बजाहा सागरलाई रामसार साइट बनाउन अध्ययन

बजाह सागर नौलो र दक्षिण एसियाकै लागि पहिलो सीमापार रामसार साइट हुने हुँदा आफूले अभियान चलाएको आईसीएफका एसिया कार्यक्रम उपाध्यक्ष डा. महेन्द्र श्रेष्ठले बताए । ‘दुई देशको एउटै रामसार साइट दक्षिण एसियामा अन्त छैन,’ उनले भने ।

वैशाख २, २०८३

मनोज पौडेल

Study to make Bajaha Sagar a Ramsar site

What you should know

कपिलवस्तु — यहाँस्थित नेपाल–भारत सीमास्थित बजाहा सागरलाई सीमापार रामसार साइट क्षेत्र बनाउन अध्ययन थालिएको छ । 

सीमसार क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिन यस्तो साइटमा सूचीकृत गरिँदै आएको छ । नेपालतर्फ मायादेवीको तुल्सीडिहवा र भारततर्फ सिद्धार्थनगर जिल्लाको बजाहाबीच दशगजा क्षेत्रमा सीमसार रहेको छ । यो क्षेत्र दुर्लभ पंक्षी सारसको बासस्थानका रूपमा रहेको छ । यसको आसपास ठूलो संख्यामा सारस देख्न सकिन्छ । त्यसैले पनि यसलाई रामसार साइट बनाउन दुवै मुलुकले अध्ययन गरिरहेका हुन् । 

नेपालतर्फ डब्लूडब्लूएफ नेपाल, नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागको टोली र भारततिर वाइल्ड लाइफ ट्रस्ट अफ इन्डिया (डब्लूटीआई)का टोलीले अध्ययन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. हरिप्रसाद शर्मा नेतृत्वको टोलीमा वनस्पति, उभयचर र माछा विशेषज्ञ लगायत १० जना सहभागी छन् । भारततर्फ डब्लूटीआईका उत्तर प्रदेश संरक्षण निर्देशक अर्सद हुसेन र इन्टरनेसनल क्रेन फाउन्डेसन (आईसीएफ), अमेरिकाका साउथइस्ट एसिया कार्यक्रम निर्देशक डा. ट्रान ट्राइट लगायत विशेषज्ञ टोली सहभागी छन् ।

दुई मुलुकको भूगोल भएकाले अमेरिकामा मुख्यालय रहेको आईसीएफको सहयोग र समन्वयमा काम भइरहेको हो । दुवै अध्ययन टोलीले स्थलगत अवलोकन, खोज, स्थानीयसँग छलफल भेला गरेका छन् । पहिलो चरणअन्तर्गत एक साता अध्ययन गरेर टोली फर्किएको प्राध्यापक शर्माले बताए । 

‘यस क्षेत्रमा पाइने आधारभूत कुराको अध्ययन गरेका छौं,’ उनले भने, ‘रामसारका लागि आवश्यक प्रशस्त कुरा अध्ययनबाट पत्ता लागेका छन् ।’ सीमसारमा जलीय वनस्पति, चरा, सरिसृप, उभयचर, माछा र स्तनधारी जनावर लगायतका बारेमा विवरण संकलन गरिएको छ ।Study to make Bajaha Sagar a Ramsar site बजाहा सागर क्षेत्र

अहिले प्राप्त विवरण अध्ययनको काम भइरहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राणीशास्त्र केन्द्रीय विभागका भ्यागुता विशेषज्ञ डा. विष्णुप्रसाद भट्टराईले बताए । ‘प्रतिवेदन डब्लूडब्लूएफ नेपाललाई बुझाइनेछ,’ उनले भने, ‘डब्लूडब्लूएफ र आईसीएफले दुवै देशका सरकार र सरोकारवालासँग छलफल गरेर रामसार साइटको प्रक्रिया अघि बढाइनेछ ।’

बजाहा सागर आसपास सारसको चहलपहलले लोभ्याउने गरेको छ । सीमसार आसपास बाह्रैमास सय/डेढ सय सारस देखिन्छन् । प्रजननका बेला संख्या बढ्ने गरेको छ । बजाहा क्षेत्रमा प्रशस्त सारस पाइने सार्वजनिक भएपछि सरोकारवालाको चासो बढेको डब्लूडब्लूएफ नेपालका पार्टनरसिप प्रोग्राम प्रमुख राजेन्द्र सुवालले बताए । यसअघि २०८० मा मुलुकभर सारस गणना हुँदा बजाहामा पनि गणना गरिएको थियो ।

‘उल्लेख्य संख्यामा सारस पायौं,’ उनले भने, ‘त्यहाँ सारसको वासस्थान देखेपछि यसको संरक्षणका लागि एक देशले मात्र गरेर हुँदैन जस्तो लाग्यो ।’ त्यसपछि डब्लूडब्लूएफले नेतृत्व लिएर सीमापार संरक्षणको पहल थालेको उनले बताए । त्यसका लागि २०८१ माघमा लुम्बिनीमा तीनदिने इन्डो–नेपाल सीमापार छलफल गरियो ।

दुवै देशका सरकारी/गैरसरकारी संरक्षणकर्मी उक्त छलफलमा सहभागी थिए । सीमावर्ती क्षेत्रमा सारस संरक्षणको सचेतनामूलक अभियान चलाउने, सारस संरक्षणका राम्रा अभ्यास र सिकाइ आदानप्रदान गरेर काम गर्ने सहमति भएपछि अहिलेको काम सम्भव भएको संरक्षणकर्मीले बताए । Study to make Bajaha Sagar a Ramsar siteकपिलवस्तुस्थित मायादेवी गाउँपालिकाको तुल्सीडिहवा र बजाहा सागरमा जैविक विविधिता अध्ययन गर्न आएको त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका प्रोफेसर डा. हरिप्रसाद शर्मा नेतृत्वको टोली ।

‘यो ठाउँको ल्यान्डस्क्यापिङ राम्रो छ,’ डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेन्जेटिभ डा. घनश्याम गुरुङले भने, ‘यहाँ सारस लगायतका चराका लागि ताल, सीमसार, धाप, खेतबारी र आहारा राम्रो छ ।’ सारसले आहारविहार र सुरक्षाको राम्रो महसुस गर्दा सधैं निर्धक्क भएर देखिन्छन् । जंगली धानबाट उत्पादन हुने तिन्ना तिन्नी चामल पनि यहाँ प्रशस्त पाइने गुरुङले बताए । ‘पर्यापर्यटनको प्रचुर सम्भावना छ । त्यसका लािग एउटा देशले मात्र चाहेर हुँदैन,’ उनले भने, ‘दुवै देश सहमत हुनुपर्छ ।’

बजाह सागर नौलो र दक्षिण एसियाकै लागि पहिलो सीमापार रामसार साइट हुने हुँदा आफूले अभियान चलाएको आईसीएफका एसिया कार्यक्रम उपाध्यक्ष डा. महेन्द्र श्रेष्ठले बताए । ‘दुई देशको एउटै रामसार साइट दक्षिण एसियामा अन्त छैन,’ उनले भने, ‘अभियानले सार्थकता पायो भने संरक्षण क्षेत्रमा नयाँ आयाम थपिन्छ ।’ त्यसैका लागि काम गरिरहेको उनले बताए । उनका अनुसार हंग्रेरी र स्लोभाकिया तथा बुल्गेरिया र रोमानियाका ३/३ वटा ट्रान्सबर्डर रामसार साइट छन् । 

भारतको सिद्धार्थनगरमा बजाहा सागरको १ सय ७० हेक्टर पर्छ । नेपालतर्फ मायादेवी गाउँपालिकामा ८० हेक्टर छ । नेपालतर्फ तुल्सीडिहवा र भारततर्फ बजाहा गाउँ रहेको छ । सागरको बीचमा ५५२/४७ नम्बरको सीमा स्तम्भ छ । स्तम्भ बाह्रैमास डुबानमा पर्छ । भारतले सिँचाइका लागि सागरमा बाँध बनाएको छ । ‘सारस एकै ठाउँमा ठूलो बथामा देखिनु राम्रो हो,’ चराविद् हठन चौधरीले भने, ‘यसले त्यहाँको जैविक विविधता संरक्षण रहेको मानिन्छ ।’ यहाँको पारिस्थितिकीय प्रणाली राम्रो रहेको पनि उनले बताए । 

सारस संरक्षणका बारेमा दुई मुलुकका अधिकारीबीच भइरहेको सहकार्यले आफू उत्साहित बनेको युनिभर्सिटी अफ लखनउका वाइल्डलाइफ साइन्सेज विभाग निर्देशक प्रोफेसर डा. अमृता कनौजियाले बताइन् । तराई आर्कल्यान्ड स्क्यापमा दुई देशका अनुभव साटासाट गर्दै ट्रान्सबर्डर क्षेत्रमा नयाँ काम अरुका लागि उदाहरणीय हुने उनले बताइन् ।

बौद्ध धर्मावलम्बी सारसलाई आस्थाका रूपमा हेर्छन् । रामायणको आरम्भमा पनि प्रणयरत सारस जोडीको वर्णनबाट सुरु भएको छ । यसको सांस्कृतिक र धार्मिक महत्त्व पनि उत्तिकै छ । अग्लो र चित्ताकर्षक चराको बचेरासँग मनमोहक चलहपहल हेरेर आनन्दित हुनेका लागि बजाहा सागर उत्कृष्ट गन्तव्य बनेको छ । 

अहिलेसम्म नेपाल–भारतबीच बाघ, हात्ती र गैंडाका विषयमा सीमापार छलफल र संरक्षणका कार्यक्रम हुँदै आएका छन् । पहिलो पटक चराका विषयमा दुईदेशीय चासो बढेको निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले बताए ।

‘बजाह सागर चराका लागि महत्त्वपूर्ण क्षेत्र भएको छ,’ उनले भने, ‘अब त्यसको पहिचानका लागि काम गर्नुपर्छ ।’ वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित गरेका ९ पंक्षी प्रजातिमध्ये सारस पनि एक हो । कपिलवस्तु, रूपन्देही र नवलपरासीमा ६ सयभन्दा बढी सारस रहेको अनुमान छ । संख्या कम हुन थालेपछि सन् २००० मा विश्वकै दुर्लभ पंक्षीमा सारसलाई सूचीकृत गरिएको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully