बित्थडचिर गाउँपालिका-१ तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्वगाउँपालिका अध्यक्षसँग मिलेर खेल मैदान निर्माण गर्दा कमसल निर्माण सामाग्री प्रयोग गरेको, प्राविधिक रूपमा उक्त ठाउँको डीपीआर नगरी निर्माण गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
काठमाडौँ — विशेष अदालतले बझाङको बित्थडचिर गाउँपालिका-१ को बित्थड खेल मैदान निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गाउँपालिकाका पूर्वनिमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, तत्कालीन सबइन्जिनियर गणेशराज उपाध्याय, तत्कालीन लेखापाल हर्कदेव जोशी, दिपेन्द्रबहादुर बोहोरा, वीरबहादुर बोहोरा र निलम भण्डारीलाई दोषी ठहर गर्दै ३ महिना कैदको फैसला सुनाएको छ । विशेष अदालतले दिपेन्द्र, वीरबहादुर र निलमलाई मतियारमा दोषी ठहर गरेको हो । उनीहरूलाई २ लाख ४४ हजार ४१७ रुपैयाँ जरिवाना हुने फैसलामा उल्लेख छ ।
बित्थडचिर गाउँपालिका-१ तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्वगाउँपालिका अध्यक्षसँग मिलेर खेल मैदान निर्माण गर्दा कमसल निर्माण सामाग्री प्रयोग गरेको, प्राविधिक रूपमा उक्त ठाउँको डीपीआर नगरी निर्माण गरेको, काम सम्पन्न नगरी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
खेल मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र सांसद विकास कोषबाट १५ लाख बजेट विनियोजन गरिएको थियो । आपसी मिलोमतो तथा योजना बनाई गैरकानुनी लाभ लिने कार्य गरेको अख्तियारको दाबी छ । उनीहरूविरुद्ध १४ लाख ६६ हजार ५०३ जनही बिगो कायम गरिएको थियो ।
