सरकारले शनिबार र आइतबार बिदा दिएर बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकेको छ । ९ बजे कार्यालय नपुगेकाहरू छड्केमा परेका छन् ।
What you should know
काठमाडौँ — राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो दुई सातामा ३ हजार ५ सयभन्दा बढी कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको छ । केन्द्रका तर्फबाट मन्त्रालय, विभाग र कार्यालयहरूमा गरिएका छड्केमा त्यत्रो संख्यामा कर्मचारी कारबाहीका भागिदार भएका हुन् ।
प्रधानमन्त्री मातहतको निकाय केन्द्रले नयाँ सरकार गठनसँगै कर्मचारीमाथि निगरानी बढाएको हो । चैत १६ देखि ३० गतेको अवधिमा १ सय ८८ सरकारी कार्यालयमा अनुगमन गरिएको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले बताए । समयमा कार्यालय आइनपुगेको, आफ्नो कार्यकक्षमा नभेटिएको तथा तोकिएको पोसाक नलगाएकालाई कारवाहीको दायरामा ल्याइएको उनले बताए । सरकारले शनिबार र आइतबार बिदा दिएर बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकेको छ । ९ बजे कार्यालय नपुगेकाहरू छड्केमा परेका छन् । २३ चैत्रदेखि कार्यालय समय बिहान ९ बजेदेखि लागू गरिएको छ । ९ बजेर २ मिनेटमा हाजिर गर्नेहरूपनि सतर्कता केन्द्रको कारबाहीमा परेका छन् ।
दुई सातामै ठूलो संख्यामा ३ हजार ५ सय १२ जना कर्मचारी कारबाहीको दायरामा परेका छन् । गत आर्थिक वर्षमा एक वर्षको अवधिमा देशैभर ५ हजार ९ सय ३७ कर्मचारीलाई केन्द्रले समयमा कार्यालय नआएको भन्दै कारबाहीको सिफारिस गरेको थियो । त्यसको आधाभन्दा बढी संख्याका कर्मचारी १५ दिनमै कारबाहीमा परेका हुन् ।
सर्तकता केन्द्रले दिएको जानकारीअनुसार सबैभन्दा बढी शिक्षण अस्पताल, महाराजगन्जमा एकैदिन १ हजार २ सय ४३ जना कर्मचारी छड्केमा परेका छन् । त्यस्तै, कान्ति बाल अस्पतालमा ४ सय ३, निजामती अस्पतालमा १ सय ५३ र पाटन अस्पतालमा १ सय २० जना कर्मचारीमाथि कारबाहीको सिफारिस गरिएको छ ।
प्रवक्ता भट्टले कार्यालहरूको सेवा प्रवाह र कर्मचारीको उपस्थिति तथा अनुशासनका सम्बन्धमा दैनिक अनुगमनलाई व्यापकता दिइएको बताए । ‘नियमित रूपमा सघन अनुगमन गरिएको छ । सिंहदरवार भित्र रहेका मन्त्रालय,केन्द्रीय निकाय, विभाग तथा जिल्ला तहका कार्यालयहरूसम्म अनुगमन गरिएको हो,’ कान्तिपुरसँग उनले भने ‘समयमा कार्यालय नआइपुगेका, कार्यकक्षमा नभेटिएका वा पोसाक नलगाएका कर्मचारी उपर कारवाहीका लागि सम्बन्धित कार्यालय प्रमुखलाई लेखी पठाइएको छ ।’
सर्तकता केन्द्रले गर्ने दैनिक अनुगमनको जानकारी प्रधानमन्त्रीलाई पठाउने गरिएको उनले बताए । केन्द्रको छड्केमा सह सचिवस्तर सम्मका कर्मचारी परेका छन् । समयमा नआएको तथा पोशाक नलगाएको विषयमा कारबाहीको सिफारिस हुनुलाई अन्यथा नमानेपनि हाजिर रहेर आफ्नो कार्यकक्षमा नेभिटिएकैमा स्पष्टीकरण मागिनुप्रति कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।
‘कार्यालयमा आएर कुनै बैठक वा माथिल्लो अधिकारीको निर्देशन वा जानकारी गराएर कार्यालय प्रयोजनमै अन्यत्र रहेका बेला सर्तकताले कारबाहीको सिफारिस गरेको छ,’ स्वास्थ्य मन्त्रालयका एकजना कर्मचारीले भने ‘यसले कर्मचारीहरूमा डर बढाउने र मनोबल गिराउने काम भएको छ । काठमाडौंको ट्राफिक त्यस्तै छ, ९ बजेर २ मिनेमा हाजिर गर्दा पनि स्पष्टीकरण खानुपर्दा त्यस्ले कर्मचारीमा डरको मनोविज्ञान पार्न खोजिएको स्पष्ट हुन्छ ।’
