मोरिससमा आयोजित हिन्द माहासागर सम्मेलन(इन्डियन ओसियन कन्फरेन्स)मा भाग लिन पुगेका बेला खनाल र जयशंकरबीच ‘साइड लाइन’ भेटवार्ता भएको हो ।
काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले मोरिससमा भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
मोरिससमा शुक्रबार आयोजित हिन्द माहासागर सम्मेलन(इन्डियन ओसियन कन्फरेन्स)मा भाग लिन पुगेका बेला खनाल र जयशंकरबीच ‘साइड लाइन’ भेटवार्ता भएको हो । भेटवार्तामा दुवै नेताले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त भेटमा पारस्परिक हितका विषयहरूमा रचनात्मक तथा भविष्य उन्मुख छलफल भएको मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरेको छ । भेटमा दुवैजनाले द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा खनाललाई बधाई समेत दिएका छन् ।
मन्त्री खनालले भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्ध बारे समीक्षा गरिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले पारस्परिक हितका विषयमा सकारात्मक र दुरदर्शी छलफल भएको भनेका छन् । छलफलले दुई देशबीचको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको उनले भनेका छन् ।
त्यस्तै, जयशंकरले पनि दुई देशबीच विभिन्न क्षेत्रहरूमा सहकार्यमार्फत साझेदारीको पूर्ण सम्भावनालाई साकार पर्ने विषयमा छलफल भएको ‘एक्स’ मा लेखेका छन् । त्यस्तै, मन्त्री खनालले मोरिसस सम्मेलनमै भाग लिन आएका भुटानका विदेशमन्त्री डीएन ढुंगेलसँग पनि भेटवार्ता गरेका छन् । भारतको विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित थिंक टैंक इन्डिया फाउन्डेसनले मोरिससमा हिन्द माहासागार सम्मेलनको आयोजना गरेको हो । उक्त सम्मेलन २७-२९ चैतसम्म चल्नेछ ।
