प्रहरी अधिकृतहरु यति सानो विवादमा यस्तो क्रुर र अमानवीय हत्या भएको पहिले नदेखेको बताउँछन् । ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटी भन्छन्, ‘अपराधलाई संलग्नलाई कारबाही गर्ने अनुसन्धान गर्ने पाटो त छँदैछ, तर जुन किमिसको आक्रामकता देखिएको छ, त्यो असाध्यै गम्भीर छ ।’
What you should know
काठमाडौँ — खासमा त्यो फोन परिचित मित्रका लागि थियो । तर, कुनै अंक गलत पर्दा ललितपुरको भोलढोकाका ३२ वर्षीय सञ्जु भनिने सञ्जीव नेपालीको मोबाइलमा रिङ बज्यो ।
‘उसले अरु नै मान्छेको नाम लियो, मलाई रिस उठ्यो,’ प्रहरीसँग नेपालीले भनेका छन्, ‘मैले पनि आँखा हेरेर नम्बर डायल गर भनिदिएँ ।’
फोन गर्ने इमाडोलका ३३ वर्षीय सुमित नेम्वाङ पनि के कम ? जसलाई पायो त्यसलाई फोन गर्छस् भन्दै गाली आएपछि ‘अश्लिल गाली’ फर्काए । अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा पुगिसकेका नेपालीलाई झनै रिस उठ्यो । उनले ‘तँ कहाँ छस् ?’ भन्दै सोधे ।
सुमित हिच्किचाएनन्, मंगलबजारमा रहेको बताइदिए । मासु पसलमा काम गर्ने नेपाली धारिलो हतियार बोकेर उनलाई भेट्न हिँडे । ‘त्यसअघि कहिल्यै भेट नभएकाले उनले कृष्ण मन्दिरको माथिल्लो ढोकामा आइज भनेछन्,’ ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटी भन्छन्, ‘त्यही अनुसार साढे ७ बजेतिर उनीहरुबीच भेट भएको रहेछ ।’
यो भेट हुँदा सुमितसँग उनका भाइ २५ वर्षीय सृजत नेम्वाङ पनि थिए, सञ्जीवले आफ्ना साथी २२ वर्षीय गगन सुनारलाई साथमा लिएर गए । ‘पुग्ने बित्तिकै झगडा सुरु भइहालेछ, उसले छुरा देखाउने बित्तिकै कुटाकुट भएको जस्तो देखिन्छ,’ बोगटी भन्छन् ।
सामाजिक सञ्जालमा हालै एउटा भिडियो समेत सार्वजनिक भएको छ, जसमा नेम्वाङ दाजुभाइले नेपालीलाई कुटपिट गरिरहेको देखिन्छ । त्यसबेला आसपासमा अरु मानिसहरु पनि थिए, तर छुट्याउन गएको देखिँदैन । ‘त्यो सबै यति चाँडै भइरहेको थियो कि छुट्याउन सक्ने अवस्था नै थिएन जस्तो लाग्छ,’ अनुसन्धानमा संलग्न अर्का एक अधिकृत भन्छन्, ‘जम्मा एक मिनेटमै घटना भइसकेको देखिन्छ ।’
उनका अनुसार, सुरुमा दुई दाजुभाइले उनलाई मरणासन्न हुने गरी कुटपिट गरे । त्यसबेला पनि छुरा उनीसँगै भएको देखिन्छ । जब मन्दिरबाट लडेर उनी केही तल पुग्छन्, त्यसपछि उठेर सुमितलाई चक्कु हानेको देखिन्छ । प्रहरीका अनुसार, पहिलो प्रहार नै उनको घाँटीमा लागेको थियो ।
दाइ सख्त घाइते भएपछि बचाउनलाई भाइ सृजनसमेत माथितिर पुगेका थिए । ‘तर उनलाई पनि हात, पेटसहित जथाभावी छुरा प्रहार गरिएको पाइएको छ,’ एसएसपी बोगटी भन्छन् ।
केहीबेरमै प्रहरी टोली घटनास्थलमा पुग्यो, उनीहरुले दुवै जनालाई उद्धार गरेर बीएण्डबी अस्पताल पुर्याए । राति साढे ८ बजे चिकित्सकहरुले दुवै जनाको मृत्यु भइसकेको घोषणा गरे ।
घटनालगत्तै भागेका सञ्जीव नेपालीलाई प्रहरीले केहीबेर पछ्याएपछि समात्न सफल भयो । प्रहरी प्रभाग, मंगलबजारमा कार्यरत प्रहरी जवान शाहान बोहोरा उनलाई समात्न जाँदा सुरुमा उल्टै आक्रमण गर्ने कोसिस गरेको प्रहरीको भनाइ छ ।
‘त्यति गर्दा पनि लेखेट्न नछाडेपछि उनी एक पसलभित्र छिरे,’ एसएसपी बोगटी भन्छन्, ‘त्यसपछि नेपालीलाई पक्राउ गर्न सफल भयौं ।’ घटनालगत्तै आरोपीलाई समात्न महत्त्वपूर्ण भूमिका खेलेर साहसिक काम गरेको भन्दै बोहोरालाई संगठनले सम्मानसमेत गरेको छ ।
पक्राउ पर्दा आरोपी नेपाली स्वयम् पनि घाइते अवस्थामा थिए ।
अहिले प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ र नियमित स्वास्थ्य जाँचसमेत गराइरहेको छ । ‘अहिले बयान लिने काम भइरहेको छ,’ एसएसपी बोगटी भन्छन्, ‘त्यसक्रममा विविध पाटोबारे सोधपुछ गरिरहेका छौं ।’
प्रहरी अधिकृतहरु यति सानो विवादमा यस्तो क्रुर र अमानवीय हत्या भएको पहिले नदेखेको बताउँछन् । ‘अपराधलाई संलग्नलाई कारबाही गर्ने अनुसन्धान गर्ने पाटो त छँदैछ, तर जुन किमिसको आक्रामकता देखिएको छ, त्यो असाध्यै गम्भीर छ,’ बोगटी थप्छन् ।
नेम्वाङको पारिवारिक स्रोतका अनुसार, उनीहरुको हजुरबुबा ब्रिटिस सेनामा कार्यरत थिए । हजुरआमा अहिले पनि बेलायतमै छन् । पछिल्लो समय नेम्वाङ दाजुभाइलाई समेत उतै लैजाने प्रक्रिया चलिरहेको थियो । त्यहीबीचमा दुवै जनाको हत्या भयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले संगठित संलग्नताभन्दा बढी व्यक्तिगत आवेग, बदला, पारिवारिक सम्बन्ध, आर्थिक लेनदेनको विषयलगायत कारणले हत्या हुने प्रवृत्ति पछिल्लो समयमा बढ्दो छ । आर्थिक वर्ष २०८१/८२ मा देशभरि ५२२ जनाको हत्या भएको थियो, ज्यान गुमाउनेमा २९६ पुरुष र १६५ महिला थिए । अघिल्लो आर्थिक वर्षभरिमा देशभर ६३८ जनाको हत्या भएको थियो, तीमध्ये ३३६ पुरुष र २०० महिला थिए ।
महिला र बालिकाको हत्या भएको घटनामा घरेलु हिंसा, जबर्जस्ती करणी र दाइजो प्रथा जस्ता कारण मुख्य देखिन्छन् । अन्य घटनामा समान्य विषयबाट विवाद सुरु भएको पाइएको अधिकृतहरु बताउँछन् ।
कुनै लामो योजना वा संगठित संलग्नताभन्दा तत्काल आवेगमा आएर मान्छेले किन हत्या गरिरहेको छ भन्ने प्रश्न मनोवैज्ञानिक विषयसँग जोडिने अधिकृतहरु बताउँछन् ।
‘अहिले भएका हत्याका अधिकांश घटनाका कारण परिवारभित्रै जोडिएका छन्, सामाजिक मूल्य–मान्यताका विषय पनि छन्,’ एक अधिकृत भन्छन्, ‘अहिले बाहिर आएका अपराधका घटना हेर्दा मानिसमा निराशा देखिन्छ, इच्छा, आकांक्षा परिपूर्ति गर्ने स्रोत, साधन नहुँदा मानिसले संयम गुमाएको देखिन्छ, कतिपय घटनामा बेरोजगारी पनि अपराधको कारक बनेको देखिन्छ ।’
अहिले भइरहेका व्यक्ति हत्याका कैयौं घटनालाई ‘विशुद्ध अपराध’ मात्र नभई मानिसको मनोविज्ञान, आत्मसन्तुष्टि र मानसिक स्वास्थ्यलाई समेत जोडेर हेर्नुपर्ने उनी बताउँछन् । एसएसपी बोगटीका अनुसार, मंगलबजार घटनाका आरोपी नेपालीको पहिल्यैदेखि ‘आक्रामक स्वभावको भएको’ बताउँछन् ।
घटना हुनुअघि केही दिनअघि मात्र पनि उनीमाथि प्रहरीले सोधपुछ गरेको खुलेको बोगटीको भनाइ छ । उनी भन्छन्, ‘अपराध नियन्त्रणका लागि ललितपुरमा स्वीच अपरेसन चलाइरहेका छौं, त्यसक्रममा शंका लागेर उनीमाथि समेत सोधपुछ भएको रहेछ ।’
थप अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।
