यो सिजनको पहिलो आरोहण आमा दब्लम शिखरमा

३ नेपाली गाइड र २ जना अमेरिकी नागरिकले आमा दब्लम शिखरको आरोहण गरेका हुन् ।

चैत्र २९, २०८२

सुरज कुँवर

First ascent of this season on Ama Dablam peak

What you should know

काठमाडौँ — फ्रेन्ड्स एडभेन्चर टिम प्रालिद्वारा आयोजित ‘एटिट्युड माउन्टेन आमा दब्लम एक्सपेडिसन २०२६’ टोलीले सफलतापूर्वक प्राविधिक रूपमा चुनौतीपूर्ण शिखर आमा दब्लम (६,८१२ मिटर) मा सफल आरोहण सम्पन्न गरेको छ ।

यो बसनकालीन याम २०२६ को पहिलो सफल आरोहण भएको नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र लामाले बताए ।

अनुकूल मौसमबीच सम्पन्न यस सफल आरोहणमा नुरु वान्छु शेर्पा, माउन्टेन गाइड (नेपाल), रोहन थापा मगर, माउन्टेन गाइड (नेपाल), लालवीर तामाङ, माउन्टेन गाइड (नेपाल), निकोलस चार्ल्स ट्यानर, संयुक्त राज्य अमेरिका र एरियाना ब्रोनवेन थोमस, संयुक्त राज्य अमेरिकाबाट सहभागी थिए । 

टोलीका सबै सदस्यहरू सुरक्षित रूपमा शिखरबाट आइतबार अवतरण गरिरहेको जनाइएको छ ।

आमा दब्लम (६,८१२ मि.) हिमाललाई हिमालयको सबैभन्दा सुन्दर, तर प्राविधिक रूपमा कठिन शिखरमध्ये एक मानिन्छ । सिजनको पहिलो सफल आरोहण प्राप्त हुनु पर्वतारोहण इतिहासमा महत्त्वपूर्ण उपलब्धि मानिन्छ । जसले वसन्त २०२६ को पर्वतारोहण सिजनलाई अत्यन्त सकारात्मक सुरुवात दिएको छ ।

नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य लामाले यस सफलताप्रति खुसी व्यक्त गर्दै, ‘आमा दब्लममा भएको यो सफल आरोहणले नेपाललाई विश्व पर्वतारोहणको प्रमुख गन्तव्यका रूपमा अझ मजबुत बनाएको’ बताए । 

यसले नेपाली गाइडहरूको क्षमता, सुरक्षा व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ । 

शुक्रबारसम्म आमा दब्लमका लागि ५ वटा आरोहण दलका ५८ जनाले अनुमति लिइसकेका छन् । पर्यटन विभागका अनुसार, शुक्रबारसम्म सगरमाथासहित २३ हिमाल आरोहण गर्न नेपालसहित ६४ देशका ५ सय ४४ जनाले अनुमति पाइसकेका छन् । 

सगरमाथा आरोहणमा मात्रै ४० वटा देशबाट १ सय ९९ विदेशीले अनुमति लिएका छन् । विभागले हालसम्म हिमाल आरोहणबाट ५२ करोड ५४ लाख सलामी दस्तुर संकलन गरिसकेको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully