मल्लकालदेखि चल्दै आएको बिस्का: जात्राले भक्तपुरमा ऐतिहासिक र सांस्कृतिक परम्पराको संरक्षण मात्र होइन, एकताको सन्देश पनि फैलाइरहेको छ ।
What you should know
भक्तपुर — संस्कृति र सम्पदामा धनी सहर भक्तपुरमा परम्परागत बिस्का: जात्राको रौनक चलिरहेको छ । नाचगान तथा जात्रापर्वले प्रसिद्ध भक्तपुर यतिबेला आठ रात नाै दिनसम्म मनाइने बिस्का: जात्राले गुन्जायमान बनेकाे छ ।
विक्रम सम्वत् अनुसारको नयाँ वर्ष सुरु हुनु भन्दा ४ दिन अघिबाट बिस्काः जात्रा सुरु हुने गरेको छ । बिस्का:मा धिमेलगायतका बाजाले भक्तपुरका टोलटोल अहिले गुन्जायमान भएका छन् । दाफा भजनका हरेक सदस्यले गुनगुनाउने बिस्का: जात्राका रागले यहाँको माहोल नै बेग्लै हुने गरेका छ । यो जात्रा सुरु भइसकेको आभास बाजागाजाको रागले पनि गर्दछ । भक्तपुरमा यो चाडमात्रै मिति अनुसार मनाइने गरेको छ । यहाँ अन्य चाँड तिथि अनुसार मनाउने चलन छ।
भक्तपुर नगरको मध्य भागमा रहेको तः मारी (टौमढी) टोलमा चैत दोस्रो सातादेखि भैरव नाथको रथ (भैल खः) र भद्रकालीको रथ (नकिन्जु खच्चा) बनाउन शिल्पकार समुदाय सक्रिय हुन्छन् । प्यागोडा शैलीमा काठैकाठले बनेको तीन तल्ले भैरवनाथको रथ (भैल खः) र भद्रकालीको रथ (नकिन्जु खच्चा)ले पूर्णता पाएपछि रंगरोगन गरी चिटिक्क पारिन्छ । नयाँ वर्ष सुरु हुन चार दिनअघि सुरुमा भद्रकालीको रथ तानिन्छ । त्यसपछि भैरवनाथको रथ तानेर पहिलो दिनको जात्रा सुरु गरिन्छ ।
रथ तान्न अगाडि भने भैरवनाथ मन्दिरमा भैरव नाइकेहरुले विधिवत रुपमा बलि पूजा गरिसकेपछि भोज खाने चलन छ । त्यसपछि बेताल देवतालाई भैल खः को अग्रभागमा विराजमान गराएर मूल देवता भैरवनाथलाई भैल खःमा राखिसकेपछि हनुमान ढोकालाई ल्याएको खड्ग र तलेजु भवानीको प्रसाद भैरवनाथ र बेताल देवता रथको अग्रभागमा विराजमान गराइ जात्रा सुरु गर्ने प्रचलन छ ।
जात्राको पहिलो दिन लाई द्यः क्वह बिज्याइगु अर्थात देवता तल सवार हुने भनिन्छ । जात्रामा भैल खः मा एक जना जुसिजु ६ जना भैल नाइके, ४ जना सिकर्मी र ४ जना चगुठी गरी १५ जना अनिर्वाय चढेर रथ तान्ने गरिन्छ।
रथ तान्ने क्रममा रथको अग्र भागमा ६ वटा र रथको पछाडि भागमा ४ वटा डोरी हुन्छन् । जात्राको पहिलो दिन हजारौंको सहभागितामा भैल खः तान्न/हेर्न जात्रालु सहभागी हुन्छन् । पहिलो दिनमा युवाहरुले होस्टे र हैसे हा... हा... हा....भन्दै एकै लय र स्वरमा रथको दुवैतिरबाट तनातान गरिन्छ ।
तः मारी टोलबाट सुरु हुने रथ तान्ने जात्रा तल्लो टोल र माथिल्लो टोलका युवाले रथलाई आफ्नो टोलमा लैजानका लागि प्रयास गर्दै रथलाई तान्ने गरिन्छ ।
रथ तल्लो टोलमा तः मारीबाट गहिती, नासमना, बंशगोपाल हुँदै तेखापुखु टोलसम्म लैजाने गरिन्छ भने माथिल्लो टोलको साकोठा, सुकुलढोका, गोलमढी हुँदै दत्तात्रयसम्म लैजाने गरिन्छ । तल्लो वा माथिल्लो जुन टोलमा रथलाई लैजान सके सोही टोलका युवा विजयी भएको मानिन्छ । त्यसपछि पहिलो दिनको जात्रा समापन गर्न भैल खः लाई गःहिती टोलमा पुर्याइन्छ र पहिलो दिनको जात्राले पूर्णता पाउँछ । त्यसदिन बेलुकी सम्पूर्ण अष्टमात्रिकालगायतका देवतालाई देवगृहको आसनबाट तल राख्ने गरिन्छ । यसलाई स्थानीय भाषामा द्यःक्वहाँ बिज्याकेगु भनिन्छ ।
दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पुर्याउने चलन छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ । यसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ ।
बिस्केटको चौथो दिन वर्षको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको योसिं द्यः (ल्हामरु म्ह) उभ्याइन्छ । साँझ नयाँ वर्षको पूर्व सन्ध्यामा योसिखेल टोलमा साँझ ५५ हात लामो योसिंद्यो उभ्याउन स्थानीय तयार हुन्छन् ।
गहितीमा रहेको रथलाई विधिवत रुपमा पूजा गरिसकेपछि रथ योसिंखेल पुर्याइन्छ । लिंगो अर्थात योसिं द्यः उभ्याउन अघि भने भैरव नाइकेहरुले भेडा बलि दिने चलन छ । योसिं द्यःलाई उभ्याउन अघि विधिवत पूजा गरिन्छ । अस्तमात्रिकाका प्रतिकको रुपमा रहेको ८ वटा डोरीको सहायताले जात्रालुले ५५ हात लामो योसिं द्यः उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिंगो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने योसिं द्यःको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । योसिं द्यःको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा आकाश भैरवका ध्वजासमेत भनिन्छ ।
योसिं द्यः उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुने विश्वास छ । योसिं द्यः उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।
बिस्केट जात्रा हेर्नाले शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्याइन्छ । योसिं द्यः उठ्नासाथ बंशगोपाल टोलमा बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ ।
बिस्का जात्राको पाँचौं दिन नयाँ वर्ष वैशाख १ गतेका दिन लिंगो अर्थात योसिं द्यः ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुँधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यः ल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । योसिं द्यः उभ्याउने र ढाल्ने जात्रा नै बिस्काको मुख्य गतिविधि हो ।
जात्राको छैठौं दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट जुँधाउने जात्रा, सातौं दिन ब्रहयणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुँधाउने जात्रा हुन्छ । साताैं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यः स्वंगँ बिइगु भनिन्छ ।
बिस्केट जात्राको अन्तिम दिन वैसाख ५ का दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यः (देवता) थाहा बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यसदिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । सोही दिन बिहान स्थानीय टालाक्व टोलमा उभ्याएको हात नभएको योसिं द्यः लाई पनि ढालिन्छ । जात्रा अवधिमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारीलगायत देवदेवीको जात्राले नगर शोभायमान हुन्छ ।
मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् । सुरुमा बिस्काः जात्रा भैरवको श्रीमती नकिजु अजिमाको मात्रै जात्रा थियो भन्ने कथन संस्कृतिप्रेमी त मारी टोलका स्थानीय अनन्त धौभडेलको भनाई छ । उनका अनुसार काशी विश्वनाथ भैरवले भक्तपुरको बिस्का जात्रा हेर्न आउँदा तान्त्रिकले काशी विश्वनाथ भैरवको टाउको हसियाले काटेर भक्तपुरमै राखिएको किंवदन्ती रहेको उनले बताए । पछि काशी विश्वनाथ भैरवलाई यहीँ विराजमान गराउन त मारी टोलमा भैरवको मन्दिर बनाएर राखेको र बिस्काः जात्रामा भैल खः र नकिजु अजिमाको खट अर्थात् भैरवनाथको रथ र भद्रकालीको रथ बनाएर बिस्का जात्रा मनाएको धौभडेल बताउँछन् ।
