बढ्दो महँगी, घट्दो आम्दानी: श्रमिकको दैनिकी झन् कठिन

बिहानदेखि बेलुकासम्म खटेर कमाएको पैसाले अहिलेको महँगी धान्न निकै गाह्रो भएको श्रमिकहरुको गुनासो छ ।

चैत्र २८, २०८२

आरती पौडेल

Rising inflation, falling income: Workers' daily lives are becoming more difficult

What you should know

काठमाडौँ — महँगी दिनहुँ चुलिँदै गएको छ । खाडीको द्वन्द्वपछि खाद्यान्नदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गइरहँदा त्यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परेको छ । अर्कोतिर आम्दानी घट्दै जाँदा दैनिक श्रम गरेर जीविका चलाउनेहरूले आफूहरु झनै मारमा परेको गुनासो गरेका छन् । बिहानदेखि बेलुकासम्म खटेर कमाएको आम्दानीले अहिलेको महँगी धान्नै मुस्किल भएको उनीहरूको भनाइ छ । उनीहरू के काम गरेर परिवार धानिरहेका छन् ? बढ्दो महँगीले उनीहरूको दैनिकीमा कस्तो असर पारेको छ ? यी र यस्तै विषयमा हामीले केही श्रमिकसँग कुराकानी गरेका छौँ ।

काठमाडौंको सुन्धारास्थित नेपाल वायुसेवा निगमको कार्यालय नजिकै टेम्पोहरु लस्करै पार्किङमा राखिएका छन् । त्यहाँ पुग्दा मोबाइलको ग्लास फेर्ने ७० मा..., मोबाइलको ग्लास फेर्ने ७० मा... आवाज एकोहोरो स्पिकरबाट घन्किरहेको थियो । मोबाइलका कभर, ग्लास, चार्जर लगायतका सामग्री नजिक ह्विलचियरमा बसिरहेका थिए- कमल क्षेत्री । जुम्ला घर भएका २६ वर्षीय उनले तीन वर्षयता उक्त व्यवसाय गर्दै आएको बताए । उनका दुवै खुट्टा छैनन् । उनी ह्विलचियरको सहायतामा मात्रै काम गर्ने सक्छन् । ८ वर्ष अगाडि जुम्ला जाने बाटोमा गाडी दुर्घटनामा परेर खुट्टा गुमेको उनले सुनाए । 

Rising inflation, falling income: Workers' daily lives are becoming more difficult

कमल हरेक दिन बिहान ११ बजे बालाजुमा रहेको कोठाबाट सामान लिएर चारपांग्रे स्कुटर लिएर निस्कन्छन् । सधैँ सामान बेच्ने स्थानमा आएर सामान मिलाउँछन्, दिउँसोभरि सामान बेच्छन् र बेलुका ७ बजेतिर घर फर्किन्छन् । उनले कमाएको पैसाले घरखर्च चल्ने गरेको छ । तर, उनी पहिलाको जस्तो व्यापार अहिले नभएको गुनासो सुनाउँछन् ।

‘जेन-जी आन्दोलनभन्दा अगाडि ५ हजारसम्म हुन्थ्यो । अहिले १ हजार कहिले ५०० भन्दा हुँदैन ।’ परिवारसँग बस्दै आएका कमल महँगी निकै बढेको गुनासो गर्छन् । आफूले बेच्ने सामानमा पनि बढेको छ भन्दै थोरै थोरै भएपनि पहिलाको भन्दा महँगो पैसा लगाउँछन्,’ उनले भने, ‘रासनको त के कुरा गर्नु सबै बढेको छ ।’ अन्य समयमा आफ्नो कमाइले सजिलै घरखर्च पुगेर पनि बचत गर्ने गरेको सुनाउने उनी अहिले भने खर्च धान्न पनि गाह्रो भएको सुनाउँछन् । ग्यास पनि नपाउँदा निकै गाह्रो भएको उनले बताए ।

खाडीको युद्धले गर्दा महँगी बढेको छ र बिस्तारै कम हुँदै जाला भन्नेमा उनी आशावादी छन् । उनी नयाँ बनेको सरकारसँग पनि आफ्नो ठूलो आशा रहेको सुनाउँछन् । ‘हरेक व्यक्तिले त्यही देशमा केही काम गरेर खान सक्ने वातावरण यो सरकारले बताउनुपर्छ । साथै अपांगता भएका व्यक्तिहरूको लागि पनि कामको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘व्यवसाय गर्न चाहनेका लागि पनि सरकारले विभिन्न कार्यक्रम ल्याएर प्रोत्साहन तर्फ लाग्नुपर्छ ।’ 

०००

सर्लाही चक्रघट्टा–५ घर भएका विनोद राम काठमाडौंमा १३ वर्षदेखि जुत्ता सिलाउँदै आएका छन् । विनोदले कमाएको पैसाले नै उनको परिवार धानिएको छ । तीनकुने चोकैमा बसेर जुत्ता सिलाउने उनी हरेक सामान महँगो भएको बताउँछन् ।

Rising inflation, falling income: Workers' daily lives are becoming more difficult

‘हामीले जुत्ता बनाउने सामान किन्दा हरेक सामानमा ५ देखि १० रुपैयाँ भएपनि बढाइराखेको छ । जुत्ता पोलिसदेखि लिएर सबै कुरा बढेको छ,’ उनले भने, ‘तर, हामीले केही सामानको मूल्य बढाएको छैन । जुत्ता सिलाएपछि १०० रुपैयाँ भयो भन्दा ग्राहकले ६० रुपैयाँ दिन्छु भन्नुहुन्छ । झन् बढायो भने त त्यही पनि नहुने हो कि भन्ने पिर ।’

अहिले मान्छेहरू छालाको जुत्ता कम लगाउने गर्दा आफ्नो कमाइ घट्दै गएको उनको अनुभव छ । ‘आजकल मान्छेहरू कपडाको जुत्ता लाउने गर्छन् । छालाको जुत्ता लाउनै छाडे । त्यही भएर पनि होला पहिलाको जस्तो अहिले छैन,’ उनले भने, ‘पहिला १५ सयसम्म हुन्थ्यो । अहिले त धेरै भनेको ७ सय हो, महँगी बढेको छ कमाइ बल्ल यति छ ।’

विनोद काठमाडौंमा साथीसँग मिलेर बस्दै आएका छन् । आफू मात्र बस्दा महँगो हुने भएर दुई जना मिलेर बसेको उनले सुनाए । रासन हरेक दिन किन्ने हुनाले महँगी निरन्तर बढेको आफूलाई थाहा हुने बताउँछन् ।

आफ्नो कमाइ राम्रोसँग नहुँदा परिवारलाई समेत गाह्रो हुने गरेको उनले सुनाए । ‘गाउँमा हरेक महिना पैसा पठाउनुपर्छ । जग्गा जमिन छैन खेती गर्नलाई के गर्नु घरमा पठाउनै पर्‍यो । मेरो कमाइ नहुँदा दुईतिरै गाह्रै हुन्छ,’ उनले भने, ‘त्यहाँ कोठामा एक्कैचोटि सामान किन्ने गरेको छैन । हरेक दिन एक, दुई केजी गर्दै चामल, तरकारी किन्छौँ । त्यही भएर एकदमै बढेको महसुस भएको छ ।’

०००

राजन प्रजापति २५ वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । १५ वर्षसम्म गाडी चालकको रूपमा काम गरेका उनी अहिले भने पानी बेचेर गुजारा चलाइरहेका छन् । नुवाकोट घर भएका उनी अहिले गोकर्ण बस्छन् । गोकर्णबाट उनी हरेक दिन बिहान पानी बेच्नको लागि न्युरोड आउँछन् ।

