पर्यटनमन्त्री खडक राज पौडेल (गनेस)ले विगतमा हुँदै आएको सिफारिस-आधारित नियुक्ति प्रणाली अन्त्य गर्दै पारदर्शी र मेरिटोक्रेसीमा आधारित छनोट प्रक्रिया लागू गरिने घोषणा गरेका हुन् ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत हुने विभिन्न निकायका नियुक्ति अब खुला प्रतिस्पर्धाबाट गरिने भएको छ।
पर्यटनमन्त्री खडक राज पौडेल (गनेस)ले विगतमा हुँदै आएको सिफारिस-आधारित नियुक्ति प्रणाली अन्त्य गर्दै पारदर्शी र मेरिटोक्रेसीमा आधारित छनोट प्रक्रिया लागू गरिने घोषणा गरेका हुन् । बिहीबार मन्त्रालयमा कान्तिपुरसँग कुरा गर्दै मन्त्री पौडेलले अब लोक सेवा आयोगको सहभागितामा खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिहरू चयन गरिने बताए। 'पहिले जस्तो एक जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्बाट नियुक्ति गर्ने प्रचलन अन्त्य हुन्छ,' उनले भने, ' अब योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा मात्रै नियुक्ति हुनेछ।'
उनका अनुसार विगतमा मन्त्रीको तजबिजका आधारमा गरिएका धेरै नियुक्तिहरू विवादित बनेका थिए र केही त भ्रष्टाचार मुद्दासमेत मुछिएका थिए। त्यसैले सुशासन कायम गर्न नयाँ प्रणाली आवश्यक भएको उनको भनाइ छ।
हाल मन्त्रालयअन्तर्गतका प्रमुख निकायहरूमा नेतृत्व रिक्त रहेको अवस्था छ। नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष र महाप्रबन्धक पद खाली छन् । सुशीला कार्की नेतृत्वको सरकारले निगमको बोर्ड संचालक सदस्य अमृतमान श्रेष्ठलाई कामचलाउ कार्यकारी निर्देशक तोकेको छ । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण पनि महानिर्देशकविहीन छ। प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अनियमितताको आरोपमा मुद्दा दर्ता भएपछि निमित्त रूपमा देवचन्द्रलाल कर्ण कार्यरत छन्।
मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमलगायत २५ वटा संस्थाहरू रहेका छन् । यी निकायहरूमा यसअघि १ सय ७१ जनासम्म राजनीतिक नियुक्ति हुने गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ का सांसदसमेत रहेका मन्त्री पौडेलले अब ती सबै निकायमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गरी सुशासन, पारदर्शिता र व्यावसायिकता स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
