सरकारले साताको २ दिन बिदा दिने घोषणा गरेपछि केही सरकारी अस्पतालले ओपीडि सेवा बन्द गर्ने निर्णय गरेका थिए ।
काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सरकारले शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु गरेको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइ राख्न स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सरकारले साताको २ दिन बिदा दिने घोषणा गरेपछि केही सरकारी अस्पतालले ओपीडि सेवा बन्द गर्ने निर्णय गरेका थिए । तर, बिरामीलाई पर्न सक्ने असहज अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आइतबार पनि ओपीडि सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्ति मुल्यांकन गर्दै आइतबार ओपीडी सेवा सञ्चालनमा ल्याउनु पर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, आइतबार सेवा प्रवाहमा खटिने कर्मचारीलाई शनिबारबाहेक साताको अर्को दिन बिदा दिने वा त्यसो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
प्रादेशिक अस्पतालहरूमा समेत आइतबार ओपीडी सेवा सञ्चालनमा ल्याउने र कर्मचारीहरूको हकमा सोहीअनुसार व्यवस्था मिलाउन सातै प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयलाई समन्वयन गर्न समेत भनिएको छ ।
