विगतमा राजदूतहरूसँग हुने अव्यवस्थित शिष्टाचार भेटवार्ताको परम्परालाई तोड्दै प्रधानमन्त्री वालेन्द्रद्वारा बुधबार एकै पटक १७ राजदूतसाग सामूहिक भेटघाट
What you should know
काठमाडौँ — विगतमा अव्यवस्थित रूपमा एक–एक गरेर राजदूतहरूसँग भेटवार्ता गर्ने परम्परालाई तोड्दै प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार सिंहदरबारमा विभिन्न १७ देशका राजदूत र नियोग प्रमुखसँग सामूहिक शिष्टाचार भेट गरेका छन् । त्यसअघि बुधबार नै परराष्ट्र मन्त्रालयले पहिलो पटक सबै मन्त्रीलाई नेपालको कूटनीतिक आचारसंहिता सम्बन्धी छुट्टै जानकारीसमेत गराएको थियो ।
सरकारका यी दुई छुट्टाछुट्टै कदमलाई नेपालको कूटनीतिलाई पुनःसंरचना गर्ने पहलका रूपमा हेरिएको छ । यसबाट कूटनीतिमा सरकारको नीति सुदृढ गर्ने, मिश्रित सन्देशलाई कम गर्ने र व्यक्तिगत प्रभावमा आधारित नभई संस्थागत र एकीकृत दृष्टिकोण कायम गर्ने दिशामा सरकार अघि बढेको कूटनीतिक मामिलाका जानकारहरूको विश्लेषण छ । प्रधानमन्त्री र राजदूतहरूबीच भएको सामूहिक भेट सामान्य शिष्टाचार मात्र नभई कूटनीतिक पुनःसंरचना जस्तो देखिएको भूराजनीतिक मामिलाका जानकार नेपाली सेनाका अवकाश प्राप्त उपरथी बिनोज बस्न्यात बताउँछन् । ‘यसबाट नेपाल प्रतिक्रियात्मक, व्यक्तिकेन्द्रित, दलगत कूटनीतिबाट एकीकृत, राज्यकेन्द्रित कूटनीतितर्फ जान खोजिरहेको स्पष्ट हुन्छ,’ उनले भने ।
२०६३ यताका प्रधानमन्त्रीहरूले प्रायः राजदूतसँग शिष्टाचार भेटवार्ता पनि एकल रूपमा गर्दै आएका थिए । त्यस्तो भेटघाटमा न परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित हुने गरेका थिए, न त परराष्ट्र मन्त्रालयलाई यसको औपचारिक जानकारी दिने वा अभिलेख राख्ने गरिन्थ्यो । यस्तो अभ्यास कूटनीतिक दृष्टिकोणले स्पष्ट विचलन भएको भन्दै आलोचना हुँदै आएको थियो । परराष्ट्र नीति सत्तामा रहेको व्यक्तिको प्रभावमा सीमित भएको भन्दै आलोचना हुँदै आएको थियो ।
बुधबारदेखि त्यो अभ्यासमा स्पष्ट परिवर्तनको संकेत देखिएको छ । संयुक्त बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राईले राजदूतहरूलाई स्वागत गर्दै सरकारका प्राथमिकताहरू प्रस्तुत गरेका थिए, जसले परराष्ट्र मन्त्रालयको संस्थागत भूमिकालाई पुनःस्थापित गरेको छ । बैठकमा प्रधानमन्त्री शाहले करिब पाँच मिनेट सम्बोधन गर्दै आफ्ना प्राथमिकताहरू वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा, सुशासन, आर्थिक विकास र छिमेकी तथा साझेदार राष्ट्रहरूसँग सन्तुलित सम्बन्धका विषयमा स्पष्ट पारेका थिए । ‘शान्ति हाम्रो साझा प्राथमिकता हुनुपर्छ,’ बैठकमा प्रधानमन्त्री शाहको भनाइ थियो ।
प्रधानमन्त्री शाहले छिमेकी, मित्रराष्ट्र तथा विकास साझेदारहरूसँग विश्वास, आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउनेमा पनि जोड दिए । मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो । प्रधानमन्त्री शाहले सरकारले लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए । बैठकमा भारत, चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनी, साउदी अरेबिया, कतार, इजरायल, पाकिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, इजिप्ट तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू सहभागी थिए ।
राजदूतहरूसँग सामूहिक भेटवार्ताले नेपाल प्रतिक्रियात्मक, व्यक्तिकेन्द्रित, दलगत कूटनीतिबाट एकीकृत र राज्यकेन्द्रित कूटनीतितर्फ जान खोजिरहेको स्पष्ट हुन्छ । -बिनोज बस्न्यात, भूराजनीतिक मामिलाका जानकारपरराष्ट्र मन्त्रालयका अनुसार राजदूतहरूले प्रधानमन्त्रीलाई बधाई दिँदै आफ्ना राष्ट्राध्यक्ष र सरकार प्रमुखका तर्फबाट शुभकामनासमेत दिए । नयाँ सरकार र नेपाली जनताको हितमा काम गर्न, सहयोग तथा सहकार्य जारी राख्ने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरेका छन् । नयाँ सरकारप्रति समर्थन व्यक्त गर्दै केही राजदूतले आफ्नो देशले सहकार्यका लागि नवीन योजनाहरू बनाइरहेको जानकारी दिएका छन् ।
यद्यपि यस्तो सहकार्यको विषयमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । ‘बैठकमा सकारात्मक वातावरण देखियो,’ बैठकमा सहभागी परराष्ट्रका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘अन्तर्राष्ट्रिय समुदाय हाम्रो पक्षमा छ तर चुनौती भनेको यो सद्भावलाई कसरी उपयोग गर्ने भन्ने हो ।’
प्रधानमन्त्री–राजदूतहरूको भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्यालको पनि उपस्थिति थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार थप ११ राजदूतसँग अर्को बैठकको तयारी गरिएको छ ।
प्रधानमन्त्री र राजदूतहरूबीचको भेटअघि बुधबार नै परराष्ट्र सचिव राईले मन्त्रिपरिषद्का सदस्यहरूलाई नेपालको परराष्ट्र नीति र कूटनीतिक आचारसंहिताबारे जानकारी गराएका थिए । २०७७ मै जारी गरिएको उक्त आचारसंहिता व्यवहारमा भने कमै लागू हुँदै आएको छ । आचारसंहितामा कूटनीतिक शिष्टाचार, मन्त्रीहरूको भूमिकाको सीमा र विदेशी प्रतिनिधिहरूसँग भेटघाट गर्दा पालना गर्नुपर्ने मापदण्डहरू समेटिएका छन् ।
सकभर तह मिलाएर मात्रै भेट गर्न, निमन्त्रणा गर्न र आफ्नो तह विचार गर्न परराष्ट्रले मन्त्रीहरूलाई आग्रह गरेको छ । त्यसरी निमन्त्रणा गरिएका कार्यक्रममा आमन्त्रित अन्य व्यक्तिहरूको स्तर र कार्यक्षेत्रको जानकारी लिन, त्यस्ता कार्यक्रम/समारोहको प्रकृति तथा निमन्त्रणको उद्देश्य राष्ट्रिय हितअनुकूल भए/नभएको बुझेर मात्र कार्यक्रममा सहभागिताको निर्णय लिन परराष्ट्र मन्त्रालयका तर्फबाट सचिव राईले मन्त्रीहरूलाई आग्रह गरेका हुन् । त्यस्ता समारोहमा सरकारका तर्फबाट उच्च तहको प्रतिनिधित्व हुने भएमा अन्य धेरै जना उच्च पदाधिकारी गइरहन नपर्ने भनिएको छ ।
विदेशी पदाधिकारीसँग भएको शिष्टाचार भेट, औपचारिक वार्ता वा बैठकमा भएका कुराकानीका महत्त्वपूर्ण अंशको रेकर्ड राख्नुपर्ने र त्यस्तो टिपोट परराष्ट्र मन्त्रालयमा पठाउनुपर्ने कूटनीतिक आचारसंहितामा उल्लेख छ । सरकारका यी कदम सकारात्मक र स्वागतयोग्य रहेको पूर्वराजदूत शम्भुराम सिंखडा बताउँछन् । विगतमा नेताहरूले परराष्ट्र मन्त्रालयलाई बेवास्ता गर्दै राजदूतहरूसँग अनौपचारिक भेटघाट गर्ने प्रवृत्तिले नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर बनाएको उनको भनाइ छ । ‘त्यस्तो भेटघाट एक प्रकारले लापरबाही र गैरजिम्मेवारी थियो,’ उनले भने ।
तर नयाँ सरकारले कूटनीतिमा के परिवर्तन गर्न खोजेको हो भन्ने स्पष्ट पार्नुपर्ने सिंखडाको धारणा छ । रास्वपाले आफ्नो वाचापत्रमा ‘सन्तुलित र गतिशील’ परराष्ट्र नीतिको प्रतिबद्धता गरेको छ । सन्तुलनको अर्थ स्पष्ट भए पनि गतिशीलता के हो भन्ने अझै स्पष्ट हुनुपर्ने उनले बताए । ‘गतिशील नीतिका लागि निरन्तरता र परिवर्तन दुवै आवश्यक हुन्छ,’ उनले भने, ‘ठूलो परिवर्तनबाट आएको सरकारले परराष्ट्र नीतिमा के परिवर्तन ल्याउन चाहेको भन्ने स्पष्ट गर्नुपर्छ ।’
भूराजनीतिक मामिलाका जानकार बस्न्यात पनि संयुक्त बैठकको स्वरूपले महत्त्वपूर्ण सन्देश दिएको बताउँछन् । विशेषगरी क्षेत्रीय शक्ति प्रतिस्पर्धा बढिरहेको अवस्थामा सबै राजदूतलाई एकैसाथ भेट्नुले अन्य मुलुकसँग नेपालको सम्बन्धमा एकपक्षीय प्राथमिकता वा झुकाव नदेखाउने उनको भनाइ छ ।
‘सबैलाई एकै पटक बोलाउनु सामान्य कुरा होइन, यो भारत, चीन र अमेरिका तथा पश्चिमी शक्तिबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा सन्देश हो,’ उनले भने, ‘सबैलाई एउटै मञ्चमा राख्दा कसैप्रति एकतर्फी झुकाव देखिँदैन ।’ यो प्रतीकात्मक कदमलाई दीर्घकालीन नीतिमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्नेले नै सरकारको वास्तविक परीक्षा हुने उनको भनाइ छ ।
