पीएम कप : मधेशले पुलिसलाई हरायो 

टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको हो।

वैशाख २, २०८३

शंकर आचार्य

PM Cup: Madhesh defeats Police

काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार वीरगन्जमा सम्पन्न खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबमाथि प्रभावशाली जित हात पारेको छ।  टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले फिल्डिङ रोजेको मधेशले सानदार बलिङ प्रदर्शन गर्दै नेपाल पुलिस क्लबलाई ४० ओभर ३ बलमा १ सय ३० रनमै अलआउट गर्‍यो। पुलिसका लागि कुशल भुर्तेलले ४२ बलमा ३९ रन बनाए भने शंकर रानाले ६१ बलमा २७ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा टोली सानो योगफलमै समेटिएको थियो।

मधेशका बलर आशिक बैठाले १० ओभरमा २१ रन खर्चेर ३ विकेट लिँदा पवन सर्राफले पनि ९ ओभर ३ बलमा २५ रन दिई ३ विकेट लिएर विपक्षी ब्याटिङ लाइनअप धराशायी बनाए। मधेशको उत्कृष्ट बलिङकै कारण पुलिस क्लब दबाबमा परेको थियो।

१ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले सहज रूपमा खेल जित्यो। २४ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै मधेशले महत्वपूर्ण जित दर्ता गर्‍यो। मधेशका लागि अरनिको यादवले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा अविजित ६५ रनको महत्वपूर्ण इनिङ्स खेले। ६ छक्का र ४ चौका प्रहार गरी उनले आक्रामक शैलीमा खेल्दै टोलीलाई जिततर्फ अग्रसर गराए। रुपेश सिंहले २९ बलमा २७ रनको योगदान दिएर साथ दिए।

बलिङतर्फ पुलिस क्लबका गुल्सन झाले ५ ओभरमा २० रन दिई ३ विकेट लिए भने सागर ढकालले ९ ओभर १ बलमा ३० रन दिई २ विकेट लिएपनि पनि अन्य बलरले प्रभावकारी प्रदर्शन गर्न नसक्दा टोली हारबाट जोगिन सकेन।

अलराउन्ड प्रदर्शन गरेका कारण मधेशका अरनिको यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ब्याटिङतर्फ अर्धशतक प्रहार गर्नुका साथै बलिङमा पनि योगदान दिएका थिए। उनले ६ ओभरमा १९ रन दिई १ विकेट समेत हात पारेका थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully