सर्वोच्चको फैसला कसैका लागि पनि हारजितको विषय हुनु हुँदैन : पौडेल 

सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै शुक्रबार मान्यता दिएपछि महामन्त्री पौडेलले उक्त प्रतिक्रिया जनाएका हुन् ।

वैशाख ४, २०८३

कान्तिपुर संवाददाता

Supreme Court's decision should not be a matter of victory or defeat for anyone: Poudel

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला कसैका लागि पनि हारजितको विषय हुन नहुने बताएका छन् । 

सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै शुक्रबार मान्यता दिएपछि महामन्त्री पौडेलले उक्त प्रतिक्रिया जनाएका हुन् । 'नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला स्वीकार गर्दछौं । यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन,' उनले भनेका छन्, 'एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।'

उनले गोलबद्ध हुन पनि पार्टीपंक्तिलाई अपिल गरेका छन् । उनले भने, 'अब सबैलाई सुरक्षित आभास हुने गरी सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा  हार्दिक अपिल गर्दछु ।'

कान्तिपुर

Link copied successfully