Rising inflation, falling income: Workers' daily lives are becoming more difficult

उनले पनि महँगी बढेको बताए । ‘पहिला मैले बेच्ने गरेको पानीको प्याकेटलाई १ सय ४० पर्थ्यो । अहिले बढेर १ सय ७० पुगेको छ । पानीको मूल्य त बढेको छ अरूको के कुरा गर्नु,’ उनले भने । 

काठमाडौं एक्लै बस्दै आइरहेको सुनाउने उनी हरेक पसलमा फरक भाउ हुने गरेको बताए । ‘नयाँ सरकारले हरेक दोकानले बिल दिनुपर्ने व्यवस्था गर्नुपर्छ । नत्र एउटै सामानको पनि कोहीले कुन मूल्य, कोहीले कुन मूल्य गर्छन्,’ उनले भने ।

खाडीको युद्धबारे खासै थाहा नपाएको बताउने उनी नेपालको नयाँ सरकारले भने धेरै काम गरोस् भन्ने आशा रहेको सुनाए । ‘युद्ध चलेको छ भन्ने त सुनेको छु । कसको र किन भन्ने थाहा छैन । नेपालमा भने सरकारले लामो समयसम्म विभिन्न काम गरेका मान्छेलाई भत्ता दिनुपर्ने बनाए हुन्थ्यो,’ उनले भने, ‘मैले १५ वर्षभन्दा बढी गाडी चलाएँ । अहिले न पैसा छ न बचत । त्यसैले हरेक क्षेत्रमा राम्रो नियम होस् भन्ने छ ।’ अहिले खाडीको युद्धको कारण सबै जना मर्कामा परेपनि आउँदा दिनमा महँगी हटेर जाओस् भन्ने रहेको उनले सुनाए । 

०००

न्युरोडमा फुटपाथमा हिँड्ने मान्छेको भीड निकै देखिन्छ । मानिस एकले अर्कालाई धकेल्दै आफ्नो गन्तव्य स्थलतर्फ जान रफ्तारमा कुदिरहेका छन् । त्यसै भीडभन्दा छेउको एक कुनामा निकै शान्त मुद्रामा पानी बेच्न बसिरहेका देखिन्छन् एक वृद्धा । कपाल सेताम्मे फुलेका उनी हुन्, ८४ वर्षका चेतनाथ ढकाल ।

धादिङ घर भएका उनी १३ वर्षयता फुटपाथमा काम गरेर जीविकोपार्जन गरिरहेका छन् । १० वर्षजति उनले धूप, नेलकटरजस्ता विभिन्न सामान फुटपाथमा राखेर बेच्ने गर्थे । त्यसपछि ३ वर्षयता भने पानी बेच्दै आएका छन् । ३४ वर्ष अगाडि श्रीमती गुमाएका ढकालका चार छोरी र एक छोरा छन् । तर, सबै आफ्नै जीवनमा व्यस्त । त्यसैले आफ्नो ज्यान पाल्नको लागि उक्त व्यापार गर्ने गरेको उनले सुनाए ।

फुटपाथलाई नै आफ्नो छाक टार्ने स्रोत बनाएका उनी पनि अहिले महँगी बढेको सुनाउँछन् । ‘बिहान किनेको पानी पहिलाकै भाउमा किनेको थिएँ । त्यो सक्किएर फेरि किन्न जाँदा बिहानको भाउभन्दा ३० रुपैयाँ बढी लियो,’ उनले भने, ‘मनपरी मूल्य नगर भनेर गाली पनि गरेको थिएँ । पसलै पिच्छेको भाउ हुन्छ ।’ 

उनी बिहानै ८ बजेतिर वनस्थलीदेखि यहाँ आउने र बेलुका ५ बजेसम्म व्यापार गरेर कोठामा जाने सुनाए । ‘बिहानको खाना बाहिरै खान्छु । बेलुका भने कोठामा गएर पकाउँछु,’ उनले भने ।

०००

पछिल्लो समय आम्दानी सुक्दै गएको गुनासो चालकहरूको पनि छ । त्यसैमध्येका एक हुन्, सन्तोष बुढाथोकी । सोलु लिखु पिके गाउँपालिका–३ घर भएका सन्तोष टेम्पो चालक हुन् । उनी ३ वर्षयता उक्त काम गरेर घर परिवार पालिरहेका छन् । टेम्पो चालक हुनुभन्दा अगाडि ज्यामी काम गर्ने गरेको उनले सुनाए । १६ वर्ष अगाडिदेखि काठमाडौंमा संघर्ष गर्दै आएका उनी भनेको जस्तो व्यापार हुन छोडेको गुनासो गर्छन् । ‘पहिला टेम्पो चलाएर ३५ सयसम्म कमाइ हुन्थ्यो । अहिले पहिलाको जस्तो कत्ति आम्दानी छैन,’ उनले भने ।

Rising inflation, falling income: Workers' daily lives are becoming more difficult

परिवारसँग भक्तपुर बस्दै आइरहेका उनी बिहान ६ बजेबाट आफ्नो पालो कुरेर टेम्पो चलाउन थाल्छन् । अनामनगर, गौशाला रुटमा हरेक दिन हिँड्ने उनी व्यापार नभएको देखेर चिन्ता लाग्ने गरेको सुनाए । रासन खर्च, छोराछोरीको पढाउँदा सबै कुरामा खर्च हुने भएपनि पैसा आउने बाटो बन्द हुँदै गएको उनको गुनासो छ । ‘हरेक सामानको मूल्य बढेको छ । आम्दानी भने ह्वात्तै घटेको छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बढेको बढ्यै छ । कस्सो टेम्पो भने चार्ज गरेपछि चल्छ र थोरै भए'नि राहत भएको छ । नत्र कमाइ छैन पेट्रोल हाल्न पर्ने भए के हालत हुन्थ्यो होला । एक जना मान्छे लिएर जान पर्छ बाटोमा रोक्न पाइँदैन । त्यस्तो तालले के कमाई हुन्थ्यो ।’

०००

गंगा तामाङ पनि टेम्पो चालक हुन् । ३३ वर्षीया उनी ६ वर्षदेखि टेम्पो चलाउँदै आएकी छन् । नयाँ बानेश्वरमा परिवारसँग बस्दै आएकी उनले पनि पहिलाको जस्तो आम्दानी नहुने गरेको सुनाउँछिन् । ‘काठमाडौंमा अहिले त मान्छे नै कम छन् जस्तो लाग्न थालेको छ,’ उनले भनिन्, ‘पहिला कति धेरै आम्दानी हुन्थ्यो अहिले त सारै कम हुन्छ । केही समय अगाडिसम्म ६ हजारसम्म कमाइ हुन्थ्यो । अहिले १५ सय कमाउन पनि गाह्रो हुन्छ ।’

Rising inflation, falling income: Workers' daily lives are becoming more difficult

उनले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्ने गरेको सुनाइन् । बिहानदेखि बेलुकासम्म काम गर्दा पनि सोचेजस्तो आम्दानी नहुँदा चित्त दुख्ने गरेको सुनाइन् । ‘कहिले टेम्पो खाली समेत हुन्छ । पालो आएपछि जाँदिनँ भनेर भएन,’ उनले भनिन्, ‘मान्छे कम हुँदा बेलुका साहुलाई दिने पैसा समेत हुने भएन भन्ने सोच्दै हिँड्नुपर्छ ।’ गंगा ग्यास नपाएर धेरै भौँतारिएको र निकै समय खोजेपछि ग्यास पाएको सुनाइन् । परिवारको साथ र हौसलाले गर्दा नै आफूले टेम्पो चलाउने गरेको सुनाइन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully