सरकारी काम ढिलो गर्दा जनताले लाभ पनि ढिलै पाउँछन् : सभामुख अर्याल

सरकारी काम ढिलो गर्दा जनताले लाभ पाउन ढिला हुने भन्दै विकास, समृद्धि र खुशी एक दिन पनि ढिला नगरी उपलब्ध गराउनुपर्ने भएकाले सोहीअनुरूप काम गर्ने उनको तर्क थियो।

चैत्र २९, २०८२

पोषनाथ अधिकारी

When government work is delayed, people also receive benefits late: Speaker Aryal

धादिङ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आफूले निष्पक्ष, इमान्दार र तटस्थ भएर नेपाली जनता र देशका लागि संविधानले परिकल्पना गरेको तथा निर्माण हुन बाँकी रहेका कानुन निर्माण गर्ने र संशोधन गर्न आवश्यक रहेका कानुन संशोधन गर्ने कार्यलाई फास्ट ट्र्याकमा अगाडि बढाउने बताएका छन् ।

जन्मभूमि धादिङको ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमुना र स्वच्छ गाउँ घोषणा गर्ने कार्यक्रममा सहभागी हुन आउँदा सदरमुकाम धादिङबेँसीमा पत्रकारसँगको भेटघाटका क्रममा बोल्दै सभामुख अर्यालले आज गरिने निर्णयले भोलिदेखि नै जनता लाभान्वित हुने गरी काम गर्न जरुरी रहेको बताए।

सरकारी काम ढिलो गर्दा जनताले लाभ पाउन ढिला हुने भन्दै विकास, समृद्धि र खुशी एक दिन पनि ढिला नगरी उपलब्ध गराउनुपर्ने भएकाले सोहीअनुरूप काम गर्ने उनको तर्क थियो।

उनले यो जनताको सरकार हो भन्ने कुराको महसुस गराउने गरी व्यवस्थापिकाको तर्फबाट कार्यपालिका र तीन तहको सरकारसँग समन्वय गर्ने, तीनै तहका कानुन नबाझिने गरी एकअर्कासँग समन्वय गरेर काम गर्ने वातावरण निर्माण गर्ने पनि बताए ।

उनले देशमा प्रणालीकै सुधार गर्नुपर्ने भएकाले सकारात्मक सोच राखेर काम गर्न सबैलाई आग्रहसमेत गरे।

सभामुख भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका सभामुख अर्यालले जिल्लाको भविष्य र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको बुढीगण्डकी आयोजनाको काम अब छिट्टै सुरु हुने पनि बताए।

पोषनाथ

Link copied successfully