जात्राको सहर भक्तपुरमा बिस्का:को रौनक

मल्लकालदेखि चल्दै आएको बिस्का: जात्राले भक्तपुरमा ऐतिहासिक र सांस्कृतिक परम्पराको संरक्षण मात्र होइन, एकताको सन्देश पनि फैलाइरहेको छ ।

वैशाख १, २०८३

सुन्दर शिल्पकार

The splendor of Biscay in the city of festivals, Bhaktapur

What you should know

भक्तपुर — संस्कृति र सम्पदामा धनी सहर भक्तपुरमा परम्परागत बिस्का: जात्राको रौनक चलिरहेको छ । नाचगान तथा जात्रापर्वले प्रसिद्ध भक्तपुर यतिबेला आठ रात नाै दिनसम्म मनाइने बिस्का: जात्राले गुन्जायमान बनेकाे  छ । 

विक्रम सम्वत् अनुसारको नयाँ वर्ष सुरु हुनु भन्दा ४ दिन अघिबाट बिस्काः जात्रा सुरु हुने गरेको छ । बिस्का:मा धिमेलगायतका बाजाले भक्तपुरका टोलटोल अहिले गुन्जायमान भएका छन् । दाफा भजनका हरेक सदस्यले गुनगुनाउने बिस्का: जात्राका रागले यहाँको माहोल नै बेग्लै हुने गरेका छ । यो जात्रा सुरु भइसकेको आभास बाजागाजाको रागले पनि गर्दछ । भक्तपुरमा यो चाडमात्रै मिति अनुसार मनाइने गरेको छ । यहाँ अन्य चाँड तिथि अनुसार मनाउने चलन छ। 

भक्तपुर नगरको मध्य भागमा रहेको तः मारी (टौमढी) टोलमा चैत दोस्रो सातादेखि भैरव नाथको रथ (भैल खः) र भद्रकालीको रथ (नकिन्जु खच्चा) बनाउन शिल्पकार समुदाय सक्रिय हुन्छन् । प्यागोडा शैलीमा काठैकाठले बनेको तीन तल्ले भैरवनाथको रथ (भैल खः) र भद्रकालीको रथ (नकिन्जु खच्चा)ले पूर्णता पाएपछि रंगरोगन गरी चिटिक्क पारिन्छ । नयाँ वर्ष सुरु हुन चार दिनअघि सुरुमा भद्रकालीको रथ तानिन्छ । त्यसपछि भैरवनाथको रथ तानेर पहिलो दिनको जात्रा सुरु गरिन्छ ।

रथ तान्न अगाडि भने भैरवनाथ मन्दिरमा भैरव नाइकेहरुले विधिवत रुपमा बलि पूजा गरिसकेपछि भोज खाने चलन छ । त्यसपछि बेताल देवतालाई भैल खः को अग्रभागमा विराजमान गराएर मूल देवता भैरवनाथलाई भैल खःमा राखिसकेपछि हनुमान ढोकालाई ल्याएको खड्ग र तलेजु भवानीको प्रसाद भैरवनाथ र बेताल देवता रथको अग्रभागमा विराजमान गराइ जात्रा सुरु गर्ने प्रचलन छ ।

जात्राको पहिलो दिन लाई द्यः क्वह बिज्याइगु अर्थात देवता तल सवार हुने भनिन्छ । जात्रामा भैल खः मा एक जना जुसिजु ६ जना भैल नाइके, ४ जना सिकर्मी र ४ जना चगुठी गरी १५ जना अनिर्वाय चढेर रथ तान्ने गरिन्छ। 

रथ तान्ने क्रममा रथको अग्र भागमा ६ वटा र रथको पछाडि भागमा ४ वटा डोरी हुन्छन् । जात्राको पहिलो दिन हजारौंको सहभागितामा भैल खः तान्न/हेर्न जात्रालु सहभागी हुन्छन् । पहिलो दिनमा युवाहरुले होस्टे र हैसे हा... हा... हा....भन्दै एकै लय र स्वरमा रथको दुवैतिरबाट तनातान गरिन्छ । 

तः मारी टोलबाट सुरु हुने रथ तान्ने जात्रा तल्लो टोल र माथिल्लो टोलका युवाले रथलाई आफ्नो टोलमा लैजानका लागि प्रयास गर्दै रथलाई तान्ने गरिन्छ ।

The splendor of Biscay in the city of festivals, Bhaktapur

रथ तल्लो टोलमा तः मारीबाट गहिती, नासमना, बंशगोपाल हुँदै तेखापुखु टोलसम्म लैजाने गरिन्छ भने माथिल्लो टोलको साकोठा, सुकुलढोका, गोलमढी हुँदै दत्तात्रयसम्म लैजाने गरिन्छ । तल्लो वा माथिल्लो जुन टोलमा रथलाई लैजान सके सोही टोलका युवा विजयी भएको मानिन्छ । त्यसपछि पहिलो दिनको जात्रा समापन गर्न भैल खः लाई गःहिती टोलमा पुर्याइन्छ र पहिलो दिनको जात्राले पूर्णता पाउँछ । त्यसदिन बेलुकी सम्पूर्ण अष्टमात्रिकालगायतका देवतालाई  देवगृहको आसनबाट तल राख्ने गरिन्छ । यसलाई स्थानीय भाषामा द्यःक्वहाँ बिज्याकेगु भनिन्छ । 

दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पुर्याउने चलन छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ । यसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ ।

बिस्केटको चौथो दिन वर्षको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको योसिं द्यः (ल्हामरु म्ह) उभ्याइन्छ । साँझ नयाँ वर्षको पूर्व सन्ध्यामा योसिखेल टोलमा साँझ ५५ हात लामो योसिंद्यो उभ्याउन स्थानीय तयार हुन्छन् ।

The splendor of Biscay in the city of festivals, Bhaktapur

गहितीमा रहेको रथलाई विधिवत रुपमा पूजा गरिसकेपछि रथ योसिंखेल पुर्याइन्छ । लिंगो अर्थात योसिं द्यः उभ्याउन अघि भने भैरव नाइकेहरुले भेडा बलि दिने चलन छ । योसिं द्यःलाई उभ्याउन अघि विधिवत पूजा गरिन्छ । अस्तमात्रिकाका प्रतिकको रुपमा रहेको ८ वटा डोरीको सहायताले जात्रालुले ५५ हात लामो योसिं द्यः उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिंगो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने योसिं द्यःको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । योसिं द्यःको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा आकाश भैरवका ध्वजासमेत भनिन्छ । 

योसिं द्यः उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुने विश्वास छ । योसिं द्यः उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । 

बिस्केट जात्रा हेर्नाले शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याइन्छ । योसिं द्यः उठ्नासाथ बंशगोपाल टोलमा बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ ।

बिस्का जात्राको पाँचौं दिन नयाँ वर्ष वैशाख १ गतेका दिन लिंगो अर्थात योसिं द्यः ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुँधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यः ल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । योसिं द्यः उभ्याउने र ढाल्ने जात्रा नै बिस्काको मुख्य गतिविधि हो । 

जात्राको छैठौं दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट जुँधाउने जात्रा, सातौं दिन ब्रहयणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुँधाउने जात्रा हुन्छ । साताैं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यः स्वंगँ बिइगु भनिन्छ ।

बिस्केट जात्राको अन्तिम दिन वैसाख ५ का दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यः (देवता) थाहा बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यसदिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । सोही दिन बिहान स्थानीय टालाक्व टोलमा उभ्याएको हात नभएको योसिं द्यः लाई पनि ढालिन्छ । जात्रा अवधिमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारीलगायत देवदेवीको जात्राले नगर शोभायमान हुन्छ ।

मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् । सुरुमा बिस्काः जात्रा भैरवको श्रीमती नकिजु अजिमाको मात्रै जात्रा थियो भन्ने कथन संस्कृतिप्रेमी त मारी टोलका स्थानीय अनन्त धौभडेलको भनाई छ । उनका अनुसार काशी विश्वनाथ भैरवले भक्तपुरको बिस्का जात्रा हेर्न आउँदा तान्त्रिकले काशी विश्वनाथ भैरवको टाउको हसियाले काटेर भक्तपुरमै राखिएको किंवदन्ती रहेको उनले बताए । पछि काशी विश्वनाथ भैरवलाई यहीँ विराजमान गराउन त मारी टोलमा भैरवको मन्दिर बनाएर राखेको र बिस्काः जात्रामा भैल खः र नकिजु अजिमाको खट अर्थात् भैरवनाथको रथ र भद्रकालीको रथ बनाएर बिस्का जात्रा मनाएको धौभडेल बताउँछन् । 

