५ हजार मिटर उचाइमा आयोजना हुने गोक्यो क्लाइमेट समिटमा हिमाली वातावरणका समस्या, हिमनदी पग्लिने अवस्था र दिगो पर्यटनबारे विज्ञ, सांसदसहित ३१ जनाको टोली सहभागी छ ।
सोलुखुम्बु — सोलुखुम्बुको गोक्यो क्षेत्रमा गोक्यो क्लाइमेट समिट-२०२६ का लागि विज्ञ टोली खुम्बु क्षेत्र पुगेको छ ।
विश्व पृथ्वी दिवसको अवसर पारेर वैशाख ९ मा हुने सम्मेलनका लागि ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुग्नका लागि विभिन्न क्षेत्रका अगुवाको टोली खुम्बुबाट माथिल्लो क्षेत्र प्रस्थान गरेको हो ।
वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था साथसाथैको आयोजनामा हुने सम्मेलनमा जलवायु परिवर्तनका चुनौतीबारे छलफल हुनेछ । हिमाल र हिमाली क्षेत्रमा देखिँदै गएको जलवायु परिवर्तनको असर, हिमनदी पग्लिने अवस्था तथा स्थानीय जनजीवनमा परेको प्रभावका विषयमा अन्तरक्रिया पनि हुनेछ । यसका साथै, दिगो पर्यटन र वातावरण संरक्षणका विषयमा समेत बहस हुने साथसाथै संस्थाका सदस्य बालकृष्ण बस्नेतले बताए ।
यस सम्मेलनले हिमाल जोगाउने सन्देश फैलाउने, वातावरणप्रति जिम्मेवार बन्न प्रेरित गर्ने एवं आउने पुस्ताका लागि प्रकृति संरक्षण गर्ने लक्ष्य राखेको बस्नेतको भनाइ छ । सम्मेलनमा प्रतिनिधिसभाका सदस्य तथा पूर्व उपसभामुख इन्दिरा राना मगरसहित ३१ जना सहभागी रहेको आयोजक संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले बताइन् ।
कार्यक्रममा सहभागीले आ–आफ्नो क्षेत्रबाट जलवायु परिवर्तनका विषयमा विचार, अनुभव र समस्या समाधानका उपाय प्रस्तुत गर्नेछन् ।
