२३ वर्षपछि पालिकामै सर्‍यो साइपालको कार्यालय

सशस्त्र द्वन्द्वकालमा २०५९ सालतिर असुरक्षाका कारण सरेको कार्यालय संघीयतापछि पनि साइपालमा इन्टरनेट सुविधा, बैंक नभएको कारण सदरमुकाम चैनपुरमै भाडाको घरमा राखिएको थियो ।

वैशाख १, २०८३

वसन्तप्रताप सिंह

Saipal office moved to the municipality after 23 years

What you should know

बझाङ — तत्कालीन सशस्त्र द्वन्द्वका कारण सदरमुकाम चैनपुर सारिएको साइपाल गाउँपालिका (साविक काँडा गाविस) को कार्यालय झण्डै २३ वर्षपछि आफ्नै ठाउँमा सारिएको छ । कार्यालय सरेसँगै यसअघि सदरमुकामबाट दिइँदै आएका आर्थिक तथा प्रशासनिक सेवा अब पालिकाबाटै उपलब्ध हुने भएका छन् । 

सशस्त्र द्वन्द्वकालमा २०५९ सालतिर असुरक्षाका कारण सरेको कार्यालय संघीयता आइसके पछि पनि साइपालमा इन्टरनेट सुविधा, बैंक नभएको कारण दैनिक कामकाज गर्न असहज भएको भन्दै सदरमुकाम चैनपुरमै भाडाको घरमा राखिएको थियो । 

हालसम्म सडक सञ्जालमा नजोडिएको साइपालका स्थानीयले कार्यालय सदरमुकाममा हुँदा सामान्य सिफारिस लिन समेत चार दिन पैदल यात्रा र ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता थियो ।

खाता खोल्न, योजना सम्झौता गर्न, किस्ता भुक्तानी लिन, रकम झिक्नलगायतका कामका लागि उपभोक्ता समितिका पदाधिकारी पटक–पटक सदरमुकाम आउजाउ गर्नुपर्दा योजनाको आधा रकम अनावश्यक खर्च हुने, लागत बढ्ने र गुणस्तरीय काम नहुने समस्या पनि साइपालबासीले भोग्दै आएका थिए । ‘कार्यालय चैनपुरमै भए पछि हामीले जनप्रतिनिधिलाई भेट्न पनि तीन/चार दिन हिँडेर चैनपुर नै पुग्नु पर्थ्यो । सामान्य कामको लागि पनि २०/३० हजार खर्च गर्नु पर्थ्यो,’ स्थानीय वसन्त बोहराले भने, ‘अब सबै सेवा पालिकाबाटै दिने भए पछि साइपालबासीको खर्च र समय दुवै बचत हुने भयो । दुई दशकपछि आफ्नै घर आँगनमा सेवा पाइने भयो ।’ उनले पालिकाले दिने सबै सेवा साइपालबाट प्रदान गर्ने भएपछि स्थानीयको लाखौं रकम र समयको बचत हुने बताए ।

पालिकाले गर्ने सबै काम स्थानीय तहमै हुने भए पछि स्थानीय बासिन्दालाई मात्रै नभएर तलब निकासाको लागि सदरमुकाम धाउनुपर्ने बाध्यतामा रहेका यहाँका शिक्षक र कर्मचारीलाई पनि सजिलो हुने जनप्रतिनिधि बताउँछन् । ‘तलब निकासाको सिफारिस लिन, रिर्पोटहरु बुझाउन शिक्षक–कर्मचारीले सदरमुकाम नै पुग्नु पर्थ्यो,’ साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीले भने, ‘त्यसो हुँदा एक त उहाँहरुको खर्च बढी हुन्थ्यो । अर्कोतिर कार्यालयको काम र विद्यार्थीको पढाईमा पनि असर पर्थ्यो । अब त्यो समस्या हटेको छ ।’

उनले जनप्रतिनिधिहरुले पनि पटक–पटक सदरमुकाम र पालिका दौडधुप गर्दा समय र रकम खर्च बढ्नुका साथै बढीजसो समय हिँड्डुलमै बिताउनु पर्दा अनावश्यक दुख पाउने गरेको सुनाए । ‘एकातिर गाउँमा सिंहदरबार आएको महशुष नभएको जनताको गुनासो, अर्कोतिर महिनामा आठ/दश दिन तलमाथि गर्दा हिँड्नु पर्ने दुःख थियो । त्यहीँ भएर कार्यालय सार्न लागेका हौं,’ साइपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराले भने, ‘पालिकाबाटै सबै सेवा दिने हाम्रो चुनावी प्रतिबद्धता पनि थियो ।’

उनले साइपालमा बैंक स्थापना भए पछि पालिका सार्नका लागि महत्त्वपूर्ण आधार बनेको बताए । गत असोजमा साइपालमा एभरेष्ट बैंकले शाखा स्थापना गरेको थियो । सबै जनप्रतिनिधि र कर्मचारीहरु पालिकामै बस्ने भए पछि सेवामा प्रभावकारिता आउने, कार्यक्रमको अनुगमन समयमै हुने भएकोले विकास निर्माणका काम छिटो र गुणस्तरीय हुने उनले बताए । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully