हिमाली पशुपालक किसानको माग : ‘महोत्सव होइन, चीनसँगको निर्यात खुलाऊ’

कोरोना महामारीपछि चीनले पशु आयात बन्द गरेपछि ताप्लेजुङका करिब १८० याकचौंरी किसानको आम्दानी, व्यवसाय र भविष्य अन्योलमा परेको छ ।

वैशाख ३, २०८३

आनन्द गौतम

Himalayan livestock farmers demand: 'Not a festival, open up exports to China'

What you should know

काठमाडौँ — ताप्लेजुङका हिमाली खर्कमा याकचौंरी किसान व्यस्त छन् । तर, चीनले पशु आयात रोकेपछि दशकौंदेखि चलिआएको सीमापार व्यापार ठप्प हुँदा हिमाली पशुपालक किसानमा संकट भित्रिएको छ ।

व्यापार खुलाउने माग चर्किंदै जाँदा किसानहरू महोत्सवभन्दा पनि चीनसँगको निर्यात पुनः सुरु गरिदिनुपर्ने दबाबमा छन् ।

फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामालाई पालिका बैठकमा सहभागीले चौंरी–याक महोत्सव गर्न सुझाव दिए । पालिकामा सहभागीको सुझावअनुसार उनले आफ्नो र आसपासका वडाका पशुपालक किसानसँग पनि परामर्श गरे ।

किसानको भने फरक मत थियो । महोत्सवभन्दा पनि चीनसँगको व्यापार खुलाउन पहल गरिदिन आग्रह गरे । निर्यात-आयात आफूहरूका लागि महत्वपूर्ण भएको उनीहरूको भनाइ थियो ।अझ किसानले त महोत्सवमा हुने खर्चले व्यापार खुलाउने परामर्श कार्यक्रममा गर्न पनि सल्लाह दिए । 

मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष ग्यान्जे शेर्पालाई पनि किसानको यस्तै दबाब छ । चौरी प्रवर्धन कार्यक्रमअन्तर्गत नस्ल सुधारका लागि बाहिर जिल्लाबाट चौंरी, याकका बाच्छाबाच्छी ल्याएर वितरण गर्दै आएका थिए । किसानले अहिले त्यसमा रुचि राखेका छैनन् । उनीहरुको एक मात्र माग चीनसँगको व्यापार खुलाउनुपर्‍यो भन्ने रहेको छ । 

Himalayan livestock farmers demand: 'Not a festival, open up exports to China'

‘हाम्रो हिमाली खर्क त दिनै, रातै, महिनैभरि र वर्षैभरि महोत्सवजस्तै छ,’ मिक्वाखोला-५ तोक्पेगोलाका नुपू शेर्पाले भने, ‘जतिबेला आए पनि खर्कभरि चौंरी-चौंरी छ, बिक्री गर्न पाएको छैन ।’ बाच्छाबाच्छी हुर्काउँदै गर्ने, बुढा हुँदै गएपछि बिक्री गर्ने र घर खर्च चलाउने प्रचलनमा क्रमभंग भएको उनको गुनासो छ । कोरोना संक्रमणपछि चीनले नेपालका चौंरी, याक खरिद नगर्दा हिमाली क्षेत्रका पशुपालक समस्यामा छन् । 

नुपूले २०७७ सालमा २० वटा याक चीनको तिब्बतस्थित डिङजे काउन्टीको घुम्तीमा बजारमा लगेर बेचेका थिए । त्यसबेला उनले एउटा याकको ९० हजारदेखि १ लाख १० हजारसम्म लिएका थिए । संखुवासभा थुदामको ओम्दोला नाका हुँदै उनीसहित पाँच किसानले याकको लर्को चीन पुर्‍याएका थिए । बिक्रीबाट नेपाली ५० लाख रुपैयाँ भित्र्याएको नुपू बताउँछन् । त्यसपछि चीन निर्यात ठप्प भयो ।

त्यसबेला चिनियाँ युआन १ रुपैयाँको नेपाली १६ रुपैयाँ हुन्थ्यो । अहिले १९ रुपैयाँ छ । नुपूका अनुसार बिक्री खोले उनी तत्काल ९५ वटा याकचौंरी बिक्री गर्न सक्छन् । सामान्यतया १५ देखि २० वर्षसम्म बाँच्ने याकचौंरी १२ वर्षदेखि बिक्री गर्ने प्रचलन रहेको थियो । पहिला भारी पनि बोकाउने चलन थियो । अहिले सडक विस्तार र खच्चडका कारण चौंरीलाई भारी बोकाउने क्रम घटेको छ । 

यस्तो समस्या नुपूजस्ता १ सय ८० भन्दा बढी किसानको छ । याकचौंरी कृषक महासंघमा उनीहरू आबद्ध छन् । चौंरी पालक संघको तथ्यांकअनुसार यी परिवारले कम्तीमा १० वटादेखि बढीमा तीन सयसम्म पाल्ने गरेका छन् । खर्कमा एकै परिवारको तीन-चार सय वस्तु रहेको ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाले बताए । ‘चौंरीको यता महोत्सव गर्‍यो, उता महोत्सव गर्‍यो भन्छ, हाम्रो खर्कमा चौंरी र याक मात्रै छ,’ छेतेनले भने । 

नेपालमा चौंरीको दूधबाट छुर्पी र घिउ बनाउने गरिएको छ । तर यसबाट मात्रै पशुपालन गर्न नसकिने किसानहरू बताउँछन् । पुस्तौं अघिदेखि बुढो हुँदै गएपछि बिक्री गर्ने र बाच्छाबाच्छी हुर्काउने प्रचलन रहेको ओलाङचुङगोलाका नुपू शेर्पाको भनाइ छ ।

चीनसँगको सीमावर्ती लेलेप, ओलाङचुङगोला, याङ्‌मा, तोक्पेगोला, पापुङ, साँवाका पशुपालकले आफ्ना जनप्रतिनिधिसँग यही सवाल उठाउने गरेका छन् । द्विदेशीय सीमा बैठकमा गएका तत्कालीन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई पनि किसानको समूहले नै यो विषय उठाइदिन आग्रह गरेका थिए ।

Himalayan livestock farmers demand: 'Not a festival, open up exports to China'

यस पटकको निर्वाचनमा उम्मेदवार बनेकालाई पनि भोट माग्ने क्रममा आग्रह गरेको पापुङका पेम्वाफुटी शेर्पा बताउँछिन् । २०८१ मंसिर २९ गते भएको ताप्लेजुङ र डिङजे काउन्टीका प्रमुखको बैठकमा शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले यो विषय उठाएका पनि थिए । तर चीनले ‘पशु चौपायाको विषयमा केन्द्रको निर्णय हुनुपर्छ हामी माथिल्लो निकायमा अनुरोध गर्छौं’ भन्ने जवाफ दिएको शर्मा स्मरण गर्छन् । सीमा बैठकको रिपोर्टिङ गर्दा गृह मन्त्रालयमा यो विषय पनि समावेश गरेको उनले जानकारी दिए । त्यसपछि सीमा बैठक भएको छैन । 

कोरोना संक्रमणदेखि पशु बिक्रीको राम्रो बजार गुमाएका नेपाली किसानले २०८१ जेठ ११ गते नेपालसँगका नाका खुल्दा आवतजावतसँगै सबै खुल्ने अपेक्षा गरेका थिए । चीनले किन पशु आयात नगरेको भन्ने बुझ्न नसकिएको ताप्लेजुङ प्रशासन र चीनको डिङजे काउन्टीसँग दोभासेको भूमिका निर्वाह गर्ने वडाध्यक्ष छेतेन बताउँछन् । ‘पहिला लम्पी स्किनका कारण भन्थे, अहिले कसैकसैले खोरेत रोगका कारण भन्छन् । तर प्रस्ट छैन,’ उनले भने । 

जिल्ला पशुसेवा कार्यालयको तथ्यांकअनुसार जिल्लामा १२ हजारभन्दा बढी याकचौंरी छन् । हिमाली क्षेत्रका बासिन्दाले पुर्ख्यौली पेसाका रूपमा यसलाई पालन गर्दै आएका छन् । तीन हजारदेखि पाँच हजार मिटरसम्मको उचाइलाई याकचौंरीको चरन क्षेत्रको रुपमा लिइन्छ । जिल्लाको सिरिजंगा, फक्ताङलुङ, मिक्वाखोला, मेरिङदेन र फुङलिङ नगरपालिकाको माथिल्लो क्षेत्रमा चौंरीयाक पालन गरिन्छ । बाघ, भालु, ब्वाँसोले समेत क्षति पुर्‍याउने यी पशुचौपाया लम्पी स्किनले तीन हजारनभन्दा बढीमा क्षति पुर्‍याएको पशुसेवा कार्यालय ताप्लेजुङको तथ्यांङकमा उल्लेख छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully