स्थानीय स्तरमा आगो निभाउने उपकरण नभएको र हावाहुरी लागेकाले नजिक जान समेत स्थानीयबासी डराउदा आगो बस्तीमा पुग्ने त्रास बढेको छ ।
What you should know
सल्यान — सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ५, ६ र ७ का सामुदायिक वनमा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । स्थानीय स्तरमा आगो निभाउने उपकरण नभएको र हावाहुरी लागेकाले नजिक जान समेत स्थानीयबासी डराउँदा आगो बस्तीमा पुग्ने त्रास बढेको छ ।
गाउँपालिकाको वडा नम्बर ५ स्थित घुसाबारी, हरियाली, देउराली, त्रिवेणी, सिमले, वडा नम्बर ६ को बयलडाडी, शान्ति र वडा नम्बर ७ को अम्लीसेनी, महालक्ष्मी, हरियालीलगायतका सामुदायिक वनमा डढेलो लागेको हो ।
डढेलोले अहिलेसम्म कति क्षति पुगेको छ भनेर खुलेको छैन । कालिमाटी गाउँपालिका–५ स्थित त्रिवेणी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर गाहामगरले हुरी चलेकाले आगोको लप्को टाढाटाढासम्म फैलिदा डढेलो नियन्त्रणमा लिन नसकिएको बताए ।
बयलडाडी सामुदायिक वनका अध्यक्ष मंगलसिंह महतराले सामुदायिक वनको विकट क्षेत्रमा डढेलो लागेकाले निभाउन नसकेको बताए । अघिल्ला वर्षहरूमा पनि वनमा आगो लाग्दा स्याउलाकै भरमा निभाउँदै आएको उनले बताए ।
कालिमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजालले एक साताअघिदेखि नै विभिन्न स्थानमा रहेका सामुदायिक वनमा डढेलो लागिरहेको बताए । डढेलोका कारण वातावरण प्रदुषित भएको उनले जानकारी गराए । उनका अनुसार वडा नम्बर ७ मा ९ सामुदायिक वन छन् । सबैजसोमा डढेलो लागेका छन् । डढेलोले कति हेक्टरमा क्षति पुर्यायो खुल्न नसकेको छैन ।
वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भटराईले केही दिनयता कालिमाटीका १६ वटा सामुदायिक वनमा डढेलो लागेको स्थानीयले जानकारी दिएको बताए । उनले धेरैजसो स्थानमा नियन्त्रणमा आइसकेको दाबी पनि गरे । कालिमाटीका सबै वडामा ६३ सामुदायिक वन छन् ।
सव डिभिजन कार्यालय कालिमाटीका प्रमुख सन्त थापाले ३ वडाका ३ सामुदायिक वनमा अहिले डढेलो लागिरहेको भौगोलिक विकटताका कारण स्थानीय उपभोक्ताले नियन्त्रणमा लिन नसकेको बताए । केही दिनअघि सामुदायिक वनका विभिन्न स्थानमा डढेलो लागे पनि ती सबै नियन्त्रणमा लिइसकेको उनले जानकारी गराए । डढेलोका कारण सानातिना बिरुवाबाहेक अन्य केही क्षति नभएको उनको भनाइ छ ।
