पाठेघर खसेको पीडा सहेरै बस्छन् दुर्गमका महिला

बालविवाह, धेरै सन्तान जन्माउने र घरायसी कामको बोझका कारण कालीकोटका महिलामा पाठेघर खस्ने समस्या व्यापक बनेको छ।

चैत्र २५, २०८२

तुलाराम पाण्डे

Women in remote areas endure the pain of uterine prolapse

What you should know

कालीकोट — सान्नीत्रिवेणी गाउँपालिका–६ बुडगाउँकी ६२ वर्षीया एक महिलाको ०७८ पुस १० गते रुखबाट खस्दा पाठेघर खस्यो । जग्गाजमिन बेचर ३ लाख ५० हजार खर्चेर कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार गराउँदा पनि पूरै निको भएन । उनले पाठेघरमा राखेको रिङ यो अवधिमा चार पटक फेरिसकेकी छन् । रिङ बिजाउने, दुख्ने र रक्तस्राव हुने समस्याले उनले सास्ती भोगिरहेकी छन् । ‘साह्रै दुखेका बेला त अब मर्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘बस्न, उठ्न पनि सकिँदैन, रगत बगेको बग्यै हुन्छ ।’ 

रकु सेरिज्यूला माइती भएकी उनको १२ वर्षको उमेरमा बिहे भयो । १५ वर्ष हुँदा पहिलो सन्तान छोरी जन्माइन् । छोराको आशमा लगातार तीन छोरी जन्मिएपछि मात्र चौथो सन्तान छोरा जन्मिए । अर्को छोराको आशमा पाँचौं सन्तान पनि छोरी जन्मिइन् । 

तीन छोरीको बिहे भइसकेको छ । कान्छी छोरी ९ कक्षामा पढ्छिन् । रुखबाट खसेपछि उपचार गर्न जग्गाजमिन बेच्नु परेकाले उनका ३८ वर्षीय छोरा अचेल भारतको मुम्बईमा चौकीदारी गरेर परिवारको खर्च चलाइरहेका छन् । पाठेघरको समस्याले थलिएकी ती महिलाले घरमै बिरामी अवस्थामा बस्नुपरेकामा भाग्यलाई सराप्दै रोग लुकाउन बाध्य भएको सुनाइन् । ‘न रोग निको भयो । न जग्गाजमिन रह्यो, छोराको बनिवास (घर छाड्नु) मात्र भयो,’ उनले भनिन्, ‘बाहिर देखिने बिमार छैन । यसरी बाँच्नुभन्दा त मरेको भए सुख पाइन्थ्यो ।’ रिङ राख्दा पनि रगत बग्न नरोकिएकाले उपचारका लागि स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा आएको ती महिलाले सुनाइन् ।

सान्नीत्रिवेणीकै उजेल गाउँकी ४९ वर्षीया एक महिला ९ सन्तानकी आमा हुन् । छोराको आशमा ७ छोरी जन्माएपछि बल्ल दुई छोरा जन्मिए । उनका कान्छा छोरा ९ वर्षका छन् । पाँचौं छोरी जन्मेदेखि नै उनलाई पाठेघरमा समस्या देखिएको हो । छोरी जन्मिएको ९ दिनमै चामल लिन एकदिन टाढाको जिते बजार गएकी उनले ५० किलो चामलको बोरा बोकेर आउँदा पाठेघरमा समस्या आएको स्मरण गरिन् । ‘बड्डा (श्रीमान्) भारत गएका थिए । घरमा अन्नको गेडो थिएन, खाने मुख धेरै, चामल ल्याउन जिते बजार जानैपर्ने भयो,’ उनले सुनाइन्, ‘त्यतिबेलादेखि नै पाठेघरको समस्या सुरु भयो । सधैं पिसाब र रगत चुहिने भइरहे पनि पतिलाई सबै थाहा नदिँदा रोगी हुनु पर्यो ।’

श्रीमान‍्सितसमेत समस्या लुकाएर पीडा खेप्दै थप चार सन्तान जन्माएपछि उनको स्वास्थ्य समस्या जटिल बनेको छ । ‘पाठेघरको समस्या भएको त १३ वर्ष भइगो,’ उनले भनिन्, ‘आठचोटि त रिङ राखिसकेँ, रगत बग्न रोकिँदैन । घरधन्दा, मेलापातसँगै शरीरभित्रको पीडा सहन साह्रै कठिन हुने रहेछ ।’ उनले तन्नेरी अवस्थामा पाठेघरको दुखाइ केही नलागे पनि अचेल अधिक पीडा हुने गरेको सुनाइन् ।  

सोही ठाउँकी ७० वर्षीया एक बृद्धाले पाठेघरमा रिङ राख्न लागेको ३ वर्ष भयो । ०८० यता ८ पटक रिङ राखे पनि उनको पीडा उस्तै छ । ९ सन्तान जन्म दिएकी उनका हाल ३ छोरी एक छोरा जीवित छन् । धेरै सन्तान जन्माउनु र घरधन्दाको कामले पाठेघर खसेको उनको भनाइ छ । सात वर्षदेखि पाठेघरको समस्या भोगिरहेकी अर्की स्थानीय एक महिलाले १५ पटक पाठेघरमा रिङ राखिसकेको र पीडा उस्तै रहेको सुनाइन् । उनले भनिन्, ‘रगत चुहिएको चुहियै हुन्छ । समाजमा जान पनि लाज र घिन हुन्छ ।’ उनले १२ सन्तान जन्माउँदा चार मात्र जीवित भएको सुनाइन् । गाउँमा आयोजना हुने स्वास्थ्य शिविर र स्थानीय स्वास्थ्य चौकीमा गएर रिङ राख्ने गरे पनि घरायसी कामले पहिलेकै अवस्था हुने गरेको उनले बताइन् । 

कम उमेरमै र धेरै जना सन्तान जन्माउनु, भारी काम गर्ने, स्वास्थ्य सम्बन्धी चेतना अभावका कारण यहाँका धेरैजसो महिला आङ (पाठेघर) खस्ने समस्याले वर्षौंदेखि पीडित भइरहेको पाइएको छ । गत साता सान्नीत्रिवेणी गाउँपालिकामा आयोजना गरिएको दुई दिने यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा पाठेघरको समस्या भोगिरहेका यहाँका १३ महिलाले मेहलकुडी स्वास्थ्य चौकीमार्फत पाठेघरमा रिङ राख्ने सुविधा लिएका छन् ।

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दुर्गा शाही शिविरमा आएका महिलाहरूले लाजले अरू नै बिरामी भनेर टार्ने गरे पनि आफू मनोविमर्शकर्ता पनि भएकाले समस्या खोतल्दै जाँदा शिविरमा आएकामध्ये आधाजसोमा पाठेघरको समस्या देखिएको बताइन् । ‘यहाँका धेरै महिला पाठेघर खस्ने समस्याले पीडित रहेछन्,’ शाहीले भनिन्, ‘गाउँका महिलाको स्वास्थ्य अवस्था निकै जटिल छ ।’

शिविरमा अधिकांश बालविवाह गरेर धेरै बच्चा जन्माएका आमाहरूमा पाठेघरको समस्या देखिएको शिविरमा खटिएका डा. प्रकाश पौडेलले बताए । ‘ग्रामीण भेगका महिलाको स्वास्थ्य अवस्था कमजोर छ । अधिकांशको बालविवाह र अर्ली प्रेगनेन्सी (कम उमेरमै गर्भवती) र धेरै बच्चा जन्माएको कारण पाठेघरको समस्या भएको पाइयो,’ उनले भने, ‘उचित खानपान, जन्मान्तर, आराम र परिवारको रेखदेख नहुँदा वर्षौंदेखि पाठेघरको समस्याले पीडित भएको पाए ।’  

सान्नीत्रिवेणीको रकु, मेहेलमुडी र मुम्रालगायतका गाउँका धेरैजसो महिलामा पाठेघर खस्ने समस्या रहेको स्वास्थ्यकर्मी निलम सन्ज्यालले बताइन् । उनका अनुसार प्रत्येक महिना मेहेलमुडी स्वास्थ्य चौकीमा पाठेघर अड्याउन रिङ राख्न आउने महिलाको संख्या १२ देखि १५ जना हुने गरेको छ ।

सान्नीत्रिवेणीका महिला र किशोरी लक्षित गरी आयोजना गरिएको शिविरमा रोगको पहिचान गर्न सहज भएको गााउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए । उनले सामान्य बिरामीको गाउँकै शिविरमा उपचार भएको र जटिल खालका ९ जना रेफर गरिएको बताए ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्रिडाक संस्थाले यसअघि गरेको एक सर्भेक्षणमा यहाँका महिला र किशोरीमा पेट दुख्ने समस्या बढी पाइएकाले सशक्त बालिका परियोजनामार्फत यौन तथा प्रजनन् स्वास्थ्य शिविर संचालन गर्न माग गरिएको सान्नीत्रिवेणी गााउँपालिका उपाध्यक्ष पार्वती सिंह सन्ज्यालले बताइन् ।

शिविरमा जिल्ला अस्पताल मान्मस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रका चिकित्सक डा. प्रकाश पौडेल, रास्कोट नगर अस्पतालका डा. कमलराज बराल, स्वास्थ्यकर्मी दुर्गा शाही, दीपबहादुर रावत, बबिता शाहीलगायतले जाँच तथा उपचार सेवा दिएका थिए । शिविरमा ५ सय १९ जनाले सेवा लिएको सशक्त बालिका परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत प्रेम चौलागाईले बताए । उनका अनुसार १५३ किशोरकिशोरी र ३ सय ६६ महिला तथा पुरुषले सेवा लिएका छन् । 

शिविरमा आएका किशोरकिशोरीलाई सुरक्षित महिनावारी, जन्मान्तर, सरसफाइ र पोषणबारे परामर्शसहित बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराएको चौलागाईले बताए । उनले दुई महिनाअघि नरहरिनाथमा आयोजना गरिएको शिविरमा सेवा लिएका ४ सय ५० जनामध्ये अधिकांश महिला रहेको बताए । शिविरमा आएका अधिकांश महिलामा यौनांगबाट पानी बग्ने, ढाड दुख्ने समस्या पाइएको नरहरिनाथको शिविरमा संलग्न डा. दर्शनराज पाण्डेले बताए । उनले कालीकोटमा बालविवाहविरुद्ध राज्य नै सक्रिय हुनुपर्ने अवस्था रहेको बताउँदै १८ वर्ष नपुग्दै किशोरी दुई सन्तानकी आमा भएको पाइएको पनि सुनाए । 

कालीकोटमा पाठेघर खस्ने समस्याले पीडित महिलाको संख्या अत्याधिक रहेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । ‘बालविवाह, कम उमेरमा गर्भधारण, जन्मान्तर नहुनु, बढी बच्चा जन्माउनु, पोषणको कमी, घरायसी कामको बोझ र समयमै उपचार नगर्नुजस्ता कारण पाठेघरका बिरामी धेरै भएको पाइन्छ,’ उनले भने ।

उनका अनुसार जिल्लाका नौ वटै पालिकाका स्वास्थ्य संस्थामा आर्थिक वर्ष ०८१/०८२ मा १ हजार ६ सय २५ जना महिलाको परीक्षण गर्दा ४ सय ६४ जनामा पाठेघर खस्ने समस्या पाइएको थियो । तीमध्ये १ सय ६२ जनाको पाठेघरमा रिङ राखिएको र ३८ जना जिल्ला बाहिर रेफर गरिएको थियो । ०८२ को साउनयता मात्र जिल्ला अस्पतालमा आएका २ सय ८८ बिरामीमध्ये १ सय ३० जना आङ खस्ने समस्याका थिए । तीमध्ये ८७ जनाको रिङ राखिएको उनले बताए ।

अघिल्लो वर्ष सबैभन्दा बढी पाठेघर खसेका बिरामी नरहरिनाथका २ सय १७ जना थिए भने सबैभन्दा कम संख्या पलाताका चार जना मात्र आएका थिए । गत साउनयता पनि जिल्ला अस्पतालमा नरहरिनाथकै बिरामी बढी आएका छन् । यस वर्ष नरहरिनाथमा आङ खसेका ४१ जना आएकामा २९ जनाको रिङ राखिएको छ ।

कालीकोट जिल्ला अस्पतालका एमडीजीपी डा शुभनारायण ठाकुरले पाठेघर खसेको पहिलो र दोस्रो स्टेजमा रबरको रिङ राखेर अड्याउने र हरेक तीन महिनामा सफा गर्नुपर्ने बताए । तेस्रो र चौथो स्टेजमा पुगेकाहरूको शल्यक्रिया गर्नुपर्ने भएकाले कर्णाली प्रादेशिक अस्पताल सुर्खेत वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रेफर गरिँदै आएको उनले बताए ।    

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully