सर्वोच्च अदालतको फैसलापछि शनिबार खड्का निवासमा बसेको असन्तुष्ट पक्षधर नेताहरुबीच विभिन्न विकल्पमा भएको छलफलमा एउटा विकल्प पार्टी एकताका लागि महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजिएको हो ।
काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरुले १५ औं महाधिवेशन निष्पक्ष, स्वतन्त्र रुपमा हुने सुनिश्चितता खोजेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि शनिबार खड्का निवासमा बसेको असन्तुष्ट पक्षधर नेताहरुबीच विभिन्न विकल्पमा भएको छलफलमा एउटा विकल्प पार्टी एकताका लागि महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजिएको हो ।
नेता प्रकाशशरण महतले १५ औं महाधिवेशन स्वतन्त्र, निष्पक्ष र सबैले स्वामित्व लिनेगरी कसरी बनाउन सकिन्छ भन्नेबारेमा ठोस प्रस्ताव आएमा एकता कायम गरेर जान सकिने बताए । ‘महाधिवशेनलाई निष्पक्ष र सबैको सम्मान र सहभागिता हुनेगरी अघि बढाउन चुनाव नलड्नेहरुको छुट्टै संयन्त्र बनाएर महाधिवेशन गराउने विकल्प मैले नै राखेको हुँ,’ महतले भने,‘साथीहरुले उता (संस्थापनपक्ष) बाट केही कुरा नआई हामीले यो हुनुपर्छ भनेर नभनौं भन्ने कुरा भएको छ । तर, सबैको मनस्थिति पार्टी एकता गराएरै लैजानुपर्छ भन्नेमा छ ।’
पूर्व पदाधिकारीहरुमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका केही नेताहरुले भने विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गरेर जान नसकिने बताएका छन् । निधिले विशेष महाधिवेशनमा आफैले स्वघोषणा गरेको केन्द्रीय कार्यसमितिलाई नमान्ने बताएका थिए ।
सिटौला र सिंहको भनाइ पनि त्यस्तै रहेको थियो । सम्मानजनक एकताको पहल नभएमा छुट्टै पार्टी निर्माण गर्ने दिशामा समेत नेताहरु छलफल भएका सहभागी एक पूर्वपदाधिकारीले बताए । ‘विभिन्न विकल्पमा कुराकानी गर्दै त्यस्तो धारणाहरु आए पनि छुट्टै पार्टी बनाउनुपर्छ भन्ने पक्षमा हामी छैनौं, कम्युनिस्टहरु एकताको पहल भइरहेका बेला कांग्रेस विभाजित भएर थप क्षति पुर्याउन हुन्न भन्ने पक्षमा छौं,’ ती पदाधिकारीले भने,‘तर संस्थापनपक्षले हामी जितेर आएका हौं भन्ने हिसाबले कसैको अस्तित्व नै स्वीकार नगर्ने पक्षमा अघि बढेको खण्डमा भने त्यो विकल्पमा पनि जानसक्ने स्थिति छ ।’
अदालतको फैसलापछि आफ्ना पक्षमा रहेका पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुको सुझाव लिन भन्दै आइतबार १२ बजे पुनः बैठक बोलाएका छन् । सबैको कुराकानी सुनेर अगाडि कसरी बढ्ने भन्नेबारेमा साझा धारणा बनाउन १४ औं महाधिवेशन पक्षधर नेताहरुको बैठक बोलाइएको महतले बताए ।
