घरमा कोही नभएको मौका पारेर पाहुना आएका किशोरले बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश ज्ञवालीले बताए ।
कालिकोट — नरहरिनाथ–३ की ७ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । मंगलबार दिउँसो घरमा कोही नभएको मौका पारी १७ वर्षीय किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका पारेर पाहुना आएका किशोरले बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश ज्ञवालीले बताए । उनका अनुसार पीडक र पीडित दुवै दलित समुदायका हुन् ।
‘नयाँ वर्षको दिन बिहानको खाना खाएर बालिकाका बाजेबजै र काकाकाकी खेतबारीमा काम गर्न गएको बेला दिउँसो बालिकामाथि कुकर्म गरेछ,’ सूचना अधिकारी ज्ञवालीले भने, ‘बालिकालाई दिउँसो घरमा कोही नभएको बेला फकाउन मोबाइलमा कार्टुन हेर्न दिएछ । अनि कुकर्म गरेछ ।’ बालिकाका बुवाआमा दुवै भारतमा छन् । बाजेबजैसँग बस्दै आएकी बालिका नरहरिनाथ–४ घर भएका किशोरबाट बलात्कृत भएको प्रहरीमा जाहेरी परेपछि किशोरलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
किशोरविरुद्ध बुधबार बालिकाका बाजेले जबरजस्ती करणी मुद्दामा जाहेरी दिएका हुन् । ‘घरमा कोही नभएको मौका पारेर बर्बाद गरेछ,’ बालिबाका बाजेले भने, ‘नाता पर्ने हो, नाता परे पनि यस्ता पापीलाई छोड्नु हुँदैन ।’
बालिकालाई स्वास्थ्य उपचारका लागि योगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँ हुँदै जिल्ला अस्पताल मान्म ल्याइएको र किशोरलाई इप्रका कुमालगाउँमार्फत जिल्ला प्रहरी कार्यालय मान्ममा राखिएको छ ।
बालिकालाई रगत लत्पतिएको अवस्थामै अस्पताल ल्याइएको र थप उपचारका लागि मान्म रिफर गरेको योगी नरहरिनाथ आधारभूत अस्पताल प्रमुख डा. शिवनाथ यादवले बताए । उनले बलात्कार भएको देखिएकाले थप उपचारका लागि बालिकालाई कालिकोट जिल्ला अस्पताल पठाइएको जानकारी दिए ।
