कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न थापा पक्षको पनि बहस सुन्नुपर्ने भन्दै यस्तो आदेश गरेको हो ।
What you should know
काठमाडौं — कांग्रेसको आधिकारिकता विवादसम्वन्धी रिटमा सर्वोच्च अदालतले सभापति गगन थापा पक्षलाई नयाँ रिट दर्ता ( २६ चैतमा) भएको बारे पेशीको सूचना दिने र साथै राखेर अर्को सुनुवाइ गर्ने आदेश गरेको छ ।
कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न थापा पक्षको पनि बहस सुन्नुपर्ने भन्दै यस्तो आदेश गरेको हो ।
२६ चैतमा शेरबहादुर देउवा पक्षले नियमित महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै पुरक निवेदन दिएकाे थियो । यसअघि नै दर्ता भएको रिटलाई पनि साथै राखेर हेरिनुपर्ने माग देउवा पक्षको थियो । तर, सर्वोच्चले एकतर्फी रुपमा अन्तरिम आदेश जारी नहुने भन्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
४ माघ २०८२ मा गगन थापालाई पार्टीको आधिकारिकता दिने निर्णयविरुद्ध रिट दायर भएको थियो । पार्टीको आधिकारिकतासम्बन्धी विवाद नटुंगिदासम्म १५औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न पछिल्लो रिटमा माग गरिएको छ ।
सभापति गगन थापा पक्षले महाधिवेशनको तयारी गर्न थालेपछि त्यसलाई रोक्न देउवा पक्षले माग गरेका थिए ।
यसअघिको रिटमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सभापति देउवाको असहमतिकाबीच विशेष महाधिवेशन गरेर असंवैधानिक रुपमा नेतृत्व चयन गरिएको दाबी गर्दै नयाँ कार्यसमितिलाई मान्यता दिन नहुने र निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका थिए ।
तर, सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै छलफलमा मात्र बोलाएको थियो । ६ माघमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो । त्यसपछि १ चैतमा तोकिएको पेशी हेर्न नभ्याइने हुँदै स्थगित भयो भने २२ चैतमा अदालतकै तर्फबाट स्थगित गरिएको थियो ।