संस्कृतिविद् एवं इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा नेपाल संम्वत् ५०० को तमसुकपत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको छ । भक्तपुर (तः मारी) टौमढीस्थित यक्ष मल्लको नेपाल सम्वत् ५६१ को शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको प्रा. श्रेष्ठ बताउछन् । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल सम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा बिस्क्यात शब्द उल्लेख छ । उनका अनुसार तलेजुमा अहिलेसम्म चल्ने बिस्काः जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ ।

संस्कृत शब्द विश्व केतुको पछिल्लो कालखण्डमा नेवारी नामाकरण अनुसार विसिक, बिस्कः हुँदै बिस्काः हुन पुगेको उनले बताए । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको उनको भनाइ छ । नेपालभाषामा अहिले पनि बिस्काः जात्रा भन्ने गरिएको उनले बताए । बिस्काः जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्छन् प्रा. श्रेष्ठ । उनले बिस्काः जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रममात्र रहेको उनको दाबी छ । ‘यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक योसिं द्यः फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भ्रम हो,’ उनले भने ।

परापूर्वकालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । परापूर्वकालमा बिस्काः जात्राको मूल जात्रा भनेकै चैत मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः (लिंगो) उठाई त्यसमा एक जोडा ध्वजा फहराएर वैसाख सङ्क्रान्तिको दिन उक्त योसीं ढाल्नु हो । 

The splendor of Biscay in the city of festivals, Bhaktapur

किँरातीहरुलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरुले यो जात्रा मनाएको इतिहास छ । लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपाल मण्डलकै राजधानी यक्ष मल्लसम्म निरन्तर रह्यो । यस अवधिको करिब ३ सय ६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो ।

बिस्काः जात्रा भक्तपुरको मात्र विशिष्ट सांस्कृतिक पहिचान नभई यो सम्पूर्ण मानवको लागि समृद्धि र सभ्यताको प्रतिक भएको प्रा. श्रेष्ठ बताउँछन् ।  त्यतिबेला भक्तपुर नगरको वरपर प्रसस्त जंगलहरु भएकाले सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिंगो उठाउने गरिएको र पछि एक जोडा ध्वजा थपियो उनले बताए । यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ । 

भक्तपुरको बिस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीको समेत जात्रा पूजा पर्व गर्ने परम्परा बसाउन भक्तपुरका विश्व मल्ल, गंगारानी, जगज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको इतिहासमा उल्लेख छ ।

समग्रमा भक्तपुरको बिस्काः जात्रा मनाउन गुठी संस्थान भक्तपुर शाखाले जिम्मा लिँदै आएको छ । गुठी संस्थानले रथ बनाउन र योसि द्यः ल्याउनका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै आएको छ । यस्तै आठ रात नौ दिनसम्म चल्ने जात्राका लागि विभिन्न मठमन्दिर, देवस्थलमा बलिका लागि पशुपन्छीको व्यवस्था गर्ने र पूजाआजाका लागि विधि अनुसारका सामग्रीको व्यवस्था गर्ने गुठी संस्थानको प्रमुख जिम्मेवारी भित्र पर्दछ । 

जात्रा सम्पन्न भइसकेपछि पनि आवश्यक निरीक्षण गरेर पूजा गरी रथ भत्काउने र सामग्री सुरक्षित भण्डारणको व्यस्थापन पनि गुठी संस्थानले नै गर्ने संस्थानको भक्तपुर शाखा प्रमुख आनन्द कर्माचार्यले बताए । उनका अनुसार भक्तपुरको बिस्काः जात्रा चलाउन वार्षिक ४ लाख रुपैयाँ बजेट विनियोजन हुने गरेको छ । तर यस वर्षको जात्रामा २८ लाख ६४ हजार २ सय ६५ रुपैयाँ खर्च भएको उनले बताइन् । यो जात्रा अमानत गुठी अन्तर्गत संचालन हुँदै आएको संस्थान प्रमुख कर्माचार्यले बताए ।  

सुन्दर

Link copied successfully