सभामुखको गाडीले लेन अनुशासन उल्लंघन गरेपछि...

थापाथलीमा लेन अनुशासन उल्लंघन गर्ने सभामुखको गाडी, अगुवा र पछुवा गाडीसमेतलाई कारबाही

वैशाख २, २०८३

इकान्तिपुर डेस्क

After the Speaker's vehicle violated lane discipline...

काठमाडौँ — सभामुख डोलप्रसाद अर्याल चढेको गाडीले लेन अनुशासन उल्लंघन गरेपछि ट्राफिक प्रहरीले चिट काटेको छ । बुधबार थापाथलीमा सभामुख अर्यालसहित उनलाई स्कर्टिङ गरिरहेको प्रहरीको अगुवा र पछुवा गाडीले लेन क्रस गरेका थिए । ट्राफिक प्रहरीका अनुसार तीन वटै गाडीका चालकलाई सिंहदरबार परिसर पुगेर पुर्जी दिइएको छ । 

सभामुख अर्यालका स्वकीय सचिव नवराज पाण्डेका अनुसार नयाँ चालक भएकाले लेन अनुशासन उल्लंघन हुन पुगेको बताए । कान्तिपुरलाई उक्त घटनाबारे जानकारी दिँदै स्वकीय सचिव पाण्डेले भने, 'भैंसेपाटीबाट सिंहदरबार आउँदै थियौँ । पहिलेको चालकलाई सभामुखज्यूले भन्नु भएको थियो- रेडलाइटमा जहिल्यै कुर्ने भनेर । नयाँ चालकलाई भन्न बाँकी थियो ।' सभामुख अर्यालले ट्राफिक प्रहरीलाई सर्वसाधारणलाई झैं कारबाही गर्न भनेको पनि पाण्डेले जानकारी दिए । 

लेन अनुशासन उल्लंघन गर्दा पहिलो पटक भए ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक वा सोभन्दा बढी  नियम उल्लंघन गर्नेलाई १ हजार ५ सय जरिवाना हुने व्यवस्था छ । 

मादक पदार्थ सेवन, रातो बत्ती, लेन अनुशासन तथा तीव्र गति सर्त उल्लंघन कसुरमा अनिवार्य सचेतना कक्षासमेत लिनुपर्नेछ ।

इकान्तिपुर

Link copied successfully