डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङले २३ पुस र कुमार न्यौपानेले १ फागुनमा अनिवार्य अवकास पाइसकेका छन् भने मन्त्रिपरिषदको २ मंसिरको बैठकले तीनजना डीआईजीको दरवन्दी थप गरेको थियो, तर अवकासमा गएका र दरवन्दी थप पदमा बढुवा भने हुन सकेको छैन
What you should know
काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ)मा सात जना नायव महानिरीक्षक (डीआईजी)को पद रिक्त भए पनि सरकारले बढुवा प्रक्रिया नै रोकेको छ । नियमित अवकासमा गएका चार र दरवन्दी थप गरिएका तीन गरी सशस्त्रमा हाल सात डीआईजीको पद रिक्त छ । तर, रिक्त पदपुर्ति गर्न गृह मन्त्रालयले बढुवा प्रक्रिया रोकेर राखेको हो ।
गृहसचिव अध्यक्ष रहेको सिफारिस समितिका आधारमा गृहमन्त्री सतरीय निर्णयबाट डीआइजी बढुवा गर्ने व्यवस्था छ । तर, गृह मन्त्रालयले यसको प्रक्रिया नै अघि बढाएको छैन । २ मंसिर २०८२ मा मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गराउँदै प्रशासन (साधारण समूह) तर्फ दुई र कानुन समूहमा एक गरी तीन डीआईजी दरबन्दी थप गरेको थियो । अर्को महिना २३ पुसमा डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ अवकासमा गएका थिए ।
त्यसको दुई महिनापछि १ फागुनमा अर्का डीआईजी कुमार न्यौपानेले पनि अवकास पाएका थिए । यसरी अवकाशमा गएका चार र दरवन्दी थप भई आएका तीनसहित रिक्त सात डीआईजीमा बढुवा रोकिएको हो । रिक्त पदमा बढुवा गर्न सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारकै पालामा प्रक्रिया अघि बढाउन खोजिएपनि सुरु नै गरिएन ।
१३ चैतमा वालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले पनि बढुवा नगरी रोकेर राखेको हो । नेपाल प्रहरीबाट सेवा स्थानान्तरण भई सशस्त्रमा गएका एक र सशस्त्र प्रहरीकै दुई नम्बर बेसिकका १२ गरी कूल १३ जना प्रतिस्पर्धामा छन् । दुई नम्बर बेसिकका दीपेन्द्र कुँबर र विष्णुप्रसाद भट्ट भने फागुन २०८१ मै डीआइजीमा बढुवा भइसकेका छन् । सोही ब्याजीका १२ र प्रहरीबाट आएका एकसहित १३ जना यो बढुवामा प्रतिस्पर्धामा छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले यसअघि गृह प्रशासन सिंगै निर्वाचन सम्पन्न गराउन लागेकोले बढुवा प्रक्रिया अघि बढ्न नसकेको भन्दै अब नियमित प्रक्रियामा बढ्ने बताए । ‘रिक्त र थप गरिएका दरवन्दीमा अब नियमित प्रक्रियाबाट बढुवा अघि बढ्छ,’ काफ्लेले भने, ‘यसअघि निर्वाचन आचारसंहिता पनि लागेको थियो, निर्वाचन सुरक्षा व्यवस्थामा हामी सबै लाग्नुपर्ने स्थिति थियो, अब यसलाई अघि बढाइन्छ ।’
वैशाख तेस्रो साता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अवकास पाउँदैछन् । अवकासमा जानु अघि नै रिक्त पदमा बढुवा गर्ने प्रयासमा महानिरीक्षक अर्याल रहेपनि गृहबाट प्रक्रिया अघि नबढेको हो । अर्याल अवकासमा गएपनि नारायणदत्त पौडेल र बंशीराज दाहाल नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । सशस्त्रमा रिक्त डीआइजीको बढुवा नयाँ आइजीपी आएपछि गर्नुपर्ने भन्दै गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठलाई दवाव बढाइएको र त्यहीकारण प्रक्रिया अघि नबढेको हुनसक्ने सशस्त्रकै एक अधिकारीको टिप्पणी छ ।
बढुवा रोकिएका कारण सशस्त्र प्रहरी स्टाफ कलेज, नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत, नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली हाल एसएसपीको भरमा राखिएको छ । त्यस्तै सशस्त्र प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गतको निर्देशनालयको नेतृत्व पनि एसएसपीको भरमा छ । त्यस्तै ओएन्डएम संसोधन थप भएपछि प्रशासन तर्फ दुई र कानुन तर्फ एक डीआइजीमा पनि बढुवा हुन सकेको छैन ।
