विमानस्थल कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय टर्मिनल (आगमन तथा प्रस्थान दुवै) मा उक्त उपकरण जडान गरी प्रयोगमा ल्याइएको जानकारी दिएको हो।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एइडी) सेवा सञ्चालनमा ल्याइएको छ।
विमानस्थल कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय टर्मिनल (आगमन तथा प्रस्थान दुवै) मा उक्त उपकरण जडान गरी प्रयोगमा ल्याइएको जानकारी दिएको हो।
विमानस्थल प्रयोगकर्ता र हवाई यात्रुहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै एइडी उपकरण स्थापना गरिएको हो । आकस्मिक रूपमा मुटुसम्बन्धी समस्या, सास फेर्न कठिनाइ, बेहोस हुने जस्ता अवस्थाहरूमा तत्काल प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको जनाइएको छ।
विज्ञप्तिअनुसार, समयमै उचित उपचार नपाउँदा ज्यानै जोखिममा पर्न सक्ने भएकाले एइडी उपकरणले यस्ता आपतकालीन अवस्थामा तत्काल सहायता पुर्याउनेछ। विशेषगरी हृदयघात वा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका बिरामीलाई छिटो प्राथमिक उपचार उपलब्ध गराउन यो उपकरण प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यसका साथै, पहिलो चरणमा विमानस्थलका सम्बन्धित कर्मचारीहरूलाई उपकरणको सही प्रयोगबारे तालिम दिइसकिएको छ। स्वास्थ्य डेस्कका कर्मचारीहरूका साथै केएमसी र हयाम्स अस्पतालका स्वास्थ्यकर्मीहरूलाई समेत तालिममा सहभागी गराइएको छ।0
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले आगामी दिनमा यस्ता स्वास्थ्य तथा सुरक्षा सेवाहरू थप विस्तार गर्दै लैजाने योजना रहेको जनाए ।
