कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ गर्ने जिम्मा सभापति गगन थापालाई 

बुधबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संगठनात्मक संरचना मजबुत पार्ने, नीति तथा कार्यविधि परिमार्जन गर्ने र विभिन्न समितिहरू गठन गर्दै पार्टीलाई महाधिवेशनतर्फ केन्द्रित गर्ने रणनीतिक निर्णयहरू गरेको छ ।

वैशाख २, २०८३

कुलचन्द्र न्यौपाने

President Gagan Thapa is responsible for strengthening internal unity within the Congress.

What you should know

काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्न संवादको पहल अघि बढाउने जिम्मेवारी सभापति गगनकुमार थापालाई दिएको छ । बुधबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संगठनात्मक संरचना मजबुत पार्ने, नीति तथा कार्यविधि परिमार्जन गर्ने र विभिन्न समितिहरू गठन गर्दै पार्टीलाई महाधिवेशनतर्फ केन्द्रित गर्ने रणनीतिक निर्णयहरू गरेको छ ।

बैठकले पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित यसको प्रमुखको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिएको छ । त्यस्तै, निर्वाचनसँग सम्बन्धित रणनीति, तयारी र समन्वयलाई सुदृढ बनाउन निर्वाचन ब्यूरोको संयोजकमा उपसभापति पुष्पा भुसाललाई तोकिएको छ ।

पार्टीको सदस्यता व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र अद्यावधिक बनाउने लक्ष्यसहित विधानअनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरिएको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बनेको उक्त समितिमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् भने एक सदस्य पछि थप गर्ने व्यवस्था गरिएको छ । यो समितिले सदस्यता वितरण, नवीकरण तथा अभिलेखीकरणलाई व्यवस्थित बनाउने जिम्मेवारी पाउनेछ ।

त्यसैगरी, पार्टीको संगठन परिचालनलाई प्रभावकारी बनाउन महामन्त्री गुरूराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन तथा समन्वय समिति गठन गरिएको छ । सहमहामन्त्री बहादुरसिंह लामा र मुक्ताकुमारी यादव सदस्य रहेको उक्त समितिले केन्द्रदेखि स्थानीय तहसम्म संगठन विस्तार, परिचालन र समन्वयलाई सुदृढ बनाउने जिम्मेवारी पाउनेछ ।

बैठकले अन्य राजनीतिक दलसँग सम्बन्ध विस्तार र संवादलाई संस्थागत बनाउने उद्देश्यले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा ‘अन्य राजनीतिक दल संवाद समिति’ गठन गरेको छ । यसले दलहरूबीच सहकार्य, समझदारी र आवश्यक राजनीतिक संवादलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । त्यस्तै, पार्टीभित्रको मर्यादाक्रम निर्धारणलाई स्पष्ट र व्यवस्थित बनाउन केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन गरिएको छ, जसले पार्टीभित्रको पदानुक्रम र औपचारिकता व्यवस्थापनमा एकरूपता ल्याउनेछ।

सार्वजनिक कार्यक्रम सञ्चालनलाई थप व्यवस्थित बनाउन ‘सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि-२०८३’ प्रदेश र जिल्ला कार्यसमितिका सुझाव समेटेर आगामी १ जेठदेखि लागु गर्ने निर्णय पनि बैठकले गरेको छ । यस कार्यविधिले पार्टीका औपचारिक कार्यक्रमहरू सञ्चालन गर्दा एकरूपता, अनुशासन र प्रभावकारिता कायम गर्ने विश्वास गरिएको छ ।

यी सबै निर्णयहरूसँगै बैठकले पार्टीभित्र वृहत्तर एकता कायम गर्दै १५औँ महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यलाई केन्द्रमा राखेको छ । सोही उद्देश्यअनुसार पार्टीका सबै तह र पक्षसँग संवाद गरेर सहमति निर्माण गर्ने जिम्मेवारी सभापति थापालाई दिइएको छ, जुन निर्णयलाई पछिल्लो समय देखिएको आन्तरिक मतभेद व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

बैठकमा उपसभापतिद्वय, महामन्त्रीहरू, सहमहामन्त्रीहरू तथा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक अवस्था र संगठन सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा राखेका थिए । केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक ३ बैशाख दिउँसो १ बजे पुनः बस्ने छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully