दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुर्याइएका नेपालीलाई त्यहाँको सरकारको सहयोगमा चैत ३० र बैशाख १ गते उद्धार गरी स्वदेश फर्काइएको हो।
काठमाडौँ — थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ (ठगी) केन्द्रमा फसाइएका थप ४६ जना नेपालीको उद्धार गरेको जनाएको छ।
दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुर्याइएका नेपालीलाई त्यहाँको सरकारको सहयोगमा चैत ३० र बैशाख १ गते उद्धार गरी स्वदेश फर्काइएको हो।
दूतावासका अनुसार कम्बोडियामा केही नेपालीहरू अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएका छन् भने केही भिसा बिना वा अवधि सकिएपछि पनि बसिरहेको पाइएको छ। कम्बोडिया सरकारले यस्ता गतिविधिमा संलग्नमाथि कडा कानुन लागू गरेको भन्दै दूतावासले सचेत गराएको छ। यस्तो कसुरमा न्यूनतम २ वर्षदेखि आजीवन कैद र ठूलो रकम जरिवाना हुन सक्ने जनाइएको छ।
स्क्यामिङ केन्द्रमा काम गर्दा कम्पनीले राहदानी जफत गर्ने वा हराउने समस्या पनि देखिएको दूतावासले उल्लेख गरेको छ। यस्तो अवस्थामा नेपाल फर्किन एकतर्फी यात्रा अनुमति (ट्राभल परमिट) उपलब्ध गराइने व्यवस्था रहेको जानकारी दिइएको छ।
दूतावासका अनुसार पछिल्ला वर्षमा पर्यटक भिसामा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। पछिल्लो ५ बर्षमा २१ हजार ९८ जना कम्बोडिया पुगेको देखिएको छ ।
दूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र पर्यटक भिसामा गई आकर्षक आम्दानीको लोभमा गैरकानुनी काममा नफस्न आग्रह गरेको छ। साथै, आमसञ्चार माध्यम र नागरिक समाजलाई पनि यसबारे सचेतना फैलाउन अनुरोध गरिएको छ।
