मोरङ ग्रामथान–२ को शान्त देखिने सरदार बस्तीमा उच्च रक्तचाप र पक्षघातका बिरामीले दर्जनौं परिवार प्रभावित छन् । बस्तीमा ओछ्यानमा थलिएका र लौरोको सहारामा घिस्रिरहेकाको संख्या ५० बढी छ। बस्ती नै अहिले ‘प्यारालाइसिस’को चपेटामा छ ।
What you should know
विराटनगर — कोशी प्रदेश राजधानी विराटनगरबाट नजिकै मोरङ ग्रामथान–२ झोराहाट बजार छ । उक्त वडाको पक्की बाटो छिचोलेपछि थारु बहुल सरदार बस्ती पुगिन्छ । आकर्षक देखिने उक्त बस्तीका बासिन्दासित पीडा मात्र छ ।
यहाँका ५८ वर्षीय जुरिलाल सरदारलाई ओहोरदोहोर गर्न लौरो नभई हुँदैन । ठमठमी हिँड्ने रहर त छ, तर सक्दैनन् । केही वर्षअघिसम्म उनी काठ मिस्त्री थिए । काठका सामान बनाउन सिपालु थिए । दिनभर औजारसँग खेलेर साँझ घर फर्किन्थे । जिन्दगी बिन्दास चलिरहेको थियो । परिवारमा हाँसखेल भइरहन्थ्यो ।
पाँच वर्षअघि उनले जीवनमा नसोचेको सहनु पर्यो । काम गरिरहेकै बेला अचानक छातीको देब्रे भाग गहुँगो भारीले थिचेजस्तो महशुष भयो । एक्कासी रिंगटा लागेर भूँइमा पछारिए । सहकर्मीले तत्काल नजिकैको औषधि पसलसम्म पुर्याए । त्यहाँबाट अस्पताल रिफर गरियो । ‘चाँडै अस्पताल पुग्नाले धन्न ज्यान बच्यो,’ जुरीलालले भने, ‘शरीरको दायाँ पाटो नचल्ने भयो ।’
सामान्य जीवनशैली बिताइरहेका उनले रक्तचाप बढेकोबारे ख्याल गरेनन् । त्यहीँबेला उच्च रक्तचापले ‘एट्याक’ गरेपछि उनको जीवन नै बद्लियो । सीप र इच्छाशक्ति हुँदाहुँदै पनि काम गर्न शरीरले साथ दिएन । काम गर्न नपाउँदाको पीडा अनुहारमा झल्किन्छ ।
स्थानीय ६४ वर्षीय नेपनलाल सरदार १८ वर्षदेखि पक्षघातसित जुँधिरहेका छन् । उनको पनि शरीरको देब्रे भाग चल्दैन । जसले गर्दा उनी पनि अरूको सहारामा बाँच्न बाध्य छन् । गत वर्षसम्म अलिअलि हिँडडुल गर्थे । यसपालीदेखि ओछ्यानमै थलिएका छन् । ‘तीन–तीन महिनामा ८ हजार रुपैयाँ सामाजिक भत्ता आउँछ,’ उनले भने, ‘त्यहीँ पैसाले उपचार र दानापानी खाइरहेको छु ।’
जुरिलाल सरदार, ५८ (दायाँ) र नेपनलाल सरदार, ६४ । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर
उनका अनुसार तीन महिनाअघि स्थानीय रसिलाल सरदारले उच्च रक्तचापकै कारण ज्यान गुमाए । अघिल्लो दिनसम्म नेपनलालले रसिलालसित हाँसीमजाक गरेका थिए । ‘तर, भोलिपल्ट उसको मृत्यु भएको खबर पत्यारै लागेन,’ उनले भने, ‘रसिलालले त अस्पतालसम्म पनि देख्न नपाएरै कहिल्यै नउठ्ने गरी ढले ।’ पूर्वगाविस अध्यक्ष नरेन्द्र सरदारको मृत्युको कारण पनि उच्च रक्तचाप रहेको स्थानीय सुनाउँछन् ।
नरेन्द्र बितेको ५ वर्षपछि छोरा उमेशले पनि त्यहीँ दुःख भोग्नु पर्यो । ‘धन्न उनको ज्यान चाहीँ बाँच्यो,’ नेपनलालले भने, ‘सुरुमा उपचार गर्न भारतको खरैया पुगे, त्यहाँ निको नभएपछि विराटनगरको एक अस्पताल गए । विराटनगरमा उपचार गरेपछि अहिले धेरै राम्रो भएको छ ।’
डिगना सरदार, ७० । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर
यहाँका ७० वर्षीय डिगना सरदार पनि लौरोको सहारामा जीवन बिताइरहेका छन् । पहिले डिगना दम्पत्तीले बस्तीमै चिया–नास्ता पसल चलाएर जिविका चलाइरहेका थिए । एकदिन डिगना ग्राहकलाई चिया दिँदादिँदै ढले । ‘त्यसपछि जीवनमा कालो बादल मडारिन थाल्यो,' श्रीमती रेखादेवीले भनिन्, ‘चिया पसलबाट गुजारा चल्थ्यो, बिरामी भएपछि पसल बन्द गर्र्यौं, अहिले हामी बेरोजगार छौं ।’
उनका छिमेकी ८२ वर्षीय दुखाई सरदार लौरोको भर परेको ४ वर्ष भयो । खेती किसानी गरेर जिविका चलाइरहेका थिए । अहिले खेतीपाती गर्न पनि सकेका छैनन् । ‘बिहान–बेलुकी लाठी टेकेर हिँड्छु’, दुखाई भन्छन्,‘छोरा बुहारीले पकाएर ख्वाउँछन् ।’
स्थानीय ५३ वर्षका मेनुलाल सरदार यहाँ कहलिएका टायल/मार्बलका अब्बल मिस्त्री थिए । अहिले काम गरेका पुराना दिन सम्झिँदै घरमै दिन कटाइरहेका छन् । तीन वर्षअघि काठमाडौंको एक घरमा मार्बल बिछ्याउँदा–बिछ्याउँदै उनी ढलेका थिए । घरधनीले चाँडै अस्पताल पुर्याएकाले ज्यान जोगियो । त्यसपछि शरीरको देब्रे पाटो चल्दैन । ‘श्रीमान्को उपचारमा १२ लाख जति खर्च भयो’, ग्रामथान–२ की दलित महिला सदस्य पारो देवीले सुनाइन्,‘त्यतिखेर उपचारका लागि लिएको ऋण तिर्न सकेको छैन ।’
पारोका अनुसार एक वर्ष अघिसम्म श्रीमान्को आवाज पनि रोकिएको थियो । तर, आयुर्वेदिक औषधि सेवनपछि बोली फुट्यो । ‘अहिले मज्जाले बोल्न सक्नुहुन्छ तर हिँड्न चाहीँ साहारा चाहिन्छ’, उनले भनिन् । समस्या हुनु भन्दाअघि आफू मादक पदार्थको अम्मली रहेको मेनुलालले बताए । ‘दिनकै चार–पाँच बोतल बियर पिउँथे,’ उनले भने, ‘मासु पनि मज्जाले खान्थे ।’
मेनुलालकी काकी ७० वर्षीया पुदनीदेवीले पनि यस्तै समस्या भोगिरहेकी छन् । १० वर्षदेखि उनी ओछ्यानमै छन् । गाउँभरि पक्षघातका बिरामी भए पनि यहाँ उपचारका लागि सुविधायुक्त स्वास्थ्य संस्था छैन । विशेषज्ञ चिकित्सा सेवा लिनु पर्यो भने उपचारका लागि विराटनगर धाउनु पर्छ । परीक्षण तथा नियन्त्रण नहुँदा खाद्य पदार्थमा विषादी, अखाद्य वस्तु र मिसावटयुक्त पदार्थको प्रयोग भइरहेको छ । जसका कारण मानव स्वास्थ्यमा यस्ता किसिमका स्वास्थ्य समस्या देखिएको हुन सक्ने ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले जनाइन् ।
पक्षघातका बिरामीहरु उमेशकुमार सरदार र मंगल सरदार (बसेका) । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर
सरदार बस्तीलाई स्थानीय ‘वतराइ टोल’ भन्ने गरेका छन् । करिब ३ सय घरधुरी र १ हजार १ सय जनसंख्या रहेको बस्ती बाहिरबाट हेर्दा जति शान्त देखिन्छ, त्यति नै यहाँका बासिन्दा उपचार नपाएर उकुसमुकस छन् । कालोपत्र सडक र पक्की मन्दिरले गाउँमा विकास पुगेको भान हुन्छ । तर, सडकका दायाँ–बायाँ लहरै उभिएका फुसका झुपडीभित्र छिर्ने हो भने कहालीलाग्दो दृश्य देखिन्छ ।
ओछ्यानमा थलिएका मान्छे र लौरोको सहारामा घिस्रिरहेका बृद्धबृद्धा भेटिन्छन् । बस्ती नै अहिले ‘प्यारालाइसिस’ (पक्षघात) को चपेटामा छ । बस्तीको कुल जनसंख्याको करिब ५ प्रतिशत अर्थात् ५० जना भन्दा बढी व्यक्ति प्यारालाइसिसका कारण थलिएका छन् । वडा कार्यालय र पालिकाको स्वास्थ्य शाखासँग भने बिरामीको यकिन तथ्यांक छैन ।
युवा पनि पीडित
बस्तीमा यस्तो समस्या बृद्धबृद्धामा मात्र सीमित छैन । ४० वर्ष आसपासका युवामा समेत उच्च रक्तचाप र त्यसबाट हुने पक्षघातको जोखिम बढ्दो छ । यहाँका मैलु, सुरेश, जगुवा र रामप्रसाद सरदारजस्ता युवा केही महिनायता थलिएका छन् । स्थानीय टीकाप्रसाद खतिवडाका अनुसार अस्वस्थकर खानपिनका कारण युवामा समेत उक्त रत्तचापका कारण हुने पक्षघातको जोखिम बढ्दो छ ।
यहाँका ४६ वर्षीय रामकुमार सरदारलाई २८ वर्षकै उमेरमा उक्त रत्तचापले शिकार बनाएको थियो । साइकल मर्मत गरेर जीविका चलाइरहेका थिए । बिग्रेको साइकल मर्मत गर्दागर्दै १८ वर्षअघि ढले । ‘ज्यान त बच्यो तर सिंगो शरीर निष्क्रिय बन्यो,’ उनले भने, ‘दाताले दिएको ट्राइसाइकलमा हिँडडुल गर्छु ।’ त्यसैमा बसेर साइकल मर्मत गर्छन् । दिनमा २/३ सय कमाइ गरेर परिवारलाई दाल–भात पुर्याइरहेको उनले बताए ।
पूर्वप्रधानपञ्च मोहनलाल सरदार झट्ट हेर्दा ८० वर्षका जस्तो देखिँदैनन् । गाउँका सबैभन्दा पाका व्यक्ति हुन् । स्वस्थकर खानपिन र जीवनशैलीका कारण आफू निरोगी भएको उनले बताए । ‘गाउँका अरु मान्छेहरु जस्तो म स्वास्थ्यलाई नोक्सान पुग्ने चिज खान्न,’ मोहनलाल भन्छन्,‘स्वास्थ्यप्रति म सचेत छु ।’ रोगले थलिएका अधिकांशको जीवनशैली अस्तव्यस्त छ । दिनभर ज्याला मजदुरी गर्छन् । साँझ मदिरा र चुरोट सेवन गर्ने बानी छ । कुखुरा, सुंगुरका आन्द्रा भुँडी खान्छन् । ‘यस्ता कुरा शरीरकालागि स्वस्थकर मानिन्न,’ मोहनलालले भने, ‘रक्सी–चुरोटको लतमा भएकाहरु धेरै बिरामी छन् ।’
झोराहाटमा क्लिनिक सञ्चालन गरिरहेका स्वास्थ्यकर्मी बद्री चौधरी पनि यिनै कुरा औंल्याउँछन् । अस्वस्थकर खानपिन, विशेषगरी अत्यधिक मासुसेवन, र अनियमित जीवनशैलीका कारण युवामा पनि समस्या बढेको उनले बताए । ‘सचेतनाको अभाव मुख्य कारण हो,’ उनी भन्छन्, ‘रोग चर्किएपछि मात्रै उपचार खोज्ने प्रवृत्ति छ, त्यतिबेला ढिला भइसकेको हुन्छ ।’
सरदार समुदायका अधिकांश विपन्न र अशिक्षित छन् । नियमित स्वास्थ्य जाँच र औषधि सेवनको पहुँच छैन । कोशी प्रादेशिक अस्पताल विराटनगरमा कार्यरत अहेब विमल सरदारका अनुसार धेरैजसो बिरामीले रोग पत्ता लागेपछि पनि औषधि नियमित लिँदैनन् । बरु लापरवाही गरिदिन्छन् । ‘समयमै उपचार नगर्दा समस्या जटिल बनेको हो’, उनी भन्छन्,‘रोग सुरु हुँदै उपचारमा लापरवाही गर्छन्, छिप्पिएपछि समस्या हुन्छ ।’
नेपाल सरदार/बाँतर कल्याणकारी समितिका अनुसार २०७८ को जनगणनामा यो समुदायको जनसंख्या करिब साढे दुई लाख हाराहारी छ । मधेशी दलित सूचीमा सूचीकृत उनीहरू झापादेखि मकवानपुरसम्म छरिएका छन् । अधिकांश मजदुरीमा निर्भर छन् र जीवनस्तर निकै कमजोर छ ।
‘सस्तो उपचार’का लागि भारत
यहाँका बासिन्दालाई पालिकामा रहेको स्वास्थ्य चौकीमा के–के औषधि निःशुल्क उपलब्ध हुन्छन् भन्ने जानकारी छैन । तर, छिमेकी भारतको बिहार मानिकपुर खरैयास्थित ‘राजेन्द्रप्रसाद यादव निःशुल्क उपचार केन्द्र’ को नाम उनीहरुको मुखमुखमा छ । यहाँका बिरामीको उपचार गन्तव्य खरैया बनेको छ ।
स्थानीय सस्तो उपचारको खोजीमा खरैया अस्पताल पुग्ने गरेको बताउँछन् । तर, कुनै वैज्ञानिक परीक्षण बिनै इन्जेक्सनमार्फत उपचार गरिन्छ । ‘न राम्रो गरी जाँच हुन्छ, न ल्याब टेस्ट,’ ग्रामथानका स्वास्थ्य शाखा संयोजक राजकुमार झाले भने,‘तर विश्वास गरेर मानिस गइरहेका छन् ।’
भारतको बिहार मानिकपुर खरैयास्थित ‘राजेन्द्रप्रसाद यादव निःशुल्क उपचार केन्द्र’ । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर
चिकित्सकका अनुसार त्यहाँको उपचारले बिरामी जटिल बनाउने खतरा छ । ‘ओभरडोज औषधिका कारण धेरैको मृत्यु भइरहेको छ,’ संयोजक झाले भने, ‘त्यहाँबाट फर्किएर आएपछि अपवादबाहेक सबैको मृत्यु हुने गरेको छ ।’ उनका अनुसार सूइमार्फत कडा एन्टिबायोटिक दिएपछि बिरामीलाई केही क्षण राहत हुन्छ । तर, त्यो दीर्घकालीन घातक पनि हुन्छ । विराटनगरका पारुल क्षेत्रीका अनुसार औषधिले असर गर्न छाडेपछि समस्या गम्भीर हुने गर्छ । उनका अनुसार खरैयामा उपचार गराएर फर्किएका दुई छिमेकीको केही समयअघि मृत्यु भएको थियो ।
विराटनगरबाट करिब दुई घन्टाको यात्रा तय गरेपछि खरैया अस्पताल पुगिन्छ । सुनसरीको देवानगञ्ज गाउँपालिकाको सीमावर्ती स्थानमा रहेको उपचार केन्द्रमा नेपालीको भीड लाग्ने गरेको छ । झापा, मोरङ र सुनसरीका दक्षिण भेगका सर्वसाधारण मात्रै हैन मधेश प्रदेशबाट समेत उपचारका लागि त्यहाँ पुग्छन् ।
सन् १९९५ मा राजेन्द्रप्रसाद यादवले खरैयामा निःशुल्क उपचार सेवा सुरु गरेका थिए । यादवले चिकित्सा सम्बन्धी विषय अध्ययन नगरेको स्थानीय बताउँछन् । रोगको पहिचान नगरी अनुभवका आधारमा उपचार गरिने खरैयाका बासिन्दाले बताए । सिरहाको मिर्चैयाबाट प्यारालाइसिस भएका श्रीमान्को उपचारका लागि यहाँ आएकी सुनितादेवी सिंहले भनिन्,‘यहाँ उपचार सस्तो र राम्रो हुन्छ भन्ने सुनेर आएकी हुँ ।’
खरैया ‘अस्पताल’ परिसरमा भेटिएकी मोरङको उर्लाबारीकी एक महिला आफ्नी प्यारालाइसिसबाट थलिएकी सासुका लागि औषधि किन्न आएकी थिइन् । ‘यहाँको औषधि खान थालेपछि बिरामीले बोल्न थाल्नुभएको छ,’ उनले भनिन् ।
निःशुल्क उपचारका नाममा वर्षौंदेखि सीमावर्ती क्षेत्रका सर्वसाधारण यस स्वास्थ्य केन्द्रको शिकार भइरहेका छन् । ‘नेपालमा रोग पहिचान गरेर उपचार हुन्छ, तर त्यहाँ परीक्षणबिनै उपचार गरिन्छ,’ अहेब विमल सरदार भन्छन्, ‘यसले निको हुनेभन्दा थप जटिल बनाउने जोखिम हुन्छ ।’
करिब ३५ वर्षअघि राजेन्द्र प्रसादले सुरु गरेको उपचार केन्द्रलाई अहिले उनका भतिज अशोक र नाति नितिशले सञ्चालन गरिरहेका छन् । संस्थापक यादवको चार वर्षअघि मृत्यु भइसकेको छ । उनको शेषपछि छोरा र नाति पुस्ताले निरन्तरता दिइरहेको स्थानीय विरेन्द्र मण्डलले जनाए । ‘अनुहार हेरेर दवाइ दिन्छ’, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक झाले भने,‘कपडा माथिबाटै इन्जेक्सन लगाइदिन्छ ।’
‘सावधानी नअपनाउँदा जोखिम’
गाउँपालिकाले तीन वर्षदेखि नसर्ने रोगहरु उच्च रक्तचाप, मधुमेह, मिर्गौला सम्बन्धी शिविर सञ्चालन गरिरहेको छ । तर, शिविरले यहाँको समस्या समाधान गर्न सकेको छैन । गत वर्षको शिविरमा जँचाएका बस्तीका अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको थियो ।
खरैयास्थित ‘राजेन्द्रप्रसाद यादव निःशुल्क उपचार केन्द्र’ को प्रेस्किप्सन । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर
उच्च रक्तचापलाई सामान्य सम्झनु नै सबैभन्दा ठूलो गल्ती भइरहेको न्यूरो विशेषज्ञ डा. सुनन्द पौडेलले बताए । ‘अस्वस्थकर खानपान, तनाव र शारीरिक निष्क्रियताले रक्तचाप बढाउँछ’, पौडेल भन्छन्,‘यसलाई नियन्त्रण नगर्दा मस्तिष्कमा रगत जम्ने वा नसा फुट्ने भएर प्यारालाइसिस हुन्छ ।’
चिकित्सक पौडेलका अनुसार सन्तुलित खानपान, नियमित व्यायाम र चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्ने हो भने ९० प्रतिशत जोखमि घटाउन सकिन्छ । सन्तुलित खानपिन, रक्सी–चुरोटको त्याग, समयमै उपचार र औषधि सेवन गर्न सके यो जोखिम कम हुने पौडेलको भनाई छ । ‘यी सामान्य उपाय अपनाउन सके मात्रै पनि ठूलो जोखिम घटाउन सकिन्छ’, उनले भने ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक झाका अनुसार गत वर्ष पालिकाभरि ५ सय २ जनाको स्वास्थ्य परीक्षण गरी जटिल रोग भएकाहरुलाई थप उपचारका लागि विराटनगरस्थित अस्पताल पठाइएको थियो । पालिकामा ५ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र १ र स्वास्थ्य केन्द्र ५ छन् ।
पक्षघात पीडित मेनुलाल सरदार । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर
ग्रामथान–२ मा स्वास्थ्य केन्द्र भए पनि बिरामी पुग्दैनन् । केही समयअघि गरिएको शिविरमा अधिकांशलाई उच्च रक्तचाप र मधुमेह देखिएको थियो । तर, त्यसपछि उनीहरुले नियमित औषधि सेवन नगरेका कारण जोखिम बढेको हो । वडाका धेरैलाई निःशुल्क औषधि पाइन्छ भन्ने पनि थाहा छैन । जब गम्भीर समस्या हुन्छ तव मात्रै अस्पताल जाने गरिन्छ ।
स्वास्थ्य चौकीबाट ४०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ बिमाबाट ९७ प्रकारका औषधि निःशुल्क वितरण हुन्छ । खासगरी मधुमेह, उच्च रक्तचाप, क्षयरोगलगायतका औषधि निःशुल्क पाइन्छ । ‘हामीलाई त त्यसबारे थाहै छैन’, स्थानीय बुदुनी सरदारले भनिन्,‘थाहा पाए पो लिन जानु ।’
स्वास्थ्य संयोजक झाका अनुसार गत वर्ष भएको स्वास्थ्य शिविरमा सरदार बस्तीका अधिकांशमा उच्च रक्तचाप, मधुमेह, मृर्गौला सम्बन्धी रोग देखिएको थियो । चिकित्सकले धेरैलाई औषधि पनि दिएको थियो । केही गम्भीर विरामीलाई विराटनगर रेफर पनि गरियो । ‘नियमित औषधि नखाने, दवाई र दारुसँगै खाने प्रवृत्तिले समस्या थपिएको देखिन्छ’, झाले भने,‘नियमित औषधि खाने हो भने समस्या कम हुने थियो ।’ उनका अनुसार मूलतः खानपिन र सरसफाइको कमीले पनि समस्या थपिएको देखिन्छ । सँगै शारिरीक व्यायाम पनि छैन ।
प्रदेशमा १५ देखि ४९ वर्ष उमेर समूहमा नसर्ने रोगबाट हुने मृत्यु दर उल्लेखनीय रहेको काेशी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुटुरोग, कलेजोसम्बन्धी रोग र दीर्घ श्वासप्रश्वास रोगका कारण मृत्यु बढ्दो क्रममा छ । १५ देखि ४९ उमेर समूहमा मृत्युको दर ९ दशमलव ३ प्रतिशत छ । १५ देखि ४९ सम्म मस्तिष्कघातबाट २ दशमलव ५ प्रतिशत छ । सोही उमेर समूहमा दीर्घकालीन मृर्गौला रोगबाट हुने मृत्युको दर २ दशमलव ३, सोही समूहमा मधुमेहबाट हुने मृत्युको दर १ दशमलव ६, दीर्घ स्वासप्रश्वासबाट हुने मृत्युको दर १ दशमलव ९ प्रतिशत छ । उच्च रक्तचाप २४ दशमलव ५ प्रतिशत बयस्कमा देखिनु चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