संस्कृतिविद् एवं इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा नेपाल संम्वत् ५०० को तमसुकपत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको छ । भक्तपुर (तः मारी) टौमढीस्थित यक्ष मल्लको नेपाल सम्वत् ५६१ को शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको प्रा. श्रेष्ठ बताउछन् । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल सम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा बिस्क्यात शब्द उल्लेख छ । उनका अनुसार तलेजुमा अहिलेसम्म चल्ने बिस्काः जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ ।
संस्कृत शब्द विश्व केतुको पछिल्लो कालखण्डमा नेवारी नामाकरण अनुसार विसिक, बिस्कः हुँदै बिस्काः हुन पुगेको उनले बताए । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको उनको भनाइ छ । नेपालभाषामा अहिले पनि बिस्काः जात्रा भन्ने गरिएको उनले बताए । बिस्काः जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्छन् प्रा. श्रेष्ठ । उनले बिस्काः जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रममात्र रहेको उनको दाबी छ । ‘यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक योसिं द्यः फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भ्रम हो,’ उनले भने ।
परापूर्वकालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । परापूर्वकालमा बिस्काः जात्राको मूल जात्रा भनेकै चैत मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः (लिंगो) उठाई त्यसमा एक जोडा ध्वजा फहराएर वैसाख सङ्क्रान्तिको दिन उक्त योसीं ढाल्नु हो ।
किँरातीहरुलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरुले यो जात्रा मनाएको इतिहास छ । लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपाल मण्डलकै राजधानी यक्ष मल्लसम्म निरन्तर रह्यो । यस अवधिको करिब ३ सय ६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो ।
बिस्काः जात्रा भक्तपुरको मात्र विशिष्ट सांस्कृतिक पहिचान नभई यो सम्पूर्ण मानवको लागि समृद्धि र सभ्यताको प्रतिक भएको प्रा. श्रेष्ठ बताउँछन् । त्यतिबेला भक्तपुर नगरको वरपर प्रसस्त जंगलहरु भएकाले सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिंगो उठाउने गरिएको र पछि एक जोडा ध्वजा थपियो उनले बताए । यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ ।
भक्तपुरको बिस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीको समेत जात्रा पूजा पर्व गर्ने परम्परा बसाउन भक्तपुरका विश्व मल्ल, गंगारानी, जगज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको इतिहासमा उल्लेख छ ।
समग्रमा भक्तपुरको बिस्काः जात्रा मनाउन गुठी संस्थान भक्तपुर शाखाले जिम्मा लिँदै आएको छ । गुठी संस्थानले रथ बनाउन र योसि द्यः ल्याउनका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै आएको छ । यस्तै आठ रात नौ दिनसम्म चल्ने जात्राका लागि विभिन्न मठमन्दिर, देवस्थलमा बलिका लागि पशुपन्छीको व्यवस्था गर्ने र पूजाआजाका लागि विधि अनुसारका सामग्रीको व्यवस्था गर्ने गुठी संस्थानको प्रमुख जिम्मेवारी भित्र पर्दछ ।
जात्रा सम्पन्न भइसकेपछि पनि आवश्यक निरीक्षण गरेर पूजा गरी रथ भत्काउने र सामग्री सुरक्षित भण्डारणको व्यस्थापन पनि गुठी संस्थानले नै गर्ने संस्थानको भक्तपुर शाखा प्रमुख आनन्द कर्माचार्यले बताए । उनका अनुसार भक्तपुरको बिस्काः जात्रा चलाउन वार्षिक ४ लाख रुपैयाँ बजेट विनियोजन हुने गरेको छ । तर यस वर्षको जात्रामा २८ लाख ६४ हजार २ सय ६५ रुपैयाँ खर्च भएको उनले बताइन् । यो जात्रा अमानत गुठी अन्तर्गत संचालन हुँदै आएको संस्थान प्रमुख कर्माचार्यले बताए ।
