अपराध नियन्त्रणका लागि भन्दै काठमाडौं प्रहरीले तयार गरेको सूचीमा गुन्डागर्दीमा संलग्न मात्र १७९ जना
काठमाडौँ — काठमाडौं प्रहरीले पटक–पटक अपराधमा संलग्न १ हजार ९७ जनाको अपराध शैलीसहितको ‘क्रिमिनल प्रोफाइल’ तयार पारेको छ । अपराध नियन्त्रणका लागि ‘प्रोएक्टिभ पुलिसिङ’ गर्ने भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले सूची तयार पारेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार सूचीमा पटक–पटक जघन्य अपराध र गुन्डागर्दीमा संलग्नदेखि चोरीका पटके अभियुक्तसम्म छन् । त्यसमा गुन्डागर्दीमा संलग्न मात्र १ सय ७९ जना छन् । ‘कतिपयको नाम, पृष्ठभूमिसहितको विवरण अझै थपिँदै जान्छ,’ थापाले भने ।
विगतमा राजनीतिक दलकै संरक्षणमा गुन्डागर्दी मौलाएको थियो । ठेक्कापट्टा, लेनदेनलगायत विवाद मिलाइदिने भन्दै उनीहरू नागरिकलाई डर देखाउने, धम्क्याउने गर्थे । २०७० को दशकमा आक्रामक कारबाही थाल्नुका साथै ठेक्कापट्टाको डिजिटाइजेसन र बैंकिङ कसुरको मुद्दा प्रहरीले हेर्न थालेपछि उनीहरूको प्रभाव बिस्तारै कमजोर हुँदै गएको थियो ।
२०७० को दशकमा आक्रामक कारबाही थाल्नुका साथै ठेक्कापट्टाको डिजिटाइजेसन र बैंकिङ कसुरको मुद्दा प्रहरीले हेर्न थालेपछि उनीहरूको प्रभाव बिस्तारै कमजोर हुँदै गएको थियो कतिपय भने परम्परागत शैली छाडेर आफैं राजनीतितिर प्रवेश गरेका थिए । प्रहरीले त्यस्ता केही पुराना अभियुक्तलाई समेत आफ्नो सूचीमा राखेको एक प्रहरी अधिकृतले जानकारी दिए । उनका अनुसार चक्रे मिलनलाई समेत सूचीमा राखिएको छ । उनी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट गोरखा–२ मा उम्मेदवार बनेका थिए । तर, पराजित भए । टिकटकमार्फत आतंक फैलिने भिडियोहरू राखेको आरोपमा प्रहरीले उनलाई १५ साउन ०८२ मा समेत पक्राउ गरेको थियो । पछि उनी धरौटीमा छुटेका थिए ।
काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार विगतमा जस्तो हतियार देखाएर हिँड्दै त्रास फैलाउने प्रवृत्ति कम भए पनि कतिपयले फरक शैलीबाट नागरिकमा त्रास फैलाइरहेका छन् । ती व्यक्तिको पहिचान गरेर सूची तयार पारिएको छ । सूचीमा काठमाडौं प्रहरीसँग मातहतका सबै प्रहरी वृत्त र प्रभागबाट संकलित विवरणसमेत राखिएको ती प्रहरी अधिकृतले जानकारी दिए ।
‘अहिले गुन्डागर्दी मात्र नभई अरू अपराधमा संलग्नलाई समेत समेटेर सूची बनाएका हौं, यसले भोलि कुनै अपराध भइहाले अनुसन्धानका लागि सहयोग गर्ने अपेक्षा लिएका छौं,’ काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईले भने, ‘अपराध शैलीका आधारमा समेत कतिपय घटनामा अनुसन्धान गर्न सहज हुने भएकाले संस्थागत ‘मेमोरी’ मा राख्नसमेत यो सूची तयार गरिएको हो ।’
लागूऔषध कारोबार/तस्करी, चोरी, लुटपाट, जुवाडे, ठगी, हातहतियार तस्करीमा संलग्नदेखि सार्वजनिक सेवामा बिचौलियाको काम गर्ने र आपराधिक उपद्रव गर्नेहरूको बेग्लाबेग्लै नामावली रहेको काठमाडौं प्रहरी प्रमुख थापा बताउँछन् । ‘मोटरसाइकल–स्कुटर र अरू सामान चोर्नेको बेग्लै विवरण छ, उनीहरूको अपराध गर्ने शैलीको विवरणसमेत राखेका छौं,’ उनले भने, ‘यसले कुनै दिन सवारी साधन वा अरू कुनै चिज चोरी भयो भने त्यसको शैली हेरेरसमेत अपराधमा संलग्नको संकेत पाउन सकिन्छ ।’
प्रहरीले सरकारी नीतिको विरोध गर्नेको सूचीसमेत तयार पारेको छ । त्यसमा चुनावका बेला विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेकादेखि परराष्ट्र मामिलासँग सम्बन्धित विषयमा विरोध जनाउनेहरूको नामावलीसमेत छ । ‘उदाहरणका लागि चीनबाट उच्चस्तरीय भ्रमण हुँदा सधैं एउटा समूहले विरोध प्रदर्शन गरिरहेको हुन्छ, भारत वा अमेरिकाबाट भ्रमण हुँदा विरोध गर्ने पनि अर्को समूह हुन्छ, उनीहरूको सूची राखिएको हो,’ काठमाडौं प्रहरीका अर्का एक अधिकृतले भने, ‘यसले भोलि कुनै पनि समयमा प्रहरीलाई सुरक्षाका लागि सहयोग पुर्याउँछ ।’
काठमाडौंमा प्रहरीले ०७० सालयतासमेत पटक–पटक गुन्डागर्दीमा संलग्नको सूची बनाउँदै आएको थियो । ०७४ सालमा प्रहरीले बनाएको एउटा सूचीमा काठमाडौंमा १ सय ३२ गुन्डा सक्रिय रहेको औंल्याउँदै तीन श्रेणीमा विभाजन गरेको थियो । त्यस बेला प्रहरीले ‘क’ श्रेणीमा १४, ‘ख’ मा ३२ र ‘ग’ मा ४७ जनालाई राखेको थियो । थप १५ जनाको श्रेणी खुल्न नसकेको भनिएको थियो । त्यस बेला ‘क’ श्रेणीमा काभ्रेका दावा लामा, गणेश लामा, राजु गोर्खालीदेखि दीपक मनाङ्गे (राजीव गुरुङ) सम्म थिए । लामाद्वय र मनाङ्गे अहिले राजनीतिमा सक्रिय छन् ।
प्रहरी अधिकृतका अनुसार गुन्डागर्दी भएको भन्दै प्रहरीमा विरलै उजुरी आउने गर्छ । तर अनौपचारिक कुराकानीमा उनीहरूबाट हैरानी पाइरहेको गुनासो व्यापक छ । ‘कुनै अवैध काम संरक्षणका लागि समेत गुन्डागर्दी भएका छन्, बारम्बार त्यस्तो गतिविधि गर्नेहरूसमेत उजुरी नआउँदा कारबाहीको दायरामा आउन सकेका छैनन्,’ काठमाडौं प्रहरीका एसपी भट्टराईले भने, ‘त्यस्तोमा बारम्बार आउने नामका विवरणसमेत तयार गरिएको छ । यसले प्रहरीलाई दीर्घकालसम्म अपराध रोकथाम र अनुसन्धानमा सहयोग गर्छ ।’
काठमाडौं प्रहरीका पूर्वप्रमुखसमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदी विगतमा समेत गुन्डागर्दीमा संलग्नको सूची बन्ने गरेको स्मरण गर्दै त्यसले अपराधमा संलग्नलाई मनोवैज्ञानिक त्राससमेत दिने बताउँछन् । ‘मेरो बुझाइमा त्यस्ता व्यक्तिलाई सिधै निगरानी गरेर अपराधको आधारमा जेल पठाउन सकियो भने अझ राम्रो हुन सक्छ,’ उनी भन्छन्, ‘नभए अहिलेको समयमा गुन्डागर्दीमा संलग्नहरू पनि फेरिइसकेका छन्, पुरानो शैलीले काम नगर्न सक्छ ।’ विगतमा हातहतियार, लामो कपाल र अजंगको शरीर बनाएर हिँड्ने गुन्डागर्दीमा संलग्नहरू अहिले टाइसुटमा हिँड्न थालिसकेको भन्दै फरक तरिकाले सोच्नुपर्ने उनको राय छ ।
प्रहरीका कतिपय बहालवाला अधिकृतहरूसमेत अपराध नियन्त्रणकै लागि ‘प्रोफाइल’ तयार गरिएको हो भने त्यसलाई गोप्य राख्नुपर्ने बताउँछन् । ‘अपराधमा संलग्नलाई तर्साउनका यसअघि धेरै पटक यस्ता काम भइसकेका छन्, साँच्चै नियन्त्रण गर्ने हो भने प्रहरी एक्सनमै उत्रिनुपर्छ,’ नेपाल प्रहरीका एक एसएसपीले भने, ‘त्यो कारबाही पनि बलियो कानुनी आधारमा टेकेर हुनुपर्छ, ताकि उनीहरू तुरुन्तै अदालतबाट नछुटून् ।’
नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी उस्तै मत राख्छन् । ‘तर्साउने रणनीतिका लागि ठिकै पनि होला, तर कारबाही प्रक्रियामा लैजाने उद्देश्य हो भने होहल्ला गर्नुभन्दा सिधै कारबाही गर्दा नै उपयुक्त हुन्छ,’ उनले भने, ‘नभए नाम सार्वजनिक हुँदा उल्टै सामान्य आरोपितको झन् ब्रान्डिङ हुन्छ ।’
उदाहरणका लागि प्रहरी गुन्डागर्दीमा संलग्न भन्दै पक्राउ गरेका किमजोङ बोसलाई लिन सकिने उनले बताए । ‘धेरैले उनलाई चिनेकै थिएनन्, सानोतिनो गतिविधि गरिरहेका थिए होलान्,’ मल्लले भने, ‘तर, प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेपछि उनलाई साराले चिने ।’ प्रहरीले उनलाई २१ चैतमा पक्राउ गरे पनि केही दिनपछि उनी छुटेका थिए ।
