इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुर, गाईघाटका अमृत झा रिहा भएका छन् ।
काठमाडौँ — इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा भएका छन् ।
कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको र उनी सकुशल रहेको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको परराष्ट्रमन्त्री शिशिर खनालले कान्तिपुरलाई बताए ।
झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको व्यहोरा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
अमृतकी दिदी पूजा झाले कान्तिपुरसँग कुरा गर्दै परराष्ट्र संयन्त्रबाट भाइ रिहा भएको जानकारी ७ बजेतिर पाएको बताइन् । उनले भनिन्, 'हामी लामो समयदेखि चिन्तामा थियौँ । आज हाम्रो लागि एकदमै ठूलो खुसीको खबर आयो । भाइ नेपाल आएपछि अझै धेरै खुसी हुन्छौँ ।' उनले कैयन् दिनदेखि भाइको रिहाइ कहिले र कसरी हुने हो भनेर चिन्तित रहेको बताउँदै आजको खबरले आफूहरुलाई ढुक्क बनाएको बताइन् ।
तेल लिन जाने क्रममा उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुन्द्री आइल्याण्ड केशनबाट पक्राउ गरेको थियो । इरानी सेनाले उनीहरुलाई चैत पहिलो साता नियन्त्रणमा लिएको थियो ।
