गैंडाको आक्रमणबाट घाइते सैनिकको काठमाडौंमा उपचार भइरहेको छ ।
चितवन — चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा रहेको सैनिक टोलीले आत्मरक्षाका लागि चलाएको गोली लागेर एक गैँडाको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट घाइते भएका सैनिकको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । उक्त घटना हिजो बिहीबार दिउँसो १ बजेतिर भएको हो ।
निकुञ्जमा तैनाथ सेनाको नयाँ गोरख गणको सेरी सुरक्षा पोष्टबाट गस्तीमा गएको सैनिक टोली र अर्धवयस्क बच्चासहितको गैंडासँग भेट हुँदा गैँडाले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनास थापा मगरले जानकारी दिए । गस्ती टोलीका एक सैनिकलाई गैँडाले आक्रमण गरेपछि सुरुमा १० राउण्ड हवाइ फायर गरेर भगाउने प्रयास गरेको उनको भनाइ छ । त्यति गर्दा पनि नभागेपछि अर्का सैनिकले थप ४ राउण्ड हवाइ फायर गरेको उनले बताए ।
त्यसपछि पनि गैँडाले आक्रमण गर्न नछाडेपछि २ राउण्ड गोली प्रहार भएको सूचना अधिकारी थापा मगरको भनाइ छ । घाइते सैनिकको ज्यान जोगाउन बाध्यात्मक अवस्थामा उक्त कदम उठाएको उनले दाबी गरे । त्यसरी हानेको गोलीमध्ये एउटा गोली पेटभन्दा माथि करङ्गमा लागेको थियो । पोष्टमार्टम गर्दा फोक्सोमा गोलीले प्वाल पारेको भेटिएको थापा मगरले जानकारी दिए । निकुञ्जले घाइते सैनिकको नाम ठेगना परिचय खुलाएको छैन । उनको छाउनी अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा उपचार भइरहेको छ ।
