँदैन । त्यसैले गाउँघर डुलेर जुटेको अन्नपातले गुजारा चलाउँछिन् । उनका ३० वर्षीय छोरा हिरू मजदुरी गर्छन् । उनले पाउने ज्यालाले साँझ–बिहान छाक पुर्याउन भरथेग हुन्छ ।
यसरी माग्दै हिँड्नु उनीहरूको पुर्ख्यौली पेसा बनेको छ । शुभावतीले मागेरै ७ जनाको परिवारलाई खाना पुर्याउँदै आएकी छन् । गाउँमा अरुको जग्गामा प्लास्टिकको पाल टाँगेर बसोबास गरिरहेकी थिइन् । केही समयअघि ७ धुर ऐलानीमा बनाएको दुई कोठाको टिनको टहरो छाडेर भारतीय नागरिक गाउँबाट बाहिरिएपछि गाउँलेले सल्लाह गरेर उक्त टहरो उनीहरूलाई दिएका छन् ।
मायादेवी–२, अभिरावकी ४५ वर्षीया कमलावती नेटुवाको दिन पनि घरघर मागेरै कट्छ । उनका श्रीमान् विक्रमले मजदुरी गर्छन् । कमलावतीले मागेको अन्न र विक्रमले पाएको ज्यालाले ६ जनाको परिवारलाई जेनतेन खान पुग्छ । उनीहरूले गाउँका जमिन्दारको जग्गामा घर बनाएका छन् । जनता आवास कार्यक्रमले दुई कोठाको घर बनाइदिएको छ । जग्गाको लालपुर्जा नहुँदा बिजुली जडान गर्न पाएका छैनन् । हातमुख जोर्न गाउ डुल्दै माग्नुपर्ने भएपछि ४ लालाबालालाई विद्यालय पठाउन पाएका छैनन् ।
जिल्लामा रहेका लोपोन्मुख नेटुवा जातिको जीवन कष्टकर छ । विपन्न उनीहरूले विद्यालयको मुख देखेका छैनन् । पुर्ख्यौली सम्पत्ति छैन । अहिले पनि उनीहरू दिनहुँ मागेरै गुजारा गरिरहेका छन् । माग्नेबाहेक उनीहरू सर्प समात्ने, मह काढ्ने र गाउँ–गाउँ बसाइँ सर्दै फिरन्ते जीवन बिताइरहेका छन् ।
अल्पसंख्यक जाति भएर पनि उनीहरूले सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । मुलुकको राजनीतिक व्यवस्था र सामाजिक जीवनमा धेरै परिवर्तन भए पनि आफूहरूले मागेर खानुपर्ने पेसा छाड्न नसक्नु दुःखद भएको नेटुवा विकास केन्द्रका अध्यक्ष नयतराम नेटुवाले बताए । ‘यसमा राज्यको नीति नियम बनाउनेहरू दोषी छन्,’ उनले भने, ‘अहिलेको युगमा पनि भीख मागेर खाने कुरा कल्पना पनि गर्न सक्दैनौं । विकल्प पायौं भने माग्ने पेसा छाड्न तयार छौं ।’
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१, प्रगतिनगरको नेटुवा बस्ती । तस्बिर सौजन्यः संजय पासी ।
स्थानीयदेखि संघीय सरकारले आफ्ना लागि कुनै योजना र कार्यक्रम नल्याएको उनले बताए । आधारभूत सुविधा दिएर मागेर खानुपर्ने अवस्थाबाट मुक्ति दिलाउन उनले आग्रह गरे । २०७८ को गणना अनुसार मुलुकभर नेटुवाको जनसंख्या २ हजार ८ सय ९६ छ । यो कुल जनसंख्याका आधारमा ० दशमलव १ प्रतिशत हुन आउँछ ।
नेटुवा भन्दा धेरै जनसंख्या रहेका पत्थरकट्टा/कुशबडियाले मासिक सामाजिक सुरक्षा भत्ता पाउँछन् । पत्थरकट्टा/कुशबडिया मुलुकभर ३ हजार ३ सय ४३ जना छन् । पूर्वी तराईका नेटुवा थर लेख्नेले मुस्लिम धर्म मान्ने भएकाले वास्तविक नेटुवाको जनसंख्या अझै कम हुन सक्ने नेटुवाका अगुवा पडित नेटुवाले बताए । ‘वास्तविक नेटुवा हिन्दु हुन्,’ उनले भने, ‘५ पुस्तादेखि हिन्दु धर्म मान्दै आएका छौं ।’
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकका आधारमा कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम रहेका जातजातिलाई सरकारले अल्पसंख्यक सूचीमा राखेको छ । आर्थिक वर्ष ०७६/७७ देखि कुसुण्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा र कुसबाडिया/पत्थरकट्टाले सामाजिक सुरक्षा भत्ता पाउँछन् । मासिक ३ हजारबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले ३ हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।
ज्येष्ठ नागरिक बाहेक नेपालको संविधान २०७२ को धारा ४३ मा आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, एकल महिला, अपाङ्ग व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ।
नेटुवा जातिका अगुवा कपिलवस्तुको मायादेवी गाउँपालिका-२, मनखोरियाका नयतराम नेटुवा ।
मागेर गुजारा चलाउने पुर्ख्यौली पेसा अपनाएका जातिको रूपान्तरणका लागि योजना नल्याउनु दुःखद भएको नेटुवा अधिकारकर्मी संजय पासीले बताए । ‘नेटुवा जातिका मानिसले माग्दा सबैले नराम्रो नजरले हेर्ने, बात लगाउने र गालीगलौज गर्ने गर्छन्,’ उनले भने, ‘तर, विकल्प नहुँदा पेटका लागि हामी यस्ता दुर्वचन पनि सहन बाध्य छौं ।’
जिल्लामा आठ पुस्तादेखि नेटुवाको बसोबास छ । ऐलानी, पर्ती र सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । कपिलवस्तुका ६ स्थानीय तहमा नेटुवा समुदायका १ सय १३ घर छन् । ५ सय ३० जना छन् । त्यस्तै रूपन्देहीमा ३३ घरमा २ सय १९ छन् । सबैका फुसको घर, माटो/इटाको पर्खाल, टिनको छाना र दुई जनाका ढलान गरेका घर छन् । खेतीपाती गर्ने जग्गा–जमिन कसैको छैन । अधिकांशको वंशजका आधारमा नागरिकता बनेको छ । उनीहरूलाई मिठो खान र एकसरो लगाउन सकस छ । आयस्रोत छैन । भीख मागेर कति हुन्छ ? बल्लतल्ल खान पुग्छ । नयाँ लुगाफोटो फेर्न र औषधि उपचार गर्नु परे सकस हुन्छ । राम्रो ओतिने घर बनाउने कुरा त सपना बनेको छ । अहिले पनि माग्ने पेसा छाड्न सकेका छैनन् । अझै पनि ८० प्रतिशत हाराहारीले मागेरै गुजारा गर्छन् ।
तर, ठूला भएका छोरी–बुहारी भीख माग्न जाँदा कतिपयले जिस्क्याउने, अपशब्द प्रयोग गर्ने र नराम्रो नजरले हेरेर हतोत्साहित गर्दा चित्त दुख्ने गरेको अभिरावका प्रह्लाद नेटुवाले बताए । तर, भीख नमागी कतिपयको गुजारा नचल्दा अपहेलना सहेर पनि यही काम गर्नु परिरहेको दुखेसो उनले सुनाए । सर्प समात्ने पेसा पनि जोखिममुक्त छैन । सधैं सर्प पनि भेटिँदैनन् । वर्षाको समयमा बढी देखिन्छन् । एउटा सर्प समातेर दुई चार सय रुपैयाँ मिल्ने उनीहरू बताउँछन् ।
जोखिम मोलेर सर्प समातेर पाएको पैसाले परिवार पाल्न नसकिने अभिरावका चन्द्रिका नेटुवाले बताए । उनका अनुसार ५० वर्षमा गाउँघरमा सर्प समात्दा ५ जना नेटुवाले ज्यान गुमाउनु परेको छ । ‘जोखिम बढेको छ,’ उनले भने, ‘सर्प समात्न पनि नेटुवा उत्साहित छैनन् । अर्को मह काढ्ने पेशा पनि प्रभावकारी छैन । जतासुकै माहुरीको चाका पाइँदैन । कताकति पाइए पनि स्थानीयले दिँदैनन् । त्यतिले घरगर्जो टार्न पनि सकिँदैन ।’ खेतीपाती छैन । उब्जनी हुँदैन । रोजगार व्यवसाय गर्न शिक्षा र लगानी छैन ।
कक्षा ८ मा अध्ययरत रवि नेटुवा (बायाँ) र आशिष नेटुवा ।
नटुवा समुदायमा ११ कक्षा उत्तीर्ण एक/दुई जना मात्र छन् । त्यही भएर उही पुरानो पेसा गर्नु परिरहेको चन्द्रिका नेटुवाले बताए । अभिभावकलाई दबाब दिएर भए पनि नेटुवाका ८० प्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । तर, मुस्किलले ३० प्रतिशत नियमित स्कुल जान्छन् ।
अधिकांश बासिन्दा फिरन्ते जीवन व्यतीत गरिरहेका छन् । असार/साउनमा मात्र घर भएको थातथलोमा बस्छन् । अरु बेला परिवारसहित ठाउँ सार्दै हिँडछन् । साइकल, रिक्सा र टाँगामा भाँडाकुडा र लत्ताकपडा राखेर बसाइँ सर्छन् । बगैंचा, ऐलानी जग्गा खोजेर प्लास्टिकका पाल टाँगेर अस्थायी टहरा बनाउँछन् । त्यसैमा बस्छन् । अनि गाउँघर चहारेर मागेर ल्याएको अन्नपातले भोक मेटाउँछन् । उनीहरूको जीवन कष्टकर त छ नै । त्यसमाथि कहिलेकाहीँ कथित ठूलाबडाले छुवाछूतको कुरा गरेर अपहेलित गर्छन् । सँगै खान र बस्न नदिएर भेद्भाव गर्दा पीडा थपिने गरेको भुवर नेटुवाले बताए । मायादेवीको अभिरावमा बसोबास रहेका ५ घर नेटुवाले लालपुर्जा नहुँदा घरमा बिजुली जडान गर्न पाएका छैनन् । तीन पुस्तादेखि बस्दै आएको जग्गा अर्कैको नाममा छ । ७/७ धुर जग्गामा ५ जनाले घर बनाएका छन् । तर लालपुर्जा नहुँदा लाख कोसिस गर्दा पनि घरमा मिटर लगाएर बिजुली जोड्न सकेका छैनन् ।
मायादेवीकै पकडीस्थित छत्रपाली तीर्थादेवी माविमा कक्षा ८ मा अध्ययरत १७ वर्षीय रवि नेटुवाले फार्मेसी पढ्ने इच्छा भएको सुनाए । ‘हाम्रो पुर्ख्यौली पेसा राम्रो छैन,’ उनले भने, ‘अब युवाजति मिलेर नयाँ सोचविचारले अघि बढ्नु पर्छ ।’ आफूलाई कसैले खिसीट्युरी र गिज्याउने नगरे पनि आममान्छेको बुझाइ गलत भएको बताए । यशोधरा–१, तिर्तिखाका १७ वर्षीय आशिष नेटुवा कक्षा ८ मा पढ्छन् । उनले सरकारी जागिरमा आफ्नो रुचि भएको बताए ।
‘हाम्रो समुदायको सरकारी जागिरे कोही छैनन्,’ उनले भने, ‘म कक्षा १२ पास गरेर जसरी पनि जागिरे बन्छु ।’ राज्यले प्रदान गर्ने आधारभूत अवसरबाट वञ्चित नेटुवालाई मधेसी दलितभित्र सूचीकृत गरिएको छ । पहिचान र परम्परा भएर पनि नेटुवा समुदाय आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा पछाडि छ । जातीय विभेद र छुवाछुतको विभेदले गालेको छ । यसका लागि आवाज उठाउन उनीहरूले नेटुवा विकास केन्द्र स्थापना गरेका छन् ।
