२४ घण्टाभित्र विमानस्थलमा परिवर्तन देखिने गरी सुधार गर्न पर्यटन मन्त्रालयको निर्देशन 

हरेक विमानस्थलमा शिशु स्तनपान तथा शिशु हेरचाह कक्ष अनिवार्य हुनै पर्छ । सफा, सुरक्षित र गोपनीयता कायम हुने स्तनपान तथा बेबी-चेन्जिङ कक्ष सञ्चालन नगर्ने विकल्प विमानस्थलहरुलाई अब रहने छैन ।

चैत्र २७, २०८२

सुरज कुँवर

Ministry of Tourism directs to make visible improvements at the airport within 24 hours

What you should know

काठमाडौं — देशभरका सबै विमानस्थलका यात्रु सेवामा २४ घण्टाभित्र देखिने गरी सुधार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ । 

पर्यटनमन्त्री खडकराज पौडेलको निर्देशन अनुसार, मन्त्रालयले शुक्रबारदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै विमानस्थलमा यात्रुको गुनासा र सुझावलाई आधार मान्दै तत्काल सेवा सुधार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको हो । 

मन्त्रालयका सचिव मुकुन्द निरौलाद्वारा जारी निर्देशनले विमानस्थल व्यवस्थापनलाई थप जिम्मेवार बनाउँदै यात्रु सेवालाई प्राथमिकतामा राखेको छ । आन्तरिक विमानस्थलका यात्रुहरूले हरेक टिकटमा यात्रु सेवा शुल्कका नाममा ५०० रुपैयाँ अनिवार्य तिर्नुपर्छ । 

मन्त्रालयका निर्देशन अनुसार हरेक विमानस्थलमा शिशु स्तनपान तथा शिशु हेरचाह कक्ष अनिवार्य हुनै पर्छ । सफा, सुरक्षित र गोपनीयता सुनिश्चित हुने स्तनपान तथा बेबी-चेन्जिङ कक्ष सञ्चालन नगर्ने विकल्प विमानस्थलहरूलाई छैन । त्यस्तै ज्येष्ठ नागरिक, बिरामी र फरक क्षमता भएका यात्रुका लागि प्राथमिक उपचार कक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने छ ।

यसले आकस्मिक स्वास्थ्य समस्या भएका यात्रुलाई तुरुन्त सहयोग पुर्याउने अपेक्षा गरिएको छ । महिला यात्रुको सुविधालाई ध्यानमा राख्दै प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन पनि निर्देशन दिइएको छ । यसअघि नेपालमा कुनै पनि विमानस्थलमा स्यानिटरी प्याडको नि:शुल्क सेवा थिएन । 

अत्याधिक आलोचना हुने विमानस्थलका शौचालयको सरसफाइमा विशेष कडाइ गरिएको छ । अब दैनिक सरसफाइको प्रभावकारी व्यवस्था लागू गर्नुपर्ने, विश्व स्वास्थ्य संगठन  र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मापदन्ड अनिवार्य पालना गर्नुपर्नेछ । साथै विमानस्थल प्रमुखबाट नियमित अनुगमन र निरीक्षणलाई पनि प्राथमिकता दिइएको छ ।

मन्त्रालयले यी सबै व्यवस्था २४ घन्टाभित्र कार्यान्वयन गरी फोटोसहितको प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ । निर्देशन अवज्ञा गरे कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ । यात्रुहरूलाई पनि गुनासा वा सुझाव सम्बन्धित निकायमा पठाउन आग्रह गरिएको छ ।

प्राधिकरणले हरेक वर्ष कम्तिमा ४० करोड रुपैयाँ सरसफाईमा तेस्रो पक्ष ठेक्दारमार्फत खर्च गर्छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully