सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र सहसचिव पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

चैत्र २६, २०८२

मातृका दाहाल

Case filed in special court against former Speaker Mahara and Joint Secretary Pokharel in gold smuggling case

काठमाडौँ — विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ । 

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो । 

पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

के हो भेप प्रकरण ?

महरा र सहसचिव पोखरेलसहितलाई प्रतिवादी बनाएर दायर भएको भ्रष्टाचार मुद्दाको प्रकरण १० पुस २०७९ को घटनासँग जोडिएको हो ।

तस्करीमा संलग्न चिनियाँ गिरोहले १० पुस २०७९ मा दुबईबाट विद्युतीय चुरोट (भेप)को आवरणमा भित्र्याएको सुनको सेटिङ बाहिरिएपछि तस्करीको नयाँ धन्दाबारे खुलेको थियो । ७३ वटा बट्टामा ७३० वटा भेपमा लुकाएर तस्करले दुबईबाट त्रिभुवन विमानस्थल हुँदै भन्सार गोदामसम्म सुन ल्याएका थिए । त्यसबेलै अनुसन्धानका क्रममा सुन करिब ९ केजी रहेको खुलेपनि बीचमै चोरी भएपछि यो विषय थप रहस्यमय बनेको थियो ।

दुबईको उडान नम्बर एफजेड ०५८७ बाट चिनियाँ राहदानी इजे ६३५००३० वाहक ली हसङले २ वटा सुटकेसभित्र लुकाएर ७३ वटा बट्टामा सुन राखिएका भेपसहित काठमाडौं ओर्लिएका थिए । लगत्तै भेपका रुपमा जाँचपास गराएर गिरोहका नाइके दावाजिन वाङलाई हस्तान्तरण गर्ने तरखरमा थिए सुन लिएर आएका हसङ । दावाजिन पूर्वसभामुख महरासँग जोडिएका शंकास्पद पात्र थिए । भन्सारमा भने सामान शंकास्पद देखिएपछि त्यही दिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लिएको थियो । त्यसको केही दिनमै हसङ फरार भए । सुनका मालिक दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलमार्फत् भन्सारमा रोकिएका सामान छुटाउन सक्रियता बढाएका थिए । त्यसपछि महराका बाबुछोरा दावाजिन वाङको योजना अनुसार सुन भएका भेप छुटाउन सक्रिय भएका थिए । त्यस क्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो ।

भन्सारले भेप नियन्त्रणमा लिएपछि तीन दिनपछि १३ पुसमा महराका बाबुछोराले पालैपालो भन्सारका कर्मचारीलाई फोन गरेर छुटाउन दबाब दिएका थिए । त्यतिन्जेल भेपमा सुन राखिएको विषय सार्वजनिक भएको थिएन । भेप गोदाममा सिल गरेर राखिएको थियो । पछि भन्सारकै कर्मचारी र बिचौलियासहितको सेटिङमा गोदाममा राखिएका ती भेप चोरी भएका थिए । चिनियाँले ल्याएको सुन भएको भेपमा अरु नै भेप राखिएको थियो । जुन कुरा भन्सार गोदामको सुरक्षार्थ खटिएका एक जना सुरक्षागार्डले सुन भएको भेप घरमा लिएर गएका थिए, घरमा भेप फुटाएर हेर्दा त्यसभित्र सुन भएको पोल खुलेपछि अनि मात्रै भेपमा सुन लुकाएर ल्याएको तथ्य बाहिरियो ।

गोदाममा राखिएका सुन भएका भेप चोरीमा अनुसन्धान गर्न विमानस्थल भन्सारले २६ वैशाख २०८० मा सीआईबीलाई पत्राचार गरेको थियो । त्यसपछि भन्सारका नासु रेवन्त खड्कासहित विभिन्न व्यक्तिहरू पक्राउ परे । अनि उनै खड्काले प्रहरीसँगको बयानमा ‘गोदाममा सुन भएका भेप भएको सुइँको पाएपछि आफूहरुकै योजनामा सुन भएका भेप निकालेर सक्कली भेप बाहिरबाट ल्याएर गोदाममा राखिदिएको’ बताएका थिए । त्यसपछि २ महिना लगाएर सुन भएका भेप चोरीको विषयमा सीआईबीले अनुसन्धान गर्‍यो । अनुसन्धानका क्रममा करिब १ सय ग्राम मात्रै सुन फेला परेको थियो । बाँकी सुन भन्सारका कर्मचारी र एजेण्टसहित मिलेर नौ किलो सुन गायब पारेको खुलेको थियो ।

त्यसैका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २९ असार ०७९ मा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा महराका बाबुछोरा र सहसचिव पोखरेल प्रतिवादी थिएनन् । अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारत महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको थियो । चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाएपनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो । मर्गलेले तस्करीबाट भित्रिएको सुन जोख्न र परीक्षण गर्न न्यूरोडमा कारखाना नै खोलेको पनि भेटिएको थियो । पछि सोही प्रकरणमा महरा बाबुछोरा दुवैलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । यही प्रकरणमा पूर्वसभामुख महराविरुद्ध सार्वजनिक ओहोदाको दुरुपयोग गरेर सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २९ असोजमा दायर गरेको सुन तस्करीसम्बन्धी मुद्दामा महरा पुर्पक्षका क्रममा जेल चलान भएका थिए । जिल्लाको आदेशविरुद्ध उच्चमा गएका महरालाई ११ मंसिरमा २० लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियो । ५ चैत २०८० मा पक्राउ परेका महरालाई स्वास्थ्यको कारण देखाउँदै ९ चैतमा हाजिरी जमानीमा रिहा गरिएको थियो । त्यसपछि उनीविरुद्धको मुद्दा सीआईबीमै विचाराधीन थियो । २६ असोजमा पक्राउ गरेर सीआईबीले सरकारी वकिललाई मुद्दा बुझाएकामा मुद्दा जिल्लामा गयो । जिल्लाले पुर्पक्षमा पठाएकामा उच्चले धरौटीमा छाडेकामा यही प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा उनीसहितलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

दशक लामो माओवादी ‘सशस्त्र द्वन्द्व’मा सक्रिय महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता–शक्तिमा रहेका महरा गिरिजाप्रसाद कोइराला नेतृत्वमा २०६३ मा बनेको अन्तरिम सरकारमा मन्त्री बने थिए । पछि उपप्रधानसहित अर्थ, गृह, परराष्ट्र जस्ता शक्तिशाली मन्त्रालय र सभामुख पनि बनेका थिए ।

पहिलो संविधानसभा निर्वाचनलगत्तै चिनियासँग ‘नेपालमा सांसद खरिद बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो नै सार्वजनिक भएपछि विवादमा तानिएका महरा जति शक्तिशाली पदमा पुगेपनि विवादबाट अलग हुन भने सकेनन् । २६ फागुन ०७४ मा प्रतिनिधिसभाको सभामुख बनेका उनी त्यही बेला संसद् सचिवालयमै कार्यरत एक महिलामाथि ‘बलात्कार गरेको आरोप’मा मुछिए । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully