तीन वर्षअघिको सुन तस्करीसँग जोडिएको प्रकरणमा अख्तियारले पूर्वसभामुख कृष्णबहादुर महरा र सहसचिव अरुण पोखरेलसहित २८ व्यक्ति र एक कम्पनीविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
What you should know
काठमाडौँ — सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र सहसचिव अरुण पोखरेलसहित २८ व्यक्ति र एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तीन वर्षअघिको सुन तस्करीसँग जोडिएको प्रकरणमा अख्तियारले उनीहरुविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले सुन तस्करी प्रकरणको प्रारम्भिक छानबिन र अनुसन्धानमा लापरबाही र मिलेमतो आरोपमा संलग्न कर्मचारीको हकमा एकमुष्ट असुल हुने गरी बिगोबमोजिम जरिवाना तथा कैद सजाय हुनुपर्ने दाबी गरेको छ । त्यस्तै, सुन तस्करीमा जोडिएका पूर्वसभामुखसहित अन्यको हकमा पनि एकमुष्ट बिगो दाबी गरिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा के.सी., नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोईराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेलविरुद्ध एकमुष्ट ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । त्यस्तै, यही प्रकरणमा पूर्वसभामुख महरासहित राहुल भन्ने रेशम महरा, निर्मल कुमार वि.क., लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, नीमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङसङ र दाओजिङ वाङ, बेल्जियमका नागरिक दावा छिरिङ , भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेस्कटर ट्राभल्स एन्ड टुर्स प्रालिलाई ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
के हो भेप प्रकरण ?
महरा र सहसचिव पोखरेलसहितलाई प्रतिवादी बनाएर दायर भएको भ्रष्टाचार मुद्दाको प्रकरण १० पुस २०७९ को घटनासँग जोडिएको हो ।
तस्करीमा संलग्न चिनियाँ गिरोहले १० पुस २०७९ मा दुबईबाट विद्युतीय चुरोट (भेप)को आवरणमा भित्र्याएको सुनको सेटिङ बाहिरिएपछि तस्करीको नयाँ धन्दाबारे खुलेको थियो । ७३ वटा बट्टामा ७३० वटा भेपमा लुकाएर तस्करले दुबईबाट त्रिभुवन विमानस्थल हुँदै भन्सार गोदामसम्म सुन ल्याएका थिए । त्यसबेलै अनुसन्धानका क्रममा सुन करिब ९ केजी रहेको खुलेपनि बीचमै चोरी भएपछि यो विषय थप रहस्यमय बनेको थियो ।
दुबईको उडान नम्बर एफजेड ०५८७ बाट चिनियाँ राहदानी इजे ६३५००३० वाहक ली हसङले २ वटा सुटकेसभित्र लुकाएर ७३ वटा बट्टामा सुन राखिएका भेपसहित काठमाडौं ओर्लिएका थिए । लगत्तै भेपका रुपमा जाँचपास गराएर गिरोहका नाइके दावाजिन वाङलाई हस्तान्तरण गर्ने तरखरमा थिए सुन लिएर आएका हसङ । दावाजिन पूर्वसभामुख महरासँग जोडिएका शंकास्पद पात्र थिए । भन्सारमा भने सामान शंकास्पद देखिएपछि त्यही दिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लिएको थियो । त्यसको केही दिनमै हसङ फरार भए । सुनका मालिक दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलमार्फत् भन्सारमा रोकिएका सामान छुटाउन सक्रियता बढाएका थिए । त्यसपछि महराका बाबुछोरा दावाजिन वाङको योजना अनुसार सुन भएका भेप छुटाउन सक्रिय भएका थिए । त्यस क्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो ।
भन्सारले भेप नियन्त्रणमा लिएपछि तीन दिनपछि १३ पुसमा महराका बाबुछोराले पालैपालो भन्सारका कर्मचारीलाई फोन गरेर छुटाउन दबाब दिएका थिए । त्यतिन्जेल भेपमा सुन राखिएको विषय सार्वजनिक भएको थिएन । भेप गोदाममा सिल गरेर राखिएको थियो । पछि भन्सारकै कर्मचारी र बिचौलियासहितको सेटिङमा गोदाममा राखिएका ती भेप चोरी भएका थिए । चिनियाँले ल्याएको सुन भएको भेपमा अरु नै भेप राखिएको थियो । जुन कुरा भन्सार गोदामको सुरक्षार्थ खटिएका एक जना सुरक्षागार्डले सुन भएको भेप घरमा लिएर गएका थिए, घरमा भेप फुटाएर हेर्दा त्यसभित्र सुन भएको पोल खुलेपछि अनि मात्रै भेपमा सुन लुकाएर ल्याएको तथ्य बाहिरियो ।
गोदाममा राखिएका सुन भएका भेप चोरीमा अनुसन्धान गर्न विमानस्थल भन्सारले २६ वैशाख २०८० मा सीआईबीलाई पत्राचार गरेको थियो । त्यसपछि भन्सारका नासु रेवन्त खड्कासहित विभिन्न व्यक्तिहरू पक्राउ परे । अनि उनै खड्काले प्रहरीसँगको बयानमा ‘गोदाममा सुन भएका भेप भएको सुइँको पाएपछि आफूहरुकै योजनामा सुन भएका भेप निकालेर सक्कली भेप बाहिरबाट ल्याएर गोदाममा राखिदिएको’ बताएका थिए । त्यसपछि २ महिना लगाएर सुन भएका भेप चोरीको विषयमा सीआईबीले अनुसन्धान गर्यो । अनुसन्धानका क्रममा करिब १ सय ग्राम मात्रै सुन फेला परेको थियो । बाँकी सुन भन्सारका कर्मचारी र एजेण्टसहित मिलेर नौ किलो सुन गायब पारेको खुलेको थियो ।
त्यसैका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २९ असार ०७९ मा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा महराका बाबुछोरा र सहसचिव पोखरेल प्रतिवादी थिएनन् । अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारत महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको थियो । चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाएपनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो । मर्गलेले तस्करीबाट भित्रिएको सुन जोख्न र परीक्षण गर्न न्यूरोडमा कारखाना नै खोलेको पनि भेटिएको थियो । पछि सोही प्रकरणमा महरा बाबुछोरा दुवैलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । यही प्रकरणमा पूर्वसभामुख महराविरुद्ध सार्वजनिक ओहोदाको दुरुपयोग गरेर सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २९ असोजमा दायर गरेको सुन तस्करीसम्बन्धी मुद्दामा महरा पुर्पक्षका क्रममा जेल चलान भएका थिए । जिल्लाको आदेशविरुद्ध उच्चमा गएका महरालाई ११ मंसिरमा २० लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियो । ५ चैत २०८० मा पक्राउ परेका महरालाई स्वास्थ्यको कारण देखाउँदै ९ चैतमा हाजिरी जमानीमा रिहा गरिएको थियो । त्यसपछि उनीविरुद्धको मुद्दा सीआईबीमै विचाराधीन थियो । २६ असोजमा पक्राउ गरेर सीआईबीले सरकारी वकिललाई मुद्दा बुझाएकामा मुद्दा जिल्लामा गयो । जिल्लाले पुर्पक्षमा पठाएकामा उच्चले धरौटीमा छाडेकामा यही प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा उनीसहितलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
दशक लामो माओवादी ‘सशस्त्र द्वन्द्व’मा सक्रिय महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता–शक्तिमा रहेका महरा गिरिजाप्रसाद कोइराला नेतृत्वमा २०६३ मा बनेको अन्तरिम सरकारमा मन्त्री बने थिए । पछि उपप्रधानसहित अर्थ, गृह, परराष्ट्र जस्ता शक्तिशाली मन्त्रालय र सभामुख पनि बनेका थिए ।
पहिलो संविधानसभा निर्वाचनलगत्तै चिनियासँग ‘नेपालमा सांसद खरिद बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो नै सार्वजनिक भएपछि विवादमा तानिएका महरा जति शक्तिशाली पदमा पुगेपनि विवादबाट अलग हुन भने सकेनन् । २६ फागुन ०७४ मा प्रतिनिधिसभाको सभामुख बनेका उनी त्यही बेला संसद् सचिवालयमै कार्यरत एक महिलामाथि ‘बलात्कार गरेको आरोप’मा मुछिए । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।
