निर्वाचनमार्फत जनताले विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेको उनले उल्लेख गरेका छन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् ।
नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प र साधना आवश्यक पर्ने उल्लेख गरे । निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा उनले जोड दिएका छन् ।
मुलुकमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएका उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताए ।
राष्ट्रपति पौडेलले हालैै प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई उत्पन्न विषम परिस्थितिले निकास पाएको बताउँदै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको उल्लेख गरेका छन् । 'यो निर्वाचनमार्फत नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन्,' उनले भने, 'यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने सङ्कल्प गरौँ भन्ने पनि चाहेका छन् ।'
राष्ट्रपति पौडेलले नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने, सुशासनप्रति प्रतिबद्ध रहनुपर्ने, समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध हुनुपर्ने तथा जस्तोसुकै परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने गरी काम गर्नुपर्ने उल्लेख गरे । परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन नयाँ वर्षले प्रेरित गरोस् भन्ने उनले कामना गरेका छन् ।